मोहन निरौलाले घोषणा गरे प्यानल, महासचिवमा सविन श्रेष्ठ

नेपालभ्युज

मोहन निरौलाले घोषणा गरे प्यानल, महासचिवमा सविन श्रेष्ठ

काठमाडौं । नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलासहितको प्यानल घोषणा भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् भने महासचिवमा सविन श्रेष्ठ छन् । यस्तै सचिवमा रामेश्वर बुर्लाकोटी रहेका छन् । त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन् ।

सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन् । सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् ।

अध्यक्ष पदका उम्मेदवार निरौलाले कलाकार संघको भवन तथा कार्यालय व्यवस्थापन, सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई आफ्नो एजेण्डा बनाएका छन् । निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता समेत हुन् ।

कार्यक्रममा बोल्दै उम्मेदवार निरौलाले लैंगिक तथा यौन हिंसाविरुद्ध शुन्य सहनशीलताको नीति लिने, मातृ भाषी चलचित्रका कलाकारलाई संघमा आवद्ध गराउने नीति लिने बताए । उनले विभिन्न देशमा रहेका मौजुदा शाखाको विस्तार गरी विश्वभर छरिएका कलाकारहरुलाई एक सूत्रमा बाँध्ने आफ्ना एजेण्डा रहेको बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले  अध्यक्ष पदमा उठ्ने अर्को पक्षलाई उम्मेदवारी फिर्ता लिएर निरौलालाई सघाउन आग्रह गरिन्। उनले नयाँ मात्रै आएर नेतृत्व सम्हाल्न नसकिने बताईन्  ।

त्यस्तै वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले कलाकार संघ भनेको लिने नभइ दिने ठाउँ रहेको बताईन् । उनले सबै मिलेर कलाकार संघको अध्यक्षमा उम्मेदवार निरौलालाई जिताउन आवश्यक रहेको बताईन् ।

कलाकार संघको अध्यक्षमा बुधवार रेजिना उप्रेतीले पनि प्यानल घोषणा गर्नुभएको छ । कलाकार संघको नेतृत्वका लागि शनिवार चुनाव हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved