जथाभावी सडक पार गर्ने पैदल यात्रीलाई सडकमै ‘ट्राफिकको क्लास’ (फोटोहरू)

पैदलयात्री र साइकल यात्रीका लागि सचेतना अभियान

जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार नगर्ने पैदलयात्रुलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमै सम्झाई बुझाई गर्ने अभियान सुरु गरेको हो।

जथाभावी सडक पार गर्ने पैदल यात्रीलाई सडकमै ‘ट्राफिकको क्लास’ (फोटोहरू)

काठमाडौं। जेब्राक्रसिङ तथा आकाशे पुलबाट सडक पार नगर्ने पैदलयात्रुलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमै सम्झाइबुझाइ गर्ने सचेतना अभियान सुरु गरेको छ ।

‘पैदलयात्री सचेतना अभियान’अन्तर्गत ट्राफिक प्रहरीले असुरक्षित तरिकाबाट बाटो काटेका पैदल यात्रीलाई लगतै सडक छेउमा उभ्याएर त्यसो नगर्न सम्झाइबुझाइ गर्न थालेको हो।

उनीहरूलाई प्ले कार्ड बाेक्न लगाएर फोटो खिच्ने गरिएको छ । साथै, ट्राफिक प्रहरीले आउँदा दिन यस्ता गल्ती नगर्ने वाचा गराइरहेको छ।

ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन  ‘जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौँ’ भन्ने प्ले कार्ड नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक–चोकमा बसेर अभियानको सुरुवात गरेको छ।

उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अभियान सञ्चालन गरिएको छ । साथै, साइकल चालकप्रति पनि अभियान लक्षित छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले भने ‘‘दिनप्रतिदिन बढ्दो सवारी चापका साथै आकाशेपुल र जेब्राक्रसिङ बाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्यांकलाई आधार मान्दै अभियान सुरुवात गरिएको हो।’’

काठमाडौंको नयाँ बानेश्वर, कमलपोखरी, थापाथली, बल्खु, बुढानीलकण्ठ, नयाँ बसपार्क, नागढुङगा, बौद्ध र भक्तपुरमा पैदल यात्रु र साइकल यात्रीलाई सम्झाइबुझाइ गरिएको हो।

काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आवको हालसम्म ४० जना पैदल यात्रीको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved