कालीकोटमा सशस्त्र द्वन्द्वमा छाडिएका बम भेटिने क्रम जारी

नेपालभ्युज

कालीकोटमा सशस्त्र द्वन्द्वमा छाडिएका बम भेटिने क्रम जारी
तर्श्वीर : रमेश रावल

सुर्खेत। कालीकोटमा सशस्त्र द्वन्द्वमा छाडिएका बम भेटिने गरेका छन् । सशस्त्र द्वन्द्वमा क्रममा सुरक्षाकर्मी र विद्रोही पक्षले छाडेका बमहरू भेटिने गरेका हुन् ।

फागुन ३० गते (मंगलबार) दिउँसो कालीकोटको सदरमुकाम मान्मस्थित जिल्ला अदालतको उत्तरतर्फको पर्खालनजिकै बाकस बम फेला पर्‍यो । चुलीशस्त्रमालिका बृहत् खानेपानी आयोजनाको पाइपलाइन खन्ने क्रममा सानो बाकसभित्र विस्फोटक पदार्थ राखेको पाइएको छ ।

पाइपलाइनमा काम गरिरहेका मजदुरले त्यो बम फेला पारेका थिए । बाकसमा तारजडान गरी प्लास्टिकमा बेरेर राखेको अवस्थामा बम भेटिएपछि नेपाली सेनाको संग्राम गुल्मबाट खटिएको टोलीले ३ घन्टापछि बम निस्क्रिय बनाएको निमित्त जिल्ला प्रहरी प्रमुख सुवराज बमले बताए ।

‘पाइपलाइनमा कार्यरत कामदारले बिहान शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।’ उनले भने,‘प्रहरीले नेपाली सेनालाई खबर गरेपछि बम भएको यकिन गरेर निस्क्रिय पारिएको हो ।’

सशस्त्र द्वन्द्वमा बेला छाडिएको बम फेला परेको हुनसक्ने यहाँका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । ‘खानेपानी पाइपलाइन खन्ने क्रममा कामदारले देखेपछि जाँच गर्दा पुरानो बम रहेको छ ।’ उनले भने, ‘कालीकोट जिल्ला सशस्त्र द्वन्द्वबाट निकै प्रभावित जिल्ला हो ।’

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० को रानाबाडामा कात्तिक १२ गते जंगलमा छाडिएको बम खेलाउँदा दुई बालबालिकाको मृत्यु भएको थियो भने तीन जना घाइते भए भएको थियो ।

कालीकोटमा वृहत शान्ति सम्झौता जिल्लाका विभिन्न नौ ठाउँमा भएका बम विस्फोटनका घटनाबाट सात जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved