पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने सम्भावना !

भण्डारी ओलीपछि आफूलाई नै एमालेको सही र उपयुक्त उत्तराधिकार मान्दछिन् । तसर्थ, पार्टी अध्यक्षका रूपमा सक्रिय राजनीतिमा फर्किने चाहना उनमा प्रबल छ ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने सम्भावना !

काठमाडौं। राष्ट्रपतिमा रामचन्द्र पौडेलको शपथ भएपश्चात् दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी ‘दुई कार्यकाल’ पूरा गरी शीतल निवासबाट बिदा भएकी छन् । तर, उनको भावी राजनीतिक जीवनका बारेमा अझै जिज्ञासा र अडकलबाजी जारी नै छन् ।

सामान्यतः दुई कार्यकाल पूरा गरेको संवैधानिक राष्ट्रपति सक्रिय राजनीतिमा फर्किने प्रचलन संसारभरि नै छैन । नेपालमा पनि प्रथम राष्ट्रपति डा. रामवरण यादवले यो प्रचलन कायम गरेका छन् । तर, यो एक नैतिक मूल्यमा आधारित प्रचलन र संस्कृति हो। संविधान र कानुनले भने पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीति गर्न छेकेको हुँदैन ।

पूर्वराष्ट्रपति भण्डारी उमेरले ६२ वर्षकी मात्र छन् । अझै एक दशक सक्रिय राजनीति गर्ने उमेर उनीसँग छ । एमाले विधानले ७० वर्षसम्म सक्रिय राजनीति गर्ने अनुमति दिन्छ । तसर्थ, धेरैको अनुमान छ–‘केही वर्षको कुलिङ पिरियड पूरा गरी उनी एमालेको सक्रिय राजनीतिमा फर्किन सक्नेछन् ।’

राष्ट्रपति हुँदाका उनका कतिपय अडान र क्रियाकलापले संवैधानिक राष्ट्रपतिको सीमा र मर्यादाभन्दा बाहिर गएर एमालेको पार्टी नीतिलाई पक्षपोषण गरेको ठानिन्छ । त्यसको कारण सक्रिय राजनीतिमा फर्किन एमाले पंक्तिमा आफ्नो राजनीतिक ‘क्रेज’ कायम राख्ने प्रयत्न हुन सक्दछ ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दुई-दुई पटकको असंवैधानिक प्रतिनिधिसभा विघटनलाई प्रतिरक्षा गरेकी थिइन्। अझ दोस्रो पटकको विघटनमा संवैधानिक राष्ट्रपतिमा स्वविवेकीय अधिकार हुने दाबी पनि गरेकी थिइन् । सर्वोच्च अदालतले दुवै पटकको विघटनसँगै राष्ट्रपति कार्यालयका दाबी र अनुमोदन खारेज गरिदिएको थियो ।

भण्डारीले प्रतिनिधिसभाबाट दुईपटक अत्यधिक बहुमतले पारित नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। उनले यो असंवैधानिक कदम एमालेको सक्रिय राजनीतिमा फर्किन पर्ने सम्भावना र पार्टीको तथाकथित राष्ट्रवादी रुझानलाई प्रतिरक्षा गर्न चालेको अनुमान गरिन्छ ।

ठीक त्यसैगरी, टिकापुर जनविद्रोहका राजबन्दी रेशम चौधरीलगायतको रिहाइ र मुद्दा फिर्तासम्बन्धी प्रक्रियालाई सहजीकरण गर्ने अध्यादेश समेत भण्डारीले रोकेकी थिइन् ।

टिकापुर जनविद्रोह नागरिक उन्मुक्ति पार्टीको उदयमार्फत जनअनुमोदन भइसक्दा समेत राजबन्दी रिहाइ प्रक्रियालाई अल्झाउने उनको कदमभित्र पनि सक्रिय राजनीतिमा फर्किन चाहने भावनाले काम गरेको हुनसक्ने ठानिन्छ ।

एमाले पार्टीपंक्तिमा समेत पूर्व राष्ट्रपति भण्डारी पार्टीमा फर्किन सक्ने सम्भावनाबारे चर्चा चल्ने गरेको छ । उनले एमाले कार्यकर्तासँगको भेटघाटमा ‘ओलीपछि पार्टीको नेतृत्व गर्न सक्ने व्यक्तित्व’ नभएको भन्ने गरेकी छन् । यसको अर्थ–ओलीपछि पार्टी अध्यक्षमा प्रतिस्पर्धा गर्ने मनसाय उनले बनाएको हुन सक्ने ठानिएको छ ।

एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनले पनि पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा फिर्ता हुने सम्भावनालाई बल प्रदान गर्दछ । माधव नेपाल समूहको बहिर्गमनपछि एमालेमा ओली समूह झनै बलियो र चुनौतीहीन भएको छ।

‘दशबुँदे समूह’ मध्येका घनश्याम भुसालले पार्टी परित्याग गरिसकेका छन् । अर्का प्रतिस्पर्धी भीम रावल कमजोर र निरीह सावित भएका छन् ।

ओलीले प्रतिनिधिसभा सदस्यको टिकटसमेत नदिँदा पनि उनले असन्तुष्टि पोख्नेबाहेक कुनै निर्णायक विद्रोह गर्ने आँट गरेनन् । दशबुँदे समूहका अन्य सदस्य खुम्चिएर मौनजस्तो बसेका छन् ।

ओली नेतृत्वमा रहुन्जेल एमालेले असंवैधानिक संसद विघटनका लागि आत्मालोचना गर्ने सम्भावना छैन । अर्कोतिर उमेर हदको कारणले यो ओलीको अन्तिम कार्यकाल हो । यसर्थ, उनले आफूपछि पनि एमाले नेतृत्वमा आफ्नै गुटको उत्तराधिकार आओस् भन्ने चाहना राख्नु स्वाभाविक हो ।

आगामी महाधिवेशनसम्म एमाले शीर्ष नेतृत्वको एउटा पंक्ति नै ‘राजनीतिक सन्यास’ तिर जानुपर्ने छ । सन्यास नै नलिए पनि मूल पदका लागि असान्दर्भिक हुनेछ । यसरी असान्दर्भिक हुने पंक्तिमा अध्यक्ष ओलीका अतिरिक्त सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, केशव बडाल, सुरेन्द्र पाण्डेलगायत हुनेछन् ।

त्यसो त ७० वर्ष उमेर हद र दुई कार्यकाल अध्यक्षको प्रावधान हटाई ओली नै तेस्रो कार्यकालका लागि अघि बढ्ने सम्भावना समाप्त भएको छैन । ओलीले चाहेमा उनलाई यसो गर्न कसैले रोक्नसक्ने छैन । तर, पार्टी प्रचलन र विधानमाथि यो स्तरको क्रमभंग गर्न ओली आफैँ तयार हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नचाहिँ अनुत्तरित छ ।

ओली लगायतको यो पंक्तिपश्चात् एमाले नेतृत्वका लागि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोख्रेल मुख्य दाबेदार हुनेछन् । पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आए पोखरेल पछि हट्न सक्नेछन् । एमालेले जुन स्तरमा पोखरेललाई ‘प्रोजेक्सन’ गर्न खोजेको थियो, आफ्नै गृहजिल्ला र निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा पराजयपछि उनको भविष्यबारे प्रश्न उठ्न थालेका छन् ।

पोखरेलको बौद्धिक तथा राजनीतिक क्षमता पनि विगतको तुलनामा शिथिल र अनाकर्षक हुँदै गएको छ । अन्तर्मुखी स्वभावका कारण पार्टीको मूल नेताका रूपमा मास अपिलको क्षमता नराख्ने भएकाले पनि पोखरेलको नेतृत्वमा  एमाले झनै कमजोर हुन्छ भन्नेहरू पार्टीभित्रै पर्याप्त छन् ।

ओली र पोखरेलको साथ पाउँदा पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष हुन सक्नेछिन् । उनलाई उमेर र अनुभवले त साथ दिन्छ नै, साथै, पार्टीका आइडोलग नेता मदन भण्डारीकी पत्नी हुनुको विरासतसमेत हुनेछ ।

भण्डारी ओलीपछि आफूलाई नै एमालेको सही र उपयुक्त उत्तराधिकार मान्दछिन् । तसर्थ, पार्टी अध्यक्षका रूपमा सक्रिय राजनीतिमा फर्किने चाहना उनमा प्रबल छ । तर, समय र परिस्थिति कसरी अघि बढ्छ, त्यो भने पर्खेर हेर्नैपर्ने हुन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved