उपनिर्वाचन : तनहुँ कांग्रेसले गर्‍यो भट्टराईसहित १२ जनालाई सिफारिस

नेपालभ्युज

उपनिर्वाचन : तनहुँ कांग्रेसले गर्‍यो भट्टराईसहित १२ जनालाई सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ बाट १२ जनाको नाम सिफारीस गरेको छ ।

बढीमा तीन जनाको मात्रै सिफारिस गर्नुपर्नेमा अनावश्यक विवाद हुनेगरी एक दर्जनको नाम सिफारिस हुँदा पार्टीमा असन्तुष्टि बढेको छ । ‘नाम सिफारिस भएपछि महत्वकांक्षा बढ्ने र केन्द्रमा पनि दबाब दिन जानेहरू हुन्छन्,’ तनहुँ कांग्रेसका एक नेता भन्छन्, ‘सिफारिस भएर टिकट नपाएपछि असन्तुष्टि बढ्ने र उनीहरू नै चुनावमा हराउन लाग्ने परम्परा कांग्रेसभित्र छ ।’

पार्टी सभापति जितप्रकाश आलेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समितिबाट आएको सिफारिसका आधारमा उम्मेदवारको नाम प्रदेश समितिमा पठाइएको हो । जिल्लाबाट आएका नाममा कुनै हेरफेर नगरी केन्द्रमा पठाउन लागिएको प्रदेश समितिले जनाएको छ ।

कांग्रेस तनहुँले दिएको जानकारीअनुसार तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १२ जनाको नाम सिफारिस गरेको छ । यो क्षेत्र राष्ट्रपति रामचन्द्र पौडेलले छाडेको क्षेत्र हो ।

नेपाल विद्यार्थि संघका पूर्व अध्यक्ष भट्टराईको नाम पहिलो नम्बरमा राखेर तनहुँ कांग्रेसले उम्मेदवार सिफारिस गरेको हो । सिफारिस गरिएका नाम प्रदेश समितिले केन्द्रीय समितिमा सिफारिस गर्नेछ ।

उपनिर्वाचनका लागि कांग्रेस शीर्ष नेतृत्वबीच भट्टराईलाई नै टिकट दिने विषयमा सहमति भइसकेको भनिएको छ । तर, भट्टराई बाहेक जिल्लाका पूर्वसभापति रामचन्द्र पोखरेल, पूर्वप्रदेशमन्त्री दोवाटे विक र सरिता गुरुङको नामसमेत सिफारिसमा परेको छ ।

यसैगरी रघुनाथ पौडेल, रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य, विष्णु पन्त, देवकुमार श्रेष्ठ, समुन्द्र गोदार, अर्जुन अधिकारीको नाम पनि सिफारिस भएको कांग्रेसले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved