बेनी–जोमसोम सडक आजदेखि दैनिक ६ घण्टा बन्द

नेपालभ्युज

बेनी–जोमसोम सडक आजदेखि दैनिक ६ घण्टा बन्द
फाइल तस्वीर।

बेनी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज शुक्रवारदेखि दैनिक ६ घण्टा बन्द भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक छ घण्टा यातायात आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले आजदेखि चैत १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायातको आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिए ।

‘चैते दशैँको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,’ उनले भने ‘पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो ।’

निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत् जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए ।

म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने गाडीले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक गाडीको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved