काठमाडौं। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् ।
मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरूबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सो दाबी गरे ।
शनिबार ललितपुर चेम्बर अफ कमर्सले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरूसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए ।
उनले भने, ‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन । गम्भीर नै छ । तर, हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ ।’