त्रिविका ४४ आंगिक क्याम्पसको नतिजा आउँदा माधव नेपालको विद्यार्थी संगठन शून्य !

नेपाल भ्युज

त्रिविका ४४ आंगिक क्याम्पसको नतिजा आउँदा माधव नेपालको विद्यार्थी संगठन शून्य !

काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक क्याम्पस मध्ये ४४ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको मत परिणामसहित अन्तिम नतिजा सार्वजनिक भएको छ।

आंगिक क्याम्पसमध्ये १८ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको छैन । यी क्याम्पसमा विद्यार्थी संगठनको तालाबन्दी र अदालतको आदेशका कारण मतदान हुन नसकेको हो।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण स्रोतका अनुसार सार्वजनिक भएको परिणामअनुसार नेकपा एमाले निकट अनेरास्ववियुले सबैभन्दा बढी १९ वटामा स्ववियु जित्दा माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीले एउटा पनि क्याम्पसमा स्ववियु जित्न सकेन।

स्रोतका अनुसार मत परिणाम आएका ४४ मध्ये १९ क्याम्पसमा अनेरास्ववियुले जितेको छ। दोस्रोमा नेपाली कांंग्रेस निकट नेपाल विद्यार्थी संघले १८ क्याम्पसको स्ववियु सभापति जितेको छ भने माओवादी निकट अखिल क्रान्तिकारीले ४ वटामा जित हासिल गरेको छ।

यसैगरी, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनले २ वटा र जनमत पार्टी निकट जनमत विद्यार्थी संघले एउटा क्याम्पसको सभापति जितेको छ । अन्य पार्टीका विद्यार्थी संगठनले कुनै पनि क्याम्पसमा जित्न सकेनन्। त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये २२ वटा काठमाडौं उपत्यकाभित्र र ४० वटा काठमाडौं बाहिर छन् ।

त्यस्तै, चैत ५ र ९ गते स्ववियु निर्वाचनमा नतिजा आएका सम्बन्धनप्राप्त र अन्य साना क्याम्पस समेतको नतिजा हेर्दा पनि अनेरास्ववियु नै अगाडि छ । अनेरास्ववियुले १२२ क्याम्पसमा सभापति जितेको छ भने नेविसंघले ११४ र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७३ वटा क्याम्पसमा सभापति जितेको छ ।

काठमाडौं उपत्यकाका नेपाल कमर्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, त्रिचन्द्र, आरआर लगायतको निर्वाचन भएको छैन । काठमाडौं बाहिर मोरङ, विरगञ्ज, सुर्खेत, पोखराका क्याम्पसमा पनि निर्वाचन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved