बजार अनुगमन प्रभावकारी बनाउनुस् : प्रधानमन्त्री

नेपाल भ्युज

बजार अनुगमन प्रभावकारी बनाउनुस् : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

सिंहदरबारमा आयोजित जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्रीले विभागीय प्रमुखहरूलाई उक्त निर्देशन दिएका हुन्।

‘राजश्व छली नियन्त्रणसम्बन्धी सबै व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्छ’, उनले भने, ‘बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त काम थाल्नुस्।’

उनले अवैध आयात नियन्त्रण गर्न पनि सरकारी निकायले सक्रियता बढाउनुपर्नेमा जोड दिएका छन्। अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्न आवश्यक भएको उनको भनाइ थियो।

‘कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस्’, उनले भने, ‘सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्।’

छलफलमा अर्थसचिव तोयम राय, राजश्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायीहरू उपस्थित थिए।

छलफलमा जुत्ता चप्पल व्यवसायीका प्रतिनिधिहरूले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति, कार्यक्रम र कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved