खानेपानीको ट्याङ्कीभित्र मान्छेको शव फेला

नेपालभ्युज

खानेपानीको ट्याङ्कीभित्र मान्छेको शव फेला
सांकेतिक तस्वीर।

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा बिहान शव भेटिएको हो ।

घर-घरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए ।

‘दुई, तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो, आज बिहान ट्याङ्कीको ढकन खोलेर हेर्दा शव देख्यौँ’, मल्लले भने । पृथ्वीराजमार्ग विस्तारका क्रममा सडक छेउका पानीका पाइप पटक-पटक काटिने गरेकाले सोही कारण पानी धमिलो आएको हो कि भन्ने शंका आफूलाई भएको उनले बताए ।

‘दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्याङ्की हेरौँ न त भनेर आज दुई जना भएर ढकन खोलेर हेर्दा शव देखेपछि हामी नै झसङ्ग भयौँ’, मल्लले भने ।

उनले उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको जानकारी दिए । उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले पानी ट्याङ्कीमा शव फेला परेको जानकारी दिँदै अनुसन्धान सुरु गरिएको बताए । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved