उदाउँदो सूर्यलाई अर्घ्य दिई काठमाडौंको बागमती नदी किनारमा चैती छठ सकियो

नेपालभ्युज

उदाउँदो सूर्यलाई अर्घ्य दिई काठमाडौंको बागमती नदी किनारमा चैती छठ सकियो

काठमाडौं। हिजो साँझको अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी काठमाडौंमा पनि चैती छठ सम्पन्न भएको छ।

काठमाडौंको गुह्येश्वरीस्थित बागमती नदि किनारमा सोमबार साँझदेखि व्रत बसेका व्रतालुले मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई चैती छठ पूजा सम्पन्न गरेका हुन्।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका ८ जिल्लासहित काठमाडौंमा समेत धुमधामका साथ मनाइएको हो।

सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने उद्देश्यअनुरूप यो पर्व मनाइन्छ। फलफूल तथा मुला, गाजर, बेसारको गाँवो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै बागमती नदी किनार पुगेका थिए।

षष्ठीका दिन व्रतालुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। बिहान उदाउँदो सूर्यलाई पनि त्यसैगरी पूजा गरियो।

महाभारतका अनुसार द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ ।

लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्यपुराणअनुसार सर्वप्रथम पत्नी अनुसूयाले छठ व्रत गरेको बताइन्छ ।

फलस्वरूप अनुसूयाले अटल सौभाग्य तथा परिप्रेम प्राप्त गरेको र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा समेत विकसित छठ पर्व हिन्दूसँगै मुस्लिमले पनि मनाउने गर्छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved