असहाय बनेका रामसहाय : उपेन्द्रलाई सहज छैन उपचुनाव

रामसहायले मन मारेर खाली गरिदिएको बारा–२ को उपचुनाव उपेन्द्र यादवले सजिलै जित्लान् त ? यो अर्को गम्भीर प्रश्न हो । गत चुनावमा जसपा एमालेसँगको तालमेलमा थियो । बारा–२ मा जसपाले बिना गठबन्धन वा तालमेल चुनाव जित्ने कुरा त्यति सजिलो छैन ।

असहाय बनेका रामसहाय : उपेन्द्रलाई सहज छैन उपचुनाव

काठमाडौं । उपराष्ट्रपति पदमा जसपा नेता तथा बारा–२ का प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादव निर्वाचत भएपछि राजनीतिमा ‘संयोग’ को भूमिकामा झन् धेरै मानिसको विश्वास बढेको छ । यादव उपराष्ट्रपति निर्वाचित हुनुमा दुई संयोगले काम गरे ।

एक– जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट पराजित हुनु । २०६४ को पहिलो संविधानसभा यताका सबै आम चुनावमा उपेन्द्र जित्दै आएका थिए । यसपटक उनले सप्तरी–२ मा नराम्रो पराजय भोग्नुपर्‍यो, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग ।

पहिलो संविधानसभा निर्वाचनमा उपेन्द्र यादवको निर्वाचन क्षेत्र–५ थियो । दोस्रो संविधानसभा निर्वाचनमा उनी त्यहाँ नेपाली कांग्रेसका अमृत अर्यालसँग पराजित भएका थिए । तर, तत्कालीन सुनसरी–५ ले उनलाई जोगाएको थियो ।

नयाँ संविधानपछि भने एउटै व्यक्ति दुई निर्वाचन क्षेत्रमा चुनाव लड्न नपाउने व्यवस्था भयो । सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा उनी २०७० को आम निर्वाचनमा सप्तरी–२ पुगे । जिते पनि । तर, सप्तरीको जित एकपटकमै सीमित भयो ।

यो हारले यादवमा तत्कालै छटपटी सुरु भयो । ५ वर्ष संसदबाहिर बस्ने कल्पना सायद उनको मनमा थिएन । तसर्थ, उनी यही अवधिभित्र उपचुनावबाट प्रतिनिधि सभा छिर्ने उपाय खोज्न थाले । त्यसका लागि मधेसको कुनै न कुनै निर्वाचन क्षेत्र खाली गराउन आवश्यक थियो ।

रामसहायप्रसाद यादव उपराष्ट्रपति बन्न पुग्नुको सबैभन्दा ठूलो कारण वा संयोग यही बन्न पुग्यो ।

दोस्रो संयोग– भने स्वयं रामसहाय प्रसाद यादवको स्वभाव र चरित्र हो । व्यक्तिगत जीवनमा उनी जति भद्र र शालीन छन, राजनीतिक जीवनमा उनी उपेन्द्र यादवका उत्तिकै ठूलो ‘यस म्यान’ हुन् ।

मधेसको कुनै एक निर्वाचन क्षेत्र खाली गराउन उपेन्द्र यादवसँग अरु पनि विकल्प थिए । उनले सप्तरी–१ का नवलकिशोर शाहलाई समेत अघि सार्न सक्थे । तर, अरुलाई सहमत गराउन त्यति सजिलो हुँदैनथ्यो, जति रामसहाय प्रसादलाई थियो ।

उपेन्द्रले मधेसी जनाधिकार फोरम बनाउँदा रामसहाय बाराको एक स्कुलमा गणित तथा विज्ञान शिक्षक थिए । बारामा फोरमको संगठन बनाउन मान्छे खोज्दै हिँडेका उपेन्द्रले स्कुलमै पुगेर रामसहायलाई भेटेका थिए ।

त्यसअघि, रामसहाय नेपाल सद्भावना पार्टीप्रति आस्था राख्थे । उपेन्द्रसँगको पहिलो भेटले नै उनलाई फोरमतिर तान्यो । शिक्षकको जागिर छोडेर उनी फोरमको पूर्णकालीन राजनीतिमा आए । मधेस आन्दोलनमा पूरै ताकत लगाएर खटे ।

बारामा फोरमको संगठन बनाउन शिक्षक रामसहाय र अधिवक्ता रामबाबु यादवको ठूलो मेहनत थियो । यी दुई विपरीत स्वभावका मानिस थिए । रामसहाय सोझा, सरल, सादगी र इमान्दार । नेतृत्व र पार्टी संगठनले जे भन्यो, त्यही मान्ने, कुनै नाइनास्ती नगर्ने ।

रामबाबु भने वकिल अनि स्वभावले चञ्चल र चम्मु । फोरम नेता उपेन्द्र यादवको नजरमा रामसहायको व्यक्तित्व सहज र अनुकूल बन्यो । २०६४ मा पहिलो संविधानसभामा उनले चुनाव जिते । शिक्षकको जागिर छोड्न परेको पछुतो रामसहायमा रहेन । दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित भएका उनी त्यस यताका दुवै संसदीय निर्वाचनमा विजयी भए ।

कुनै लप्पन-छप्पन नभएका आर्थिक अनुशासन र सदाचारी जीवनलाई बडो महत्त्व दिने शाकाहारी रामसहाय उपेन्द्र यादवका लागि कहिल्यै चुनौती नभई सदावहार सहयोगी थिए । उनी फोरमदेखि जसपासम्म पार्टीका महासचिव र संगठन विभाग प्रमुख थिए ।

बारा–२ खाली गराउन उपेन्द्रले प्रस्ताव गर्दा रामसहायले नाइनास्ती गर्ने कुनै सम्भावना थिएन । भयो पनि त्यस्तै । तर, यो रामसहायको हृदयको चाहना सायद थिएन । उमेर र राजनीतिक करिअर दुवै हिसाबले उपराष्ट्रपतिजस्तो ‘सम्मानित र निस्क्रिय’ पदमा जाने बेला भएको थिएन ।

उपराष्ट्रपति पदबाट निवृत्त भएसँगै राजनीतिक सन्यासमा जानुपर्दा उनको राजनीतिक व्यक्तित्वलाई निकै ठूलो हानी हुनेछ । सायद उपराष्ट्रपतिको पहिलो कार्यकाल पूरा गर्दा समेत उनी ६० को हाराहारीमा मात्रै हुनेछन् ।

उपराष्ट्रपति जस्तो सम्मानित पदमा पुगे पनि घटनाक्रमले रामसहायलाई राजनीतिक रूपमा भने असहाय जस्तो देखाउँछ । पार्टी अध्यक्षको इच्छाविपरीत कुनै अडान लिन नसक्ने स्वभावका कारणले इच्छा नहुँदा नहुँदै पनि उनले ‘सम्मानित पदमा थान्को’ लाग्नुपरेको छ ।

रामसहायले मन मारेर खाली गर्दिएको बारा–२ को उपचुनाव उपेन्द्र यादवले सजिलै जित्लान त ? यो अर्को गम्भीर प्रश्न हो । गत चुनावमा जसपा एमालेसँगको तालमेलमा थियो । बारा–२ मा जसपाले बिना गठबन्धन वा तालमेल चुनाव जित्ने कुरा त्यति सजिलो छैन ।

यो यस्तो निर्वाचन क्षेत्र हो जहाँ फोरम र जसपाले जित्दै आउनुमा जनस्तरमा भिजेको रामसहायको व्यक्तित्वको पनि भूमिका छ । स्थानीय मतदातासँग भिजेका रामसहायले प्राप्त गर्ने निजी सहानुभूतिका भोट मोरङ, सुनसरी, सप्तरी हुँदै सर्दै आएका ‘टुरिस्ट उम्मेदवार’ उपेन्द्र यादवले प्राप्त गर्न सजिलो हुँदैन ।

आन्दोलन ताका ‘मधेसका मसिहा’ भन्ने उपेन्द्र यादवको जुन छवि थियो, त्यो निरन्तर धुमिल, शिथिल र कमजोर हुँदै गएको छ । मधेसमा नै उनलाई निश्चित जातिसँग जोडर प्रतिध्रुव निर्माण गर्न चाहनेको संख्या निरन्तर विस्तार भइरहेको छ ।

यसपटक पनि यादवमा त्यो चरित्र देखियो । अशोक राई जतिको वरिष्ठ नेता संसदीय दलमा हुँदा पनि उनले जबरजस्त नेता हुनबाट रोके । मधेसको प्रदेशसभामा मनीष सुमनजस्ता केन्द्रीय नेता र पार्टी प्रवक्ता हुँदाहुँदै केन्द्रमा समेत नभएका रामसरोज यादवलाई मुख्यमन्त्री बनाए ।

यसकारणबाट मधेसकै गैरयादव समुदायको मन र मानसिकता अध्यक्ष यादवप्रति त्यति खुलेको छैन । अर्को कुरा– जुन ताकत सप्तरी–२ मा उनलाई हराउन लागेको थियो, त्यो बारा–२ मा पनि उत्तिकै बल गरेर लाग्ने निश्चित छ ।

उपेन्द्रको चुनावी राजनीतिको भविष्य बैशाख १० गते हुने उपनिर्वाचनले निर्धारण गर्ला, यता रामसहाय भने ‘संयोग’ को राजनीतिले सम्मानित उपराष्ट्रपतिमा थान्को लाग्न र राजनीतिक रूपले ‘असहाय’ बन्न विवश भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved