मिटरब्याज पीडितलाई भेट्दै सभापति लामिछानेले भने- ‘हामी तपाईंहरूको साथमा छौं’

नेपालभ्युज

मिटरब्याज पीडितलाई भेट्दै सभापति लामिछानेले भने- ‘हामी तपाईंहरूको साथमा छौं’
तस्वीर : सामाजिक सञ्जाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्।

मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरूलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताएका हुन्।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए।

सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने उनकाे भनाइ छ।

सभापति लामिछानेले भने, ‘हाम्रो पार्टी र हामी तपाईंहरूको साथमा छौँ। तपाईंहरूको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरू हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईंहरूलाई साथ दिनको लागि हामी आएका हौँ। तपाईंहरूको साथमा हामी छौँ। पहिलो प्राथमिकतामा गरिब, किसानलाई राखेपछि मात्रै यो समाधान हुन्छ। मिटब्याजको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ र रातारात समस्या समाधान गर्नुपर्छ। राज्यले उहाँहरूलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ। उहाँहरुलाई सुरक्षित बनाउनुपर्छ। उहाँहरूको माग तुरुन्त समाधान गर्नुपर्छ।’

मिटरब्याज पीडितहरूको विरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved