बारा २ उपनिर्वाचन : उपेन्द्रको दबाबमा एकल नाम सिफारिस

नेपालभ्युज

बारा २ उपनिर्वाचन : उपेन्द्रको दबाबमा एकल नाम सिफारिस

काठमाडौं। आगामी वैशाख १० गते हुने बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले पार्टी अध्यक्ष उपेन्द्र यादवको मात्रै नाम सिफारिस गर्दैछ।

आज बस्ने प्रदेश समितिको बैठकले बारा २ का लागि उम्मेदवारमा अध्यक्ष यादवको मात्रै नाम सिफारिस गर्न लागेको हो। बुधबार क्षेत्रीय समितिको भेलाले पनि एकल नाम जिल्लामा सिफारिस गरेको थियो।

पार्टी अध्यक्ष यादवकै दबाबमा क्षेत्रीय समितिले एकल नाम सिफारिस गर्नुपर्ने अवस्था आएको एक नेताले बताए। उक्त बैठकमा मधेस प्रदेशका अर्थमन्त्री सञ्जय यादवसमेत सहभागी थिए । उनले पनि अध्यक्ष यादवबाहेक अरुको नाम नपठाउन दबाब दिएको स्रोतको भनाइ छ।

क्षेत्रबाट सिफारिस आएको एक घण्टाभित्रै जिल्ला समितिले नाटकीय रूपमा बुधबार नै प्रदेश समितिलाई सिफारिस पठाइसकेको छ । आज त्यसकै छलफल र सिफारिसका लागि मधेस प्रदेश समितिको बैठक बस्न लागेको जसपाले जनाएको छ।

प्रदेश समितिले पनि क्षेत्र र जिल्लाकै सिफारिसलाई बारा २ को उपनिर्वाचनका लागि अध्यक्ष यादवको नाम सिफारिस गर्ने जसपाका एक नेताले जानकारी दिए।

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली छ। यो क्षेत्र खाली गराएर आफैं संसद प्रवेश गर्ने मनसाय अध्यक्ष यादवको थियो।

गएको मंसिर ४ को निर्वाचनमा सप्तरीबाट पराजित यादव सहज बाटो हुँदै संसद् प्रवेश गर्न उपयुक्त समयको खोजीमा थिए। उनले उपराष्ट्रपति जसपाले पाउने कुरा मात्रै होइन बारा २ का सांसद रामसहाय यादव नै हुनुपर्ने कुरामा धेरै लबिइङ गरेका थिए।

यता, यादवलाई सहज जित्न नदिने अभियानमा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको मोर्चा बनिसकेको छ। यही मोर्चामा नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहसमेत थपिएका छन्।

जनस्तरमा राम्रो प्रभाव भएका कुशवाहाले जनमत पार्टी प्रवेश गरी उम्मेदवार घोषणासमेत गरिसकेका छन्। उनी रामसहाय यादवका निकटतम प्रतिद्वन्द्वी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved