दिनभर कुर्सीमा गलत तरिकाले बस्दा हुन्छ ढाडको समस्या

नेपालभ्युज

दिनभर कुर्सीमा गलत तरिकाले बस्दा हुन्छ ढाडको समस्या

एजेन्सी । हामीले सोंच्छौं कुर्सीमा बसेर गर्ने काम छ एकदमै सजिलो । तर थाहा छ दिनभर गलत तरिकाले कुर्सीमा बस्दा उभिएर काम गर्ने मानिसलाई भन्दा झनै ठूलो समस्या आउन सक्छ ?

हामीमध्ये धेरैलाई घर वा अफिसको कुर्सीमा कसरी बस्ने भन्ने पनि ज्ञान हुँदैन । जसकारण, मेरुदण्डमा धेरैलाई समस्या देखिने गरेको छ । सामान्य कुरामा ख्याल गरे मात्र पनि यस्ता समस्याबाट मुक्त हुन सकिन्छ ।

काम गर्दा कतिपयको ढल्किने बानी हुन्छ, घोप्टिएर बस्ने बानी हुन्छ, यो गलत हो । कुर्सीमा बसेर पढ्दा वा काम गर्दा गर्दन सीधा हुनुपर्छ । काँध पनि सीधा हुनुपर्छ । माथिल्लो ढाड र तल्लो ढाड ९० डिग्रीमा हुनुपर्छ ।

कम्प्युटर चलाउँदा शरीरको अगाडि भाग नझुक्ने गरी किबोर्डको उचाइ मिलाउनुपर्छ । आँखाको भाग सीधा हुने गरी मनिटर राख्नुपर्छ । आई लेभल मनिटरसँग नमिलेमा आँखामा पनि समस्या देखिन सक्छ ।

ढाड दुख्ने कारण

मेरुदण्डको समस्या- ढाड दुख्नु एक प्रकारको जटिल समस्या मात्रै नभएर अन्य रोगका कारणको रूपमा पनि देखा पर्न सक्छ । हामी मोबाइल, ल्यापटप, कम्प्युटरमा घन्टौँसम्म बिताउँछौँ । त्यसक्रममा हामीमध्ये धेरैले मोबाइल र ल्यापटप घोप्टो परेर हेर्छाैँ । त्यस्तैे, कुर्सीमा बस्ने तरिका थाहा नहुँदा हामीले आफ्नो शरीरलाई बिगारिरहेका हुन्छौँ ।

गलत तरिकाले बसेर मोबाइल चलाउँदा, ल्यापटप र कम्प्युटरमा काम गर्दा ढाड तथा शरीरमा नै समस्या निम्तिरहने हुन्छ । कुर्सीमा बसेर काम गर्दा शरीरमा कम्मरको भागको मांसपेशीमा बढी लोड पर्न जान्छ । अझ अगाडि झुकेर काम गर्दा झन् बढी पर्न जान्छ । यसले गर्दा मानिसलाई ढाड दुख्ने समस्या सुरु हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

हामीले अफिसमा काम गर्दा कम्तीमा सात–आठ घन्टा कुर्सी र टेबलमै बित्छ । कतिपयले घरमै बसेर पनि काम गरिरहेका हुन्छन् । घर वा कार्यालयमा काम गर्दा कुर्सीमा कसरी बस्ने, कस्तो कुर्सी प्रयोग गर्ने, कुर्सी र टेबलको दूरी कति हुनुपर्ने, कति उचाइको कम्प्युटर टेबल हुनुपर्ने जस्ता विषयमा ध्यान दिनुपर्छ । यदि तपाईंको पहिलेदेखि नै ढाडको समस्या छ भने झन् गाह्रो हुन सक्छ ।

समस्यालाई सामान्य ठानेर बेवस्ता गर्‍यो भने ढाड दुख्ने समस्या बढ्दै जान्छ । ढाड दुख्ने समस्या छ भने चिकित्सकको सम्पर्कमा जानुपर्छ । सम्बन्धित चिकित्सकको परामर्श नलिँदा ढाड दुख्ने समस्या बढ्दै जान्छ ।

यस्तो कुर्सी छान्नुहोस्

कम्मरको भागलाई अगाडि धकेल्ने खालको कुर्सी छनोट गर्दा राम्रो हुन्छ । टाउकोसम्म ढल्किन मिल्ने कुर्सी हुनुपर्छ । कुर्सी पछाडि भाग फुल कभर टाउकोसम्म ढल्किने हुनुपर्छ । यो कुर्सी पनि ९० डिग्रीमा पोजिसन मिलाएर राख्नुपर्छ । ल्यापटप चलाउँदा घोप्टो परेर हेर्नुहुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved