अन्तर्वार्ता

राष्ट्रपति खसआर्य पुरुष भइसकेपछि उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी निष्क्रिय हुनुपर्थ्यो : अष्टलक्ष्मी शाक्य

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा) का रामहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झाको उम्मेदवारी छ । एमाले उम्मेदवार शाक्यसँग गरिएको कुराकानी ।

राष्ट्रपति खसआर्य पुरुष भइसकेपछि उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी निष्क्रिय हुनुपर्थ्यो : अष्टलक्ष्मी शाक्य

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा) का रामहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झाको उम्मेदवारी छ ।

उम्मेदवारहरूको अन्तिम नामावली सूचीमा जसपाकै प्रमिला कुमारी यादवको पनि नाम समावेश भएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरिसकेकी छन् ।

रामसहाय र ममता १० दलीय सत्तारूढ गठबन्धनबाट हुन् भने अष्टलक्ष्मी एमालेको तर्फबाट उम्मेदवार बनेकी हुन् । कसले बाजी मार्ला भन्ने छिनोफानोका लागि चैत ३ नै कुर्नुपर्छ, तर उम्मेदवारहरूले आफूले जित्नुपर्ने भन्दै दलहरूसँगको सम्पर्क, समन्वय र सक्रियता बढाएका छन् ।

मुख्य प्रतिस्पर्धीका रूपमा अष्टलक्ष्मी र रामसहायलाई लिइएको छ । त्यसो त अष्टलक्ष्मीसँग एमालेमात्रै हुँदा रामसहायसँग अन्य दलको पनि साथ छ । तर, कतिपयले परिणाम अष्टलक्ष्मीको पक्षमा आउनसक्ने विश्लेषणसमेत गरेका छन् । के त्यसो हुन सक्छ ? हामीले उनै अष्टलक्ष्मीसँग कुराकानी गरेका छौँ ।

सुरूमा तपाईं राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा थियो, तर उपराष्ट्रपतिको उम्मेदवारचाहिँ बन्नुभयो, किन यस्तो भयो ?

राष्ट्रपतिको उम्मेदवार बन्ने कुरा थियो नै, मेरो मात्रै होइन अरु नेताहरूको पनि थियो । तर, पार्टीले पछि सुवासजीलाई नै प्रस्ताव गरिसकेपछि हामीले किन विरोध जनाउने, ठिक छ त भनेर मान्यौँ । जहाँसम्म उपराष्ट्रपति पदमा मेरो उम्मेदवारीको सवाल छ— सचिवालयले ‘तपाईं नै उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्छ’ भनेपछि मैले नाइँ भनिनँ ।

पार्टीकै लागि यत्तिधेरै काम गर्दै आएँ, पार्टीकै लागि सबथोक छाडेँ । अब अन्तिममा किन पार्टीले भनेको अस्वीकार गर्ने भनेर म उम्मेदवार बनेँ । हार-जितको कुरा भनेको दोस्रो कुरा हो, ठिकै छ भनेर म उम्मेदवार बनेँ । पहिले त मैले अब पुग्यो, म जान्नँ भनेकै थिएँ । तर कमरेडहरूले मलाई नै प्रस्ताव गरेपछि हुन्छ भनेँ र अहिले उपराष्ट्रपतिको उम्मेदवारको रूपमा छु ।

उपराष्ट्रपतिमा रामसहाय यादव, ममता झा र तपाईंको उम्मेदवारी छ, यो प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?

पहिलो कुरा त हामी लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्नेहरूले स्वस्थ प्रतिस्पर्धामा जानका लागि डराउनु वा हिच्किचाउनु हुँदैन । त्यो भनेकोचाहिँ उम्मेदवारहरू धेरै हुनसक्छन् र त्यसलाई स्वाभाविकरूपमा लिनुपर्छ भनिएको पनिहो । त्यसमा हामीले अन्यथा ठान्नै पर्दैन । त्यसमा गठबन्धनबाट उम्मेदवारहरू २/३ जना नै देखिन्छन् । यो पनि राम्रै हो, किनभने हामीले ‘प्राक्टिस’ गरेको व्यवस्था नै त्यस्तै हो । त्यसैले त्यो ठूलो कुरा होइन, यो लोकतान्त्रिक विधिअनुसार नै हो ।

उपराष्ट्रपति पदमा जे-जसरी उम्मेदवारीहरू परे, यसबारे तपाईंको धारणा के छ ?

आपत्तिको विषयचाहिँ के भने राष्ट्रपति र उपराष्ट्रपतिजस्तो गरिमामय र संरक्षक पदमा पनि पुरुषै-पुरुष हुँदा पनि हुन्छ भन्ने हो । त्यसरी हुँदै हुँदैन । हामी बहुजातीय देशमा बाँचेका छौँ, त्यसैले पुरुष-पुरुष पनि बस्नु हुँदैन र महिला-महिलाको कुरा पनि आउँदैन । हाम्रो देशमा भएको विविधताहरूको सम्मान गर्ने पनि हामीले नै हो । यस्तो अवस्थामा महिला-पुरुष नै हुनुपर्छ भन्ने हो । मेरो मतलब राष्ट्रपति र उपराष्ट्रपतिमा महिला-पुरुष हुनुपर्छ ।

अब धेरै समुदाय पनि भएको हुनाले समुदायको हिसाबले पनि समावेशीता कायम हुनुपर्छ । त्यो हिसाबले चाहिँ हामीले व्यवस्थापन गर्नुपर्छ भनेर हामीले सोचेका छौँ । गठबन्धनबाट जसरी पुरुषको उम्मेदवार परेको छ, त्योचाहिँ बेमेल खालको छ । यो हुनु हुँदैनथ्यो । अब राष्ट्रपति खसआर्य पुरुष भइसकेपछि उपराष्ट्रपति अन्य समुदायकी महिला हुनुपर्छ ।

गठबन्धनबाट प्रमिला कुमारी यादवको भन्दा पनि रामसहाय प्रसाद यादवको चाहिँ निष्क्रिय हुनुपर्थ्यो भन्ने तपाईंको कुरा हो ?

एकदमै हो र हुनुपर्छ ।

निष्क्रिय हुनुपर्नेचाहिँ रामसहाय यादवकै हो । सबै मिलेर यत्रो राम्रो संविधान लेखिरहँदा र सबैलाई समावेशीरूपमा लानुपर्छभनेर भनिरहँदा राज्यका कुनै दुईवटै पदमा पुरुषै-पुरुष हुनुपर्छ भन्ने मान्यता के हो ? अनि लिङ्ग र समुदाय नमिलाइकनचाहिँ कसरी भयो समावेशीता ? कहाँ भयो संविधानमा लेखिएको समानुपातिक-समावेशी मान्यताको कार्यान्वयन ?

तर, संविधानको मर्म त फरक समुदाय भइसकेपछि फरक लिङ्ग नहुँदा पनि हुन्छ भन्ने हो नि त ?

त्यसरी त हुनै सक्दैन नि ! ल ठिक छ, हामीले संविधान र कानून नभएको अवस्थाबाट हेर्दा पनि त हामीसँग भएको विविधतालाई कसरी समावेश गर्ने ? हामीसँग जुन विविधता छ, त्यसलाई प्रतिनिधित्व त गर्नैपर्छ र गर्ने हामीले नै हो । हामीले नगरेर कसले गर्ने त यसको प्रतिनिधित्व ? के हामीले मुलुकमा भएका विविधताहरूलाईचाहिँ बिर्सने त ? यदि त्यसो होइन भने त पुरुषै-पुरुष भन्ने कुरा त कहाँबाट आयो ? हामीले त सामाजिक रूपान्तरणका लागि, मुलुकको विकास र समृद्धिको लागि यो गर्नैपर्छ । यो निकै महत्त्वपूर्ण कुरा हो नि । यी सबै कुराहरू सोच्नैपर्छ ।

तपाईं आफ्नो जितचाहिँ कति निकट देख्नुहुन्छ ?

म मतदाताहरूसँग सम्पर्कमै छु । भावनाहरू राम्रो व्यक्त भएका छन् । त्यसैले मलाई विश्वास छ, जित्छु भन्ने । मैले भनेको छु— यदि जिम्मेवारी बहन गर्ने अवस्थामा पुर्‍याइदिनुभयो भने म मेरो जिम्मेवारीमा कहीँ पनि चुक्दिनँ भनेर भनेकी छु । सबैबाट सहानुभूति पाएकी छु, मलाई विश्वास छ ।

अन्त्यमा, तपाईं लोकतान्त्रिक संसदीय राजनीतिमा भुक्तभोगी नेता हुनुहुन्छ । एउटा ‘सेरेमोनियल’ पदका लागि पूरै राष्ट्रिय राजनीतिक समीकरण नै फेरिने कुरालाई कसरी लिनुहुन्छ ?

पहिलो कुरा त हामीले बनाएको संविधान, कानून र विधिमै बसेर चल्नुपर्छ जोकोही पनि । तर, त्यसो भएको छैन । संविधानअनुसार चल्ने कुरामा कहीँ कसैको मति रहनुहुँदैन र सक्दैन पनि । तर, हामी कतिपय ठाउँमा मनमौजीरूपमा चलेका छौँ । यसो हुनु भनेको दुखद् हो, तर हामी गरिरहेका छौँ नै त्यही । यसबाट हामी माथि उठ्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved