बिक्न छाडे डालो, नाङ्लो र ठेकी

नेपालभ्युज

बिक्न छाडे डालो, नाङ्लो र ठेकी

ढोरपाटन। दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दशैंको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ/दश बुढापाका र अर्धवैंशे युवा आफ्नै धुनमा देखिन्छन् ।

चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरूलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ, तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरूको अनुहारमा निराशा देखिन्छ ।

त्यही बीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानुस् न’ भन्दै ग्राहकसँग आग्रह गर्नुहुन्छ । उहाँ हुनुहुन्छ जलजलाका ६३ वर्षीय चन्द्रबहादुर विक । पहिले–पहिले चैते दसैँमा अत्यधिक मात्रामा डालो र नाङ्लो बिक्री हुने हुँदा यसपालि पनि विकसहित बडिगाडदेखि १५ जना विक्रीका लागि आएका हुन् ।

एक दशक अगाडिसम्म डाला र नाङ्ला व्यापार गर्न उनीहरूलाई भ्याइनभ्याइ हुने गर्थ्यो, तर विगत केही वर्षयता यसले बजार पाएको छैन । मेला छेउकै बाँझो जमिनमा निकै आकर्षकरूपमा फूलबुट्टा भरेको डालो र नाङ्लो मेला भर्न गएकाले नियाल्छन्, तर किन्दैनन् ।

डाला र नाङ्लासँगै छेउमै राखेका प्लास्टिकका सामान भने धमाधम बिक्री भइरहेको देखिन्छ । झन्डै एक सय किलोमिटर पश्चिमबाट डालो र नाङ्लो बेच्न आएका उनीहरूलाई खाली हात घर फर्किनुपर्ला कि भन्ने चिन्ताले सताएको छ ।

दिनभरिमा दुई-चारवटा डालो बिक्री भए पनि त्यो खाना र बस्नका लागि ठिक्क भएको छ । मेलामा मात्रै होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि यस्ता सामग्रीले बजार पाउन सकेको छैनन् । उत्पादन भएका सामग्री नै बिक्री नभएपछि सीप नै हराउन थालेको छ । चार दिनमा आठ-दशवटा डालो मात्रै बिक्री भएको विक बताउँछन् ।

उनी कमाइका लागि गाउँभन्दा धेरै टाढा व्यापार गर्न आएको र मेला सकिँदासम्म बिक्री नभए सित्तैमा छोडेर जानुको विकल्प नभएको गुनासो गर्छन् ।

विक भन्छन्, ‘चैते दशैं बागलुङको मेला भन्नेबित्तिकै व्यापार गर्ने मेला भनेर सम्झिन्थ्यौँ, गाउँमा भएका सबै उत्पादनहरू बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला झण्डै एक डेढ लाख बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलेको भन्दा धेरै कम डालो–नाङ्लो ल्याएर आए पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ, किन यसरी बिक्री हुन छोड्यो अचम्म लागेको छ, न बजार ल्याएको सामान फर्काएर गाउँ लैजानु, समस्या होलाजस्तो छ ।’

उनीहरूको टोलीले करिब दुई हजार साना-ठूला आकारका डालो र पाँच सयको हाराहारीमा नाङ्लो ल्याएका छन् । सोही ठाउँका हेमबहादुर विकले पनि यतिका दिनसम्म आफूले ल्याएको सामानको व्यापार हुन नसकेको गुनासो गर्छन् । उनी बडिगाडबाट रु चार हजार पाँच सय गाडी भाडा तिरेर व्यापार गर्न आएको तर, त्यही भाडा पनि उठाउन मुस्किल भइरहेको बताउँछन् ।

चोयाबाट बनेका डालो, नाङ्लो र डोरी अरूको तुलनामा किनै बलियो हुने भए पनि अहिले गाउँ-गाउँसम्म प्लास्टिकका भाँडाकुँडाका साथै डालो र नाङ्लो पुगेपछि धेरैले चोयाबाट बुनेका सामान कम प्रयोग कम हुँदै गएको हेमबहादुर उल्लेख गर्छन् ।

उनी भन्छन्, ‘यति ठूलो मेला लागेको छ, हजारौँ मान्छेले किनमेल गरिरहेका छन्, किनमेल हुने अधिकांश सामान विदेशमा बनेका छन्, ती सामानको गुणस्तर पनि त्यत्ति राम्रो हुन्न, देख्दा हाम्रो उत्पादनभन्दा राम्रो त होला तर टिकाउका हिसाबले स्थानीय उत्पादन नै राम्रो हुन्छन्, पाँच वर्ष भयो यो मेलामा पनि बिक्री कम-कम हुँदै गएको छ, यस वर्ष त झनै कम भएको छ, अर्को वर्ष त यहाँ आउनुभन्दा पहिले धेरै सोच्नुपर्ने देखियो, दुःख मात्रै हुन्छ आएर के फाइदा ?, अहिले खाली हात फर्किनुपर्ने स्थिति आउला जस्तो छ, बरु कतै बिक्री हुन्छ भने भन्दिनु न ।’

केही वर्ष एक पाथीदेखि पाँच पाथीसम्मका डालाले राम्रो बजार पाएकामा अहिले त साना-ठूला कुनैले पनि बजार पाएको छैन । आफूहरूले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको ३० वर्षभन्दा बढी भएको उनको भनाइ छ ।

बजारमा नयाँ-नयाँ प्रविधिका सामग्रीहरू आएपछि आफूहरूले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको अर्का बिक्रेता गुमानसिंह थापा बताउँछन् । परम्परागत नापतौल गर्ने वस्तुका रूपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएपछि मानापाथीका डालोहरू बिक्री नै नहुने उनको भनाइ छ ।

डालो र नाङ्लो गजिङ, वा मालिङकाबाट चोया निकालेर बुन्न निकै समय लाग्ने तर बजार नपाउँदा आफूहरूको मेहनत खेर गएको गुमानसिंहको गुनासो छ ।

विगतमा घर व्यवहार धान्ने यो पेसा पछिल्लो समय व्यापार कम भएपछि धेरैले पेसा परिवर्तन गरिरहेकामा केही वर्षयता ओझेलमा पर्दै गइरहेको उनको भनाइ छ ।

ठेकी पनि बिक्दैनन् अचेल 

त्यही मेलाकै छेउमा बागलुङ नगरपालिका–१२ अमलाचौरका अशोक चुँदाराले काठबाट बनेका ठेकी बिक्रीका लागि राखेका छन् । दुई दिनअगाडि ठेकीहरू लिएर यहाँ आएका उनी आफूले सोचेअनुसार बिक्री हुन नसकेको सुनाउँछन् ।

उनले टेउवादेखि पाँच पाथीसम्मका टेकी बिक्रीका लागि राखेका छन् । ठेकीसँगै मदानी पनि छन् । सबैभन्दा बलियो र स्वास्थ्यका लागि गिठा (एक प्रकारको रूख) को ठेकी राम्रो हुने र आफ्ना पुर्खाहरूको मुख्य पेसा नै ठेकी बनाउने भएको हुँदा आफूले पनि यही पेसा अङ्गाल्दै आएको अशोक बनाउँछन् । पहिले–पहिले ठेकीले राम्रो बजार पाउने गरेकामा अहिले बिक्री नै हुन छोडेको छ ।

अशोक भन्छन्, ‘अहिले मान्छेहरू आफ्नो सामानभन्दा अरूको सामानलाई मन पराउन थाले, गाउँमा उत्पादन भएका चीजहरू यतिकै खेर गएका छन्, गाउँलेहरू बजारबाट आयातीत सामान ल्याएर प्रयोग गर्छन्, यसले त सीप हराउँछ, मौलिकता हराउँछ र हामी पनि पूरै परनिर्भर हुन्छौँ ।’

उनले दुई सय ५० देखि २० हजारसम्मका ठेकीहरू बिक्रीमा राखेका छन् । पछिल्लो समय गाउँमा पनि यस्ता परम्परागत भाँडावर्तनहरू प्रयोगमा आउन छोडेका छन् ।- डम्मर बुढा मगर/रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved