घुम्ने होइन त रानीपोखरी ?

सर्वसाधारणको लागि निःशुल्क प्रवेश

घुम्ने होइन त रानीपोखरी ?

काठमाडौं। काठमाडौं महानगरपालिकाले रत्नपार्क नजिकको ‘रानीपोखरी’ सर्वसाधारणका लागि खुला गरेको छ। वर्षमा एक दिन भाइटिकाको दिन मात्रै यहाँको बालगोपाल मन्दिर खुला हुने गरेको थियो।

२०७२ सालको भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण शुरु भएर पहिलो पटक सर्वसाधारणलाई खुला गरिएको हो। यहाँ घुम्नको लागि कसैलाई पनि शुल्क लाग्दैन । काठमाडौं महानगर प्रहरीले सरसफाइ गरेर सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको महानगरपालिकाले जनाएको छ।

रानी पोखरीलाई नेपालभाषामा (न्हू पुखू वा लानि पुखू) भनिन्छ। यो मानव निर्मित पोखरी ऐतिहासिक राष्ट्रिय सम्पदाभित्र पर्दछ। पोखरीको बीचमा बालगोपाल महादेवको मन्दिर छ। यो मन्दिर वर्षमा एक दिन तिहारको भाइटिकाको दिनमा मात्रै खुल्ला हुन्छ।

आफ्नो कान्छा छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात् राजा प्रताप मल्लले शोकाकुल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५ मा उक्त पोखरी निर्माण गरेका थिए। पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए।

एक सय ८० मिटर लम्बाइ र एक सय ४० मिटर चौडाइ रहेको सो पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ। वि.सं. १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका हुन्।

वि.सं. २०७२ साल वैशाख १२ गतेको ७.८ रेक्टरको विनाशकारी भूकम्पमा मन्दिरको गजुरसहित मन्दिर क्षति भएको थियो । भूकम्प गएको एक वर्षपछि २०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः निर्माण कार्यको शिलान्यास गरेपछि पुनः निर्माण शुरु भई २०७७ साल कार्तिकमा यसको उद्घाटन गरिएको थियो।

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७८ पुस ८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन । शुक्रबारदेखि रानीपोखरीमा सर्वसाधारणको चहलपहल देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved