सभामुख घिमिरेको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

नेपाल भ्युज

सभामुख घिमिरेको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउदै तत्काल फिर्ता लिन माग गरेको छ ।  शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरु विक्रीमा छन्’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

महासचिव रोशन पुरीले उनको सो अभिव्यक्ति तथ्यहिन भएकाले त्यसको पुष्टि गर्न वा फिर्ता लिन माग गरिएको स्पष्ट पारे। शनिबार उनले समग्र सञ्चार क्षेत्रलाई नै आक्षेप गराउने आधारहिन, तथ्यहिन र अशोभनीय कुरा सभामुख घिमिरेले गरेकाले महासंघले त्यसको विरोध गर्नु परेको बताए ।

सभामुख जस्तो पदमा रहेर प्रेस स्वतन्त्रताको भावना विपरित अत्यन्तै अशोभनीय ढंगले पत्रकारहरुमाथि आक्षेप लगाउनु अशोभनीय र अमर्यादित काम भएको उनको तर्क थियो । महासचिव पुरीले भने,‘उहाँसँग हाम्रो कुनै माग पनि थिएन, ध्यानाकर्षण पनि थिएन । उहाँलाई बधाई दिने कार्यक्रम मात्रै थियो । त्यसक्रममा सम्माननीय सभामुखज्यूले समग्र सञ्चार क्षेत्रलाई नै आक्षेप लगाउनु भयो ।’

उनले अगाडी भने, ‘आधारहिन, तर्कहिन कुराहरु गरेर उहाँले सबै पत्रकारहरु विक्रीमा छन् । मिडिया हाउसहरुले यो विभिन्न प्रकारका धन्दा गरेका छन । संघ पनि विक्रीमा छ लगायतका यावत कुराहरु जुन भिडियोमार्फत् बाहिर आए । ती कुराहरु चाँही स्वतन्त्र प्रेसको भावना विपरित छन।’

सभामुख घिमिरेलाई चुनौती दिदैं उनले भने, ‘यदि सक्नु हुन्छ भने पुष्टि गर्नुस्, सञ्चार क्षेत्रमा भएका कमीकमजोरी हटाउनका लागि हामी तयार छौं । उहाँले त्यो कुरालाई पुष्टि गर्नु भयो भने फिर्ता लिनुपर्छ भन्ने होइन । तर समग्र सञ्चार क्षेत्र विक्रीमा रहेको, खरिदविक्री गर्न खोजिएको, कसले गर्न खोजेको, कहाँ भएको, यस्तो कुराको जवाफ त्यस्तो ठाउँमा बस्ने व्यक्तिले दिनुपर्छ होइन भने यो अशोभनीय, अमर्यादित टिप्पणी हो सञ्चार क्षेत्रको लागि । त्यसैले पत्रकार महासंघले विरोध गरेको छ ।’

महासचिव पुरीले सञ्चार क्षेत्रमा, पत्रकारिता क्षेत्रमा सुधार हुनुपर्छ  भन्ने कुरामा महासंघ सहमत भएपनि सिंगो पत्रकारिता क्षेत्रलाई नै गाली गर्ने सभामुख घिमिरेको अभिव्यक्ति पाच्य नहुने चेतावनी समेत दिए। उनले राजनीतिक नेतृत्वलाई पत्रकारमाथि हल्का टिप्पणी गर्नु भन्दा पनि सुधारका पक्षहरुलाई ‌अ‌ौंल्याई दिन आग्रह गरे ।

उनले भने, ‘सञ्चार क्षेत्र सुध्रिनु पर्छ, पत्रकारिता क्षेत्रमा गलत क्रियाकलापहरु पनि छन भन्ने कुरामा दुईमत नहोला । समाजका सबै क्षेत्रमा कमीकमजोरीहरु छन, त्यसका सबल, राम्रा पक्षहरु पनि छन । पत्रकारिता क्षेत्रमा पनि केही विकृति होलान । तर त्यो एकाध जनाले गरेको कुरालाई लिएर समग्र क्षेत्रलाई गाली गर्ने कुरा पाच्य हुुन सक्दैन। ’

महासचिव पुरीले समाजका सबै क्षेत्रमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउनका लागि सकारात्मक ढंगले पहलकदमी अघि बढाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved