४४ अर्ब डलरमा किनेको ट्विटरको हालको मूल्य २० अर्ब डलर मात्रै  : एलन मस्क

नेपालभ्युज

४४ अर्ब डलरमा किनेको ट्विटरको हालको मूल्य २० अर्ब डलर मात्रै  : एलन मस्क

न्युयोर्क। एलन मस्कले ट्विटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन् । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो ।

कर्मचारीहरूलाई पठाइएको इमेलमा सान फ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी ‘एक्स होल्डिङ्स’का कर्मचारीहरूलाई सेयर बाँडफाँड गरिएको उल्लेख गरिएको छ ।

क्षतिपूर्ति योजनाले ट्विटरको मूल्य २० अर्ब डलर तोकेको छ । यो मूल्य ‘स्न्यापच्याट’को मूल कम्पनी ‘स्न्याप’ (१८.२ बिलियन डलर) वा ‘पिन्टेरेस्ट’ (१८.७ बिलियन डलर) भन्दा केही मात्र बढी हो ।

टेस्ला इङ्क र एयरोस्पेस ग्रुप स्पेसएक्सका प्रमुख कार्यकारी समेत रहेका मस्कले ट्विटरले आफ्ना कर्मचारीलाई हरेक ६ महिनामा सेयर नगद गर्न अनुमति दिने बताए ।

आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको क्रुर सङ्कुचनको वर्णन गर्दै उनले बताएका छन्, ‘ट्विटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्‍यो कि एक बिन्दुमा यो चरम आर्थिक सङ्कटको सङ्घारमा पुगेको थियो ।

यसअघि, मस्कले ट्विटरमा शनिबार पोस्ट गरेको एक सन्देशमा भनेका छन्, “ट्विटरले प्रति वर्ष तीन अर्ब अमेरिकी डलर गुमाउने अनुमान गरिरहेको छ ।’

उनले वार्षिक १.५ अर्ब अमेरिकी डलर को राजस्वमा गिरावट र समान रकमको ऋण–सेवा बोझको हवाला दिएका थिए । ट्विटरका बहुसङ्ख्यक सेयरहोल्डर मस्कले भने, ‘कम्पनीको अवस्था अत्यन्तै डरलाग्दो स्थितिमा छ।’

मस्कले आफ्नो नियन्त्रणमा लिएयता समूहको पेरोल सात हजार ५०० कर्मचारीबाट घटाएर दुई हजारभन्दा कममा झारेका छन् ।

उनले २५० अर्ब अमेरिकी डलरको मूल्याङ्कनका लागि ‘स्पष्ट तर कठिन बाटो’ देखेको एएफपीलाई प्राप्त इमेलमा बताए।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved