एजेन्सी । ‘तनाव त जीवनभर रहिरहन्छ, हामी खुशी रहनुपर्छ, खुशी हुनु हाम्रा लागि फाइदाजनक हुन्छ ।’ प्रायः हामी यस्तो भनाई सुनिरहेका हुन्छौं ।
कतिपय अवस्थामा हामी कसैलाई सान्त्वना दिन यस्तो कुरा गर्छौं । तर अहिलेको समयमा खुशी हुन अलिकति गाह्रो विषय हुन थालेको छ । तर पनि आफूले कोसिस गर्न भने छोड्नु हुँदैन ।
२० मार्च अर्थात आज अन्तर्राष्ट्रिय खुशी दिवस हो । आज हामी खुशी हुने केही टिप्स बताउन गइरहेका छौं । जसको सहयोगमा तपाईं खुशी रहन सक्नुहुनेछ ।
आफूसँगै रमाउन सिकौं
आफैसँग कसरी रमाउने भन्ने प्रश्न गर्नुहोला । तर हामी कतिपय अवस्थामा यतिधेरै मानिसकै बीच उल्झिन्छौं कि आफूलाई नै बिर्सन्छौं । त्यसो गर्दा धेरै तनाव हुन सक्छ ।
त्यसैले आफैसँग रमाउने र आफूलाई एक्लो हुँदा के गर्दा खुशी मिल्छ त्यो गर्ने गर्नुपर्छ । वास्तवमा तपाईं आफूलाई जति माया गर्नुहुन्छ सायदै अरु कसैले तपाईंलाई गर्छ होला । जसलाई माया गरिन्छ त्यसलाई खुशी पार्न खोज्छौं हामी ।
त्यसैले यो कुरा भुल्नु हुँदैन हामी आफूलाई पनि माया गर्छौं र आफैमा खुशी रहन सिक्नुपर्छ ।
मानिसहरुको कुरामा धेरै ध्यान नदिनुहोस्
अरुको कुरा धेरै सुन्नुहुँदैन । विशेषगरी नकारात्मक सोंच राख्ने खालका व्यक्तिका कुरा, निरासाजनक सम्वादबाट आफू टाढा रहनु पर्दछ ।
जीवनमा धेरै कुरा आफूले नै निर्णय गर्नुपर्दछ । अरुको केही सल्लाह लिन सकिन्छ तर हरेक कुराको निर्णय अरुबाट नै गर्न खोज्दा तपाईंले के चाहनुभएको छ त्यो पाइँदैन ।
जसले गर्दा तपाईं स्वयंलाई नै तनाव हुन्छ । त्यसैले अरुको अनावश्यक कुरा कम सुनौं र आफ्नो अन्तरमन तथा रुचिलाई ध्यान दिऔं ।
वर्तमानमा जिउन सिकौं
हिजोआज साना साना बच्चालाई पनि पढाईमा धेरै नम्बर कसरी ल्याउने र राम्रो जागिर कसरी पाउने भन्ने चिन्ता हुन्छ । जागिर भयो भने फेरि बढुवा वा माथिल्लो तहमा जाने तनाव ।
हामीले आफ्नो राम्रो भविष्यको लागि सोंच्नु गलत त होइन तर भविष्यकै धेरै चिन्ता गर्दा गर्दै हामी वर्तमानलाई बिर्सन्छौं । जीवन कति लामो वा छोटो छ कसैलाई थाहा हुँदैन ।
तपाईं वर्तमानमा खुशी हुन सक्नुपर्छ । त्यसपछि भविष्य आफै राम्रो बन्दै जान्छ । वर्तमानलाई सुधार्न सक्नुभएन भने भविष्यको मात्र चिन्ताले तपाईंलाई अनावश्यक तनाव बाहेक केही दिन्न ।