दयाहाङको फिल्मले रिलीजअगावै कमायो डेढ करोड

नेपालभ्युज

दयाहाङको फिल्मले रिलीजअगावै कमायो डेढ करोड

काठमाडौं । नेपाली चलचित्र उद्योग यस्तो क्षेत्र हो, जहाँ कहिलेकाहीँ अप्रत्यासित नसोचेको परिणाम आइदिन्छ । तर,कहिलेकाहीँ सोचेकोभन्दा फरक परिस्थिति बनिदिन्छ ।

कतिपय चलचित्र निर्माणकै क्रममा ‘डब्बाप्याक’ भइदिन्छ भने कतिपय चलचित्र तामझामका साथ रिलिज गरेकै दिन हलबाट उत्रिन्छ । फागुन १९ मा रिलिज भएका दुई चलचित्रमध्ये छक्कापञ्जा ४ सुपरहिट भएर १० करोड बढीको व्यापार गर्दा सोही दिन रिलीज भएको चलचित्र ‘छड्के २.०’ नराम्रोसँग फ्लप भयो ।

तर, अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘जारी’ले भने रिलिजअघि नै बक्स अफिसमा हिट भएर डेढ करोडको व्यापार गरिसकेको छ । आगामी बैशाख १ गते मात्रै रिलीज हुने यो चलचित्रले नेपालमा प्रदर्शन नहुँदै झन्डै लगानी उठाएको छ ।

चलचित्र ‘जारी’को अन्तर्राष्ट्रिय प्रदर्शनको मिति तय भएसँगै लगानी उठेको हो । यो फिल्म अमेरिका, अस्ट्रेलिया, यूरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा प्रदर्शन हुने भएको छ । निर्माता रामबाबु गुरुङले अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो सातामा फिल्म रिलिज हुने जानकारी दिए ।

चलचित्र कबड्डीमा ‘झाँक्रीको खीर’ भनेर चर्चा पाएका कलाकार उपेन्द्र सुब्बाले पहिलोपटक यो चलचित्र मार्फत निर्देशनमा ‘डेब्यु’ गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङलगायतको अभिनय छ ।

अप्रिल २२ मा लन्डनमा हुने प्रिमियरमा निर्देशक सुब्बासहित कलाकार सहभागी हुनेछन् । अन्तर्राष्ट्रिय अधिकार विक्रीबापत् फिल्मले डेढ करोड कलेक्सन गरेको निर्माण पक्षको भनाइ छ । यसरी हेर्दा चलचित्र ‘जारी’ ले प्रदर्शनअगावै निर्मातालाई नाफामा लगेको छ ।

पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथाको कथावस्तुमा यो चलचित्र निर्माण भएको हो । बाँसुरी फिल्म्स् ब्यानरमा निर्माण भएको फिल्ममा ठेट पूर्वेली भाषा र लवजसहितको अर्ग्यानिक स्वाद पाइने निर्माण पक्षले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved