धनगढी-अत्तरिया ६ लेन सडक हस्तान्तरण नहुँदै ठाउँ–ठाउँमा भासिन थाल्यो

सुदूरपश्चिमकै गौरवको योजना रहेको ६ लेन सडकमा समेत कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयले छानबिन गर्न माग गरेका छन् ।

नेपाल भ्युज

धनगढी-अत्तरिया ६ लेन सडक हस्तान्तरण नहुँदै ठाउँ–ठाउँमा भासिन थाल्यो

धनगढी। सुदूरपश्चिमको मुख्य सहर धनगढी अत्तरिया जोड्ने ६ लेन सडक हस्तान्तरण नहुँदै ठाउँ-ठाउँमा भासिन थालेको छ । चौथोपटक म्याद थप गरेर निर्माण कार्य सम्पन्न भएको सडक ठाउँ-ठाउँमा भासिएपनि मर्मतका लागि निर्माण कम्पनीले बेवास्ता गरेको छ ।

मोहनपुर र गेटामा सडक भत्किनुका साथै बिभिन्न स्थानमा भासिएको छ । सडक निर्माणमा कमसल सामग्री प्रयोग भएपछि हस्तान्तरण नहुँदै भासिएको स्थानीयको आरोप छ । सडक भासिएपछि दुर्घटनाको जोखिम बढेको छ ।  सडक हस्तान्तरण नहुँदै भासिएपनि निर्माण कम्पनीले मर्मतमा चासो नदेखाएको स्थानीय सागर बोहराले बताए ।

करोडौँ लगानी गरेर निर्माण गरेको ६ लेन सडकको काम निर्माण पूरा नहुँदै भत्केपछि निर्माण कम्पनीको काम र सरकारी अनुगमनमाथि प्रश्न उठेको छ । गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका ताराप्रसाद भट्टले सडक निर्माण गर्दा रोलरले राम्ररी नदबाइएकाले निर्माण पूरा नहुँदै भासिएको बताए ।

धनगढी र गोदावरी नगरपालिकाको अधिकांश क्षेत्रमा सडक भासिएको छ । मोहनापुल अत्तरिया ६ लेन सडक आयोजना खारेज गरेर सो योजनालाई महाकाली पुल योजनाअन्तर्गत राखिएको थियो । निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेपनि सरकारी निकायले अनुगमन नगरेको स्थानीयको दुखेसो छ ।

महाकाली पुल आयोजनाका अनुसार मर्मतको काम नभएकै कारण सडक डिभिजनलाई हस्तान्तरण नगरिएको हो । सुदूरपश्चिमकै गौरवको योजना रहेको ६ लेन सडकमा समेत कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयले छानबिन गर्न माग गरेका छन् । मर्मतको काम सबै सकिएपछि कात्तिकपछि मात्र सडक डिभिजनलाई हस्तान्तरण हुने आयोजनाले जनाएको छ ।

हस्तान्तरण नहुँदै सडक भत्कन र भासिएको भए पनि मर्मतको सुरसार भने छैन । यो सडकको निर्माण २०७४ सालबाट अगाडि बढेको थियो । १४ दशमलव २ किलोमिटर सडक तीन खण्डमा विभाजन गरेर निर्माण गरिएको छ ।दोस्रो खण्डको पूर्वी लेनमा सडक बिग्रिएको छ । यो खण्डमा ठेकेदार कम्पनी लुम्बिनी–राजेन्द्र–डाँफेले ठेक्का पाए पनि निर्माणको काम राजेन्द्र निर्माण सेवाले गरेको हो ।

सडक भासिएपछि सडक डिभिजन कार्यालयसँगै सम्बन्धित निकायसँग स्थानीय तहले समन्वय गरिरहेको धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालले बताए । उनले सडक मर्मतपछि मात्रै हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

कुनै पनि आयोजना सम्पन्न भइसकेपछि एक वर्षसम्म मर्मत सम्भारको अवधि रहने गर्छ । बिग्रे-भत्केको सबै जिम्मा निर्माण कम्पनीले नै लिनुपर्ने व्यवस्था छ । ६ लेन सडकको मर्मतसम्भार अवधि पनि आउँदो असोजसम्म रहेकाले बिग्रेको सडकलाई राजेन्द्र निर्माण सेवाले मर्मत गर्नुपर्ने मेयर हमालले बताए।

 

चौथोपटक म्याद थप

३-३ पटक म्याद थप गर्दा पनि निर्माण कार्यले पूर्णता पाउन नसकेपछि पुनः २०७८ चैत मसान्तसम्मका लागि चौथोपटक म्याद थप गरिएको छ । पहिलो खण्ड मोहना पुलदेखि बोराडाँडीसम्म साढे ४ किलोमिटर, दोस्रो खण्ड  बोराडाँडी–गेटा साढे ४ किलोमिटर र तेस्रो खण्ड गेटा–अत्तरिया गरी तीन प्याकेजमा छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको थियो ।

फुटपाथ र सर्भिस लेन निर्माणले समेत अझै पूर्णता पाएको छैन । एक अर्ब ७८ करोड लगानी रहेको यो सडकका लागि अन्तिम पटक म्याद थप भए पनि अझै ‘रेलिङ, डिभाइडर, ट्राफिक लाइट लगायतका काम बाँकी छन् ।

नालीसहित दुई मिटर चौडा फुटपाथ र न्यूनतम साढे ३ मिटर चौडाइको सर्भिस लेन निर्माण गर्ने सम्झौता भएको थियो । तर त्यसको पनि काम भएको छैन । सडक योजना कार्यालयले ९० प्रतिशत काम सम्पन्न भएर १० प्रतिशत मात्र बाँकी रहेको भन्दै अन्तिमपटक यही चैत मसान्तसम्म सम्पन्न गर्नेगरी म्याद थपेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved