धनगढीका अधिकांश सडकको अवस्था दयनीय, मर्मतका नाममा वर्षेनि करोडौं खर्च

वर्षैपिच्छे सडक मर्मतका लागि रकम विनियोजन गर्न सकिने र कमिसन खान पनि सहज हुने भएकाले उप–महानगरपालिकाको बजेटबाट गरीने कालोपत्रेमा कमसल काम भइरहेको हुन्छ ।

नेपालभ्युज

धनगढीका अधिकांश सडकको अवस्था दयनीय, मर्मतका नाममा वर्षेनि करोडौं खर्च

धनगढी। सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रदेशको एक मात्रै उपमहानगरपालिका र व्यापारिक केन्द्र धनगढी सडककै अवस्था कारण समय–समयमा आलोचित हुँदै आएको छ । प्रदेशको राजधानी र मुख्य कार्यालयहरू समेत रहेको धनगढीमा सडकको स्तरोन्नति हुन सकेको छैन ।

धनगढीको मुख्य बजार चौराहादेखि क्याम्पसरोड सम्मको सडकमा परेको खाल्डाखुल्डीका कारण स्थानीयलाई आवतजावतमा सास्ती हुने गरेको छ । धनगढी ८ क्याम्पसरोडका नरेश चौधरीले टालाटुली हालेर काम चलाएका सडकले आवतजावत र दुर्घटना निम्त्याएको बताए ।

धनगढी चौराह, पुरानो भन्सार नजिक, मुख्यमन्त्री कार्यालय अगाडि, कैलाली पुल, एलएन चोक, पुष्पलाल चोक, पुरानो फूलबारी बसपार्क तथा क्याम्पसरोडको बीच सडकमा खाल्डाखुल्डी हुँदा समस्या हुनका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।

बर्खामा हिलो र सुख्खा तथा गर्मी समयमा धुलो धुवाँले झन् स्थानीयलाई समस्या हुने गरेको धनगढीका स्थानीय रतन थापाले गुनासो गरे ।

बीच सडकमा खाल्डाखुल्डी पर्दा हरेक दिन सवारीमा आवतजावत गर्ने यात्रुलाई दुर्घटनाको जोखिम छ, उनले भने तर यसमा प्रदेश सरकार र स्थानीय तहको ध्यान जान सकेको छन् ।

उनले भने, ‘उपमहानगरपालिकाका विगतका मेयर सापले पनी कयौँपटक सडकका खाल्डाखुल्डी पुरेका थिए । पटक-पटक खाल्डाखुल्डी पर्दै आएको सडकमा अहिले पनि त्यही अवस्था रहेको छ ।

अहिलेका मेयर गोपाल हमालले एकपटक काम गरेजस्तो गरेर सडकका खाल्डाखुल्डी पुरेका थिए, तर अहिले पनि अवस्था उही छ । सडक मर्मतमा धनगढी उपमहानगरले गुणस्तर कायम गरेर दिगो व्यवस्थापनमा ध्यान दिनुपर्नेमा त्यस्तो भएको छैन ।

धनगढीमा देखिने खाल्डाखुल्डी कहिले देशका शीर्ष नेता आउँदाका बखत पुरिन्छन् भने कति बेला बजेट सक्ने समयमा मर्मत हुने गरेको स्थानीयको आरोप छ ।

धनगढी-५ का पुष्पराज जोशीले सडक मर्मत हुन नसकेको भन्दै उपमहानगरपालिकाले छिटो निर्माण गर्नुपर्ने सुझाव दिए । उनले मुख्य बजारमा खाल्डाखुल्डी पर्दा धेरै जसो दुर्घटना हुने गरेका छन् ।

उनले भने, ‘हिजो अस्ति मात्रै एक जना साथीको लडेर हात भाँचिएको छ, उसको खर्च उपमहानगरपालिकाले व्यहोर्ने हो र, उनले प्रश्न गरे ? कैलाली पुल नजिकको खाल्डाखुल्डी नपुरिएको दुई महिनाभन्दा बढी भइसक्यो पानी जाम हुन्छ, हिँड्नै समस्या छ ।’

सुरुमा कमसल सामग्री प्रयोग गरेर सडक कालोपत्रे गर्ने र पछि सडक भत्किएपछि सोही सडक मर्मतको नाममा कालोपत्रेको टालो हालेर ठेकेदार र उप–महानगरका कर्मचारीले कमिसन खाने गरेको उनको आरोप छ ।

धनगढीमा भत्किएको सडक मर्मत गर्ने नाममा प्राय:जसो कालोपत्रे आवश्यक नभएको ठाउँमा पनि अलकत्रा हालिन्छ । कतिपय भत्किएर भताभुङग भएका सडक पनि उप–महानगरपालिकाको योजनामा पर्दैन ।

कमिसन पाउने ठाउँमा मात्रै मर्मतका लागि बजेट दिने गरेको आरोप पनि उप–महानगरपालिकालाई लाग्ने गरेको छ । कालोपत्रे गरिएका अधिकांश सडक वर्ष दिन पनि नटिक्ने समस्या रहेका कारण विकास बजेटको ८ देखी १० प्रतिशत बजेट प्रत्येक वर्ष तिनै सडक मर्मतका लागि खर्च हुने गरेको छ।

खाल्डाखुल्डी पुर्न यस वर्ष पनि करोड बढी खर्च हुँदै

उपमहानगरपालिकामा खाल्डाखुल्डी पुर्न कमिसनको चलखेल हुदाँ वर्ष दिन नटिक्ने शहरी सडक निर्माण गरी मर्मतका नाममा वार्षिक करौडौं खर्च भइरहेको छ ।

उप–महानगरपालिकाबाट निर्माण गरिने सडकमा कमसल काम गराउने र पछि तिनै सडकको ममर्तका नाममा वार्षिक करोडौं रकम खर्च गर्ने परिपाटी नै बसेको स्थानीयको आरोप छ ।

वर्षैपिच्छे सडक मर्मतका लागि रकम विनियोजन गर्न सकिने र कमिसन खान पनि सहज हुने भएकाले उप–महानगरपालिकाको बजेटबाट गरीने कालोपत्रेमा कमसल काम भइरहेको हुन्छ ।

कमसल काम भएकै कारण अहिले उप–महानगरपालिकाले ठाउँ–ठाउँमा सडक मर्मत र टालो हाल्न शहरी सडक मर्मतका लागि उप–महानगरपालिकाले डेढ करोड भन्दा बढी बजेट खर्च गर्ने भएको छ ।

सडक कालोपत्रे गरेको वर्ष दिन नपुगेका सडकमा खाल्डाखुल्डी पर्न थालेपछि उप–महानगरपालिकाले वार्षिक तिनै सडकको मर्मतमा करोडौं रकम खर्च गरिरहेको हुन्छ ।

यसपटक पनि धनगढी उपमहानगरपालिकाले सडक मर्मतमा संघीय सरकारबाट १ करोड र उपमहानगरपालिकाले ५० लाख छुट्याउने धनगढीका डिभिजनल इन्जिनियर दिजराज भट्टले जानकारी दिए ।

उनले अहिले सडकमा नयाँ नाली बनाउने काम चलिरहेको र यो काम ३ महिनामा सकिने, तर सडकका खाल्डाखुल्डी माटो हालेर पुरिने जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved