मेलम्ची। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने पार्टीसँग मात्र एकता हुने बताएका छन् ।
शनिबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
अध्यक्ष नेपालले भने, ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन। विचार मिल्ने पार्टीसँग मात्र एकता सम्भव छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अझै पनि नेपालमा कम्युनिस्टहरू लोकप्रिय रहेकाले विचार मिल्नेहरूसँग गठबन्धन हुनसक्ने बताए ।
उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुनसक्ने समेत बताए ।
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतका नेता र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।