खप्तड गोल्डकप : सात खेलाडीमा सीमित क्यामरुनी क्लबलाई ६-० ले हराउँदै मनाङ फाइनलमा

नेपाल भ्युज

खप्तड गोल्डकप : सात खेलाडीमा सीमित क्यामरुनी क्लबलाई ६-० ले हराउँदै मनाङ फाइनलमा

धनगढी । मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार क्यामरुनको एभिनर क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

कागजात पुरा नभएर दुई जना खेलाडीले खेल्न नपाएपछि क्यामरुनको क्लबबाट ९ जना मात्रै मैदान उत्रिएका थिए । ति मध्ये पनि दुईजनाले रातो कार्ड पाएपछि एभिनर क्लब दोस्रो हाफमा सात खेलाडीमा सीमित भएको थियो ।

मनाङको जितमा सायी जमलले ह्याट्रीक गरे । १२ औं मिनेटमा जीवन गुरुङले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सीमित एभिनरमाथि दोस्रो हाफमा गोलको वर्षा गर्यो ।

पहिलो हाफमा फउल गरेका जोर्डन जुनियरले पहेलो कार्ड पाए । उनले त्यसको विरोधमा विपक्षी टोली र अम्पायरसित गरेको व्यवहारका कारण रातो कार्ड पाएका थिए । त्यसको केही मिनेटपछि गोल किपर विल्सन पनि रातो कार्ड पाएर मैदानबाट बाहिर गए ।

खेलको ५४ औं मिनेटमा प्रसन्न श्रेष्ठले दोस्रो गोल गरे । यस्तै ५९, ६७ र ७७ औं मिनेटमा सायीजमलले लगातार गोल गरे । ८१ औं मिनेटमा अनिल गुरुङले मनाङका लागि छैठौं गोल गरेका थिए ।

बिहीबार आयोजक सुदूरपश्चिम–११ र थ्री स्टार क्लवबीचको दोस्रो सेमीफाइनलको विजेतासँग मनाङले उपाधिका लागि खेल्ने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved