पुटिन र सीबीच युक्रेनबारे छलफल हुने

नेपालभ्युज

पुटिन र सीबीच युक्रेनबारे छलफल हुने
फाइल फोटो

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता सम्बन्धको ‘नयाँ युग’को सुरुवात गर्ने र युक्रेनबारे छलफल हुने क्रेमलिनका एक अधिकारीले शुक्रबार बताएका छन् ।

‘नेताहरूले नयाँ युगमा प्रवेश गरेको र व्यापक साझेदारी र रणनीतिक सम्बन्धलाई मजबुत बनाउने संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुहुनेछ,’ पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले बताएका छन् ।

उशाकोभका अनुसार दुई शक्तिशाली नेताले सन् २०३० सम्मका लागि रूसी तथा चिनियाँ आर्थिक सहयोगसम्बन्धी संयुक्त घोषणापत्रमा पनि हस्ताक्षर गर्नेछन् ।

उनले भने, ‘दुवै नेताले द्विपक्षीय सम्बन्धका बारेमा लेखेका लेख तथा विचारहरू सोमबार रूसी र चिनियाँ पत्रिकामा प्रकाशित हुनेछन् । यो वास्तविक वार्ताको पूर्वसन्ध्यामा एक महत्वपूर्ण सङ्केत हुनेछ ।’

उनिहरूले युक्रेनमा रूसको सैन्य अभियानलाई पनि एजेन्डामा समावेश गरेको उशाकोभले बताए ।

‘पक्कै पनि युक्रेन द्वन्द्वबारे छलफल हुनेछ । हामी यस विषयमा चिनियाँ नेतृत्वको संयमित र सुविचारित अडानको उच्च कदर गर्छौं,’ उषाकोभले भने।

उनले बेइजिङले ‘यो सङ्कटको वास्तविक कारण बुझेको’ र गत महिना प्रकाशित युक्रेन द्वन्द्वमा चीनको शान्ति पहलको मस्कोले स्वागत गरेको बताए ।

पुटिन र सीबीच सोमबार ‘अनौपचारिक’ भेटवार्ता र रात्रिभोज हुने र त्यसपछि मङ्गलबार औपचारिक वार्ता हुने क्रेमलिनका सल्लाहकार उशाकोभले बताए।

मस्कोमा पुटिनसँगको भेटपछि चिनियाँ राष्ट्रपति सी बेइजिङ फर्कने उनले बताए ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved