उपेन्द्रलाई चुनावमा चुनौती : पहिले राउत, अब राजेन्द्र !

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा २ को उपनिर्वाचन जितेर प्रतिनिधि सभा प्रवेशको तयारीमा छन् । यसका लागि उनी सकारात्मक माहोल बनाउन प्रयत्नरत छन् । 

नेपालभ्युज

उपेन्द्रलाई चुनावमा चुनौती : पहिले राउत, अब राजेन्द्र !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा २ को उपनिर्वाचन जितेर प्रतिनिधि सभा प्रवेशको तयारीमा छन् । यसका लागि उनी सकारात्मक माहोल बनाउन प्रयत्नरत छन् ।

यादवले वर्तमान सत्ता साझेदार सबै दलको समर्थनमा ‘साझा उम्मेदवार’ बन्ने प्रयास गरिरहेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छाडेको यो निर्वाचन क्षेत्रमा यादवलाई उम्मेदवार बन्न सहज भएपनि जित निकाल्न कठिन देखिएको छ ।

सप्तरीमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त उर्फ सीके राउतबाट पीडित उपेन्द्र बारा २ मा राजेन्द्र महतोबाट पीडित हुने अवस्था छ ।

मोरङ, सुनसरी र सप्तरी हुँदै बारा आइपुगेका यादवलाई मंसिर ४ मा राउतले भारी मतले पराजित गरेका थिए । राउतले ३५ हजार ४२ मत ल्याएर विजयी हुँदा यादव १६ हजार ९७९ मा सीमित हुनुपरेको थियो ।

मोरङ, सुनसरी, सप्तरी हुँदै बारा आइपुग्दा उपेन्द्रलाई कति सहज ?

राजनीतिमा नेकपा (एमाले), नेपाली कांग्रेसको सत्याग्रह समूह, नेकपा (माओवादी केन्द्र), मधेसी जनाधिकार फोरम, संघीय समाजवादी फोरम, समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी भएजस्तै उनको निर्वाचन क्षेत्र पनि मोरङ, सुनसरी, सप्तरी हुँदै अब बारासम्म आइपुगेको छ ।

पुष्पलाल समूहको अनेरास्ववियुमा संलग्न भएर राजनीति सुरू गरेका यादवले २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालबाट सदस्यता लिएका थिए । त्यसपछि भूमिगतरूपमा विद्यार्थि राजनीति गरेका यादव २०४६ सालमा नेपाली कांग्रेसको सत्याग्रहमा सामेल भए ।

पछि पुष्पलाल समूहको अध्यक्ष साहना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा (मार्क्सवादी) बनेपछि भरतमोहन अधिकारी इन्चार्ज रहेको कोशी अञ्चल कमिटीमा उपेन्द्र जोडिए । २०४८ सालमा यादवलाई एमालेले सुनसरी ४ बाट उम्मेदवार बनायो । उनले जित्न सकेनन् ।

२०५६ सालमा पार्टीभित्र मधेसको कुरा उठाएपछि पार्टीले साम्प्रदायिक व्यक्ति भन्दै जिम्मेवारी खोसेपछि मधेसी जनअधिकार फोरममा क्रियाशील भए । त्यसबीचमा उनले  माओवादीसहित पनि सहकार्य गरे । २०६१ सालमा माओवादी नेता मातृका यादव र सुरेश आलेसँगै उपेन्द्र पनि दिल्लीमा पक्राउ परे ।

राजनीतिमा मधेसी जनअधिकार फोरम, संघीय समाजवादी फोरम, समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी भए जस्तै उनको निर्वाचन क्षेत्र पनि मोरङ सुनसरी सप्तरी हुँदै अब बारा २ सम्म आइपुगेको छ ।

तर, सप्तरीमा यादवले राउतको टक्कर सहन परेजस्तै बारामा राजेन्द्र महतोको टक्कर खप्नुपर्ने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो पनि अहिले संसद् छिर्ने तयारीमा छन् । उनलाई बारा २ बाटै उपनिर्वाचनमा उम्मेदवार बनाउने चर्चा छ । महतो गत चुनावमा सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग पराजित भएका थिए ।

अहिलेको सत्ता गठबन्धनका ११ दलमध्ये उपेन्द्रसँग भन्दा राजेन्द्र महतोसँग समर्थन र भोट बढी छ । उपेन्द्रविरुद्ध लोसपासहित जनमत र नागरिक उन्मुक्ति पार्टी कार्यगत एकता गरिसकेका छन् । त्यसमा आम जनता पार्टी र नेसपा पनि उपेन्द्रविरुद्धको मोर्चामा थपिन सक्नेछन् ।

बारा २ मा उपेन्द्रलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि समर्थन रहने नरहने टुङ्गो छैन । यहाँ स्वतन्त्रबाट चुनावमा मत बटुल्ने उम्मेदवार पनि राजनीतिक पार्टीकै उम्मेदवार बराबर हैसियतमै देखिन्छन् । गत मंसिरको चुनावी नतिजा हेर्ने हो भने जसपाका रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर विजयी हुँदा माओवादीका शिव कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए ।

यसैगरी स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत र अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्र यादवले १० हजार ७५० मत ल्याएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved