एजेन्सी । हिजोआज साइक्लिङ गर्नेको संख्या बढ्दो छ । सहरी क्षेत्रमा साइकल गुडाउँदा हेल्मेट र मास्क अनिवार्य लगाउनुपर्छ । हेल्मेटले तपाईंको टाउकोको सुरक्षा गर्छ, त्यस्तै मास्कले प्रदूषणबाट जोगाउँछ ।
धुलो–धुवाँ धेरै उड्ने ठाउँमा भन्दा तपाईंले प्रदूषणरहित र शान्त क्षेत्रमा साइकल चलाउनु राम्रो हुन्छ । साइकल चलाउँदा मानसिक तथा शारीरिक फाइदा धेरै हुन्छन् । यसले मानिसलाई निरोगी बनाउन सहयोग गर्छ ।
स्वस्थ मुटु
नियमित साइकल चलाउँदा मुटुरोग, स्ट्रोक र उच्च रक्तचापको जोखिम कम हुन्छ । जसले गर्दा हृदय बलियो बन्छ ।
शारीरिक फिटनेस
साइकल चलाउँदा तपाईंको मांसपेशी बलियो हुन्छ । शरीरको लचिलोपन बढ्छ । यसले समग्र शरीरको कसरत गराउँछ । साइकल चलाउँदा पर्याप्त क्यालोरी खर्च हुन्छ र तौल नियन्त्रणमा सहयोग पुग्छ । साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत पाउन सकिन्छ ।
तनाव कम हुन्छ
साइकल चलाउँदा मानिसको मस्तिष्क निकै सक्रिय रहन्छ । अन्य साइडबाट आइरहेका गाडी र मानिसलाई सचेततापूर्वक नियालेर साइकल गुडाइने भएकाले तपाईंको ध्यानशक्ति बढेर जान्छ । यसले तपाईंको मुडमा पनि सुधार ल्याउँछ । तपाईंलाई थप ऊर्जावान् महसुस गर्न सहयोग गर्दछ ।
पाचन प्रणालीमा सुधार
दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा धेरै क्यालोरी खपत हुन्छ । यसले तपाईंको पाचन प्रणाली सुधार हुन्छ । त्यसपछि आफूलाई मन परेको खानाको मज्जा लिन सकिन्छ ।
पर्यावरणमैत्री
साथै साइकल सवारी पर्यावरणमैत्री छ । यसमा इन्धन आवश्यक पर्दैन । त्यसैले तपाईंको स्वास्थ्य मात्रै नभएर वरपरको वातावरणलाई स्वच्छ राख्न पनि यसले भूमिका खेल्छ ।