किरात गणराज्य भेला आयोजक समिति गठन, कोशी नाम खारेजीको आन्दोलनमा ऐक्यबद्धता

नेपालभ्युज

किरात गणराज्य भेला आयोजक समिति गठन, कोशी नाम खारेजीको आन्दोलनमा ऐक्यबद्धता

काठमाडौं । किरात गणराज्य भेला आयोजक समिति गठन भएको छ । पूर्वमन्त्री गोपाल किरातीको संरक्षकत्वमा गठित समितिले मुख्यत: पहिचानको पक्षमा बहस गर्दै, जनतालाई सु-सूचित गर्दै र माहोल बनाउँदै लाने निर्णयसमेत गरेको छ ।

समितिले कोशी प्रदेश नामाकरण खारेजको मागसहित हुने आन्दोलन र पहिचानवादी सबै आन्दोलनहरूमा ऐक्यबद्धता जनाउँदै देशभक्त समाजवादी आन्दोलनको प्रत्यक्ष अङ्गको तहमा सेवा गर्ने समितिले जनाएको छ ।

पूर्वमा लिम्बूवान् गणराज्यका निमित्त राजनीतिक सङ्गठनहरू मौजुद भएपनि किरात गणराज्यका निमित्त राजनीतिक मोर्चा वा सङ्गठन नभएको वस्तुस्थितिलाई बुझेर ‘किरात गणराज्य भेला आयोजक समिति’ गठन भएको संरक्षक गोपाल किरातीले नेपालभ्यूजलाई बताए ।

किरात गणराज्यको माग स्वीकार गर्ने सर्वहारा कम्युनिष्टहरू, पहिचान पक्षधर तथा संविधानको समाजवादउन्मुख राज्यमा प्रतिबद्ध देशभक्त पुँजीपतिहरू, पहिचानवादी शक्तिहरू एवम् प्रगतिशील चरित्रका सङ्गठन समूह र व्यक्तिहरू सदस्य रहनेगरी राजनीतिक भेला आयोजक समिति गठन गरेर प्रक्रिया अगाडि बढाउने पनि संरक्षक किरातीले जानकारी दिए । ‘संक्षिप्त राजनीतिक एवम् सङ्गठनात्मक दस्तावेज तयार गरि विभिन्न सम्भव स्थानीयस्तरमा भेला र आयोजक समिति निर्माणको पहल बढाउँदै दस्तावेज परिमार्जन बहससहित समितिको राष्ट्रिय भेला आयोजना हुन्छ,’ संरक्षक किरातीले भने ।

यस्तै समितिले स्वदेश तथा विदेशमा समेत सङ्गठन विस्तार गर्ने बताइएको छ ।

यसअघि किराती नेतृत्वको टोली पैदलयात्रामा निस्केको थियो । पाँचथरबाट तेह्रथुम, सङ्खुवासभा, भोजपुर हुँदै खोटाङसम्म पुगेर उक्त टोलीले किरात गणराज्य भेला आयोजक समिति गठन गरेको हो । पैदलयात्राका क्रममा घनीभूत जनसंवाद भएको र उक्त जनसंवादका क्रममा पहिचानको पक्षधर सानो समूहमा नरहेको निष्कर्ष रहेको किरातीले बताएका छन् ।

गत फागुन १७ गते प्रदेश नं. १ को नामाकरण कोशी भएपछि किरात प्रदेशको साटो देश माग्ने निष्कर्षसहित किरातीको टोली पैदलयात्रा र जनसंवादमा जुटेको थियो ।


Comment

One thought on “किरात गणराज्य भेला आयोजक समिति गठन, कोशी नाम खारेजीको आन्दोलनमा ऐक्यबद्धता

  1. हैन, कोशी प्रदेश नै खारेज मागेका हुन् र पहिचानवादीहरू । मलाई लाग्छ, प्रदेशको नामकरणप्रतिको उनीहरूको चिन्ता हो भन्ने लाग्छ । प्रदेश खारेज र नाम खारेज फरक फरक विषय हुन् कि ? हरेक जसो मिडियाले कोशी प्रदेश खारेज भनी लेखेको पाइन्छ । वास्तवमा प्रदेश खारेज होइन, नामप्रतिको असहमति मात्रै हो । कोशी प्रदेश खारेज भनियो भने त्यसको अर्थ हुन्छ, सङ्घीयता खारेज । पहिचानवादीहरूले सङ्घीयता नै खारेज गर्न लागेका हुन् र सम्पादकज्यू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved