निवर्तमान र नवनिर्वाचित राष्ट्रपति १ बजे भेट्ने ३ बजे छुट्ने

पौडेल शीतलनिवास, भण्डारी छोरीको घरमा

आजै दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारीको बिदाइ हुनेछ । नयाँ राष्ट्रपति पौडेलको शपथ र निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइका लागि एक हजार ७ सय जनालाई शीतलनिवासमा निम्तो छ।

निवर्तमान र नवनिर्वाचित राष्ट्रपति १ बजे भेट्ने ३ बजे छुट्ने

काठमाडौं। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सात वर्ष चार महिना १८ दिनपछि आज दिउँसो ३ बजे शीतल निवास छाड्दै छिन्।

२०७२ साल कात्तिक ११ गते नेपालको व्यवस्थापिका–संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भण्डारीको झण्डै साँढे सात वर्ष शीतलनिवासमा नै बित्यो । उनको दोस्रो कार्यकाल २०७४ फागुन २९ गते सुरु भई हिजो रातिदेखि सकिएको छ।

आजै दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारीको बिदाइ हुनेछ । नयाँ राष्ट्रपति पौडेलको शपथ र निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइका लागि एक हजार ७ सय जनालाई शीतलनिवासमा निम्तो छ।

भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले दिउँसो ३ बजेसम्ममा निवर्तमान राष्ट्रपति भण्डारीले शीतल निवास छाड्ने जानकारी दिए।

शीतलनिवास छाडेपछि आफ्नै निजी निवास बुढानीलकण्ठ जाने तयारी भए पनि घर पुनः निर्माणको काम बाँकी रहेकाले भण्डारी आज छोरी उषाकिरणको घरमा बस्ने उनका प्रेस विज्ञ टिका ढकालले जानकारी दिए ।

‘केही दिन छोरीकोमै बस्ने उहाँको तयारी छ’ उनले भने–‘घर पुनःनिर्माणमा समय लाग्ने र शीतलनिवास छाड्ने अवस्थाले उहाँलाई छोरीकै घरमा बस्न सहज हुने देखियो।’

निवर्तमान राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण मदन भण्डारी फाउन्डेसनमार्फत एमालेको राजनीतिमा सक्रिय छिन्। उषाको मण्डिखाटार नजिकै रहेको घरमा निर्वतमान राष्ट्रपति भण्डारी केही समय बस्ने स्रोतले बताएको छ। यद्यपि यसबारे औपचारिक जानकारी कसैलाई दिइएको छैन।

भण्डारीकी दुई छोरी उषाकिरण र निशा कुसुम छन्। २०५० साल जेठ ३ गते उनका श्रीमान् मदन भण्डारीको दासढङ्गामा हत्या भएपछि भण्डारी छोरीहरूसँगै बस्दै आएकी थिइन्। तत्कालीन एमाले महासचिव रहेका मदन भण्डारीको पुख्यौंली घर ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुको ठोट्ने हो ।

वि.सं. २०१८ साल असार ५ गते भोजपुरको मानेभञ्ज्याङमा जन्मिएकी निवर्तमान राष्ट्रपति भण्डारी केही समयको विश्रामपछि सक्रिय राजनीतिमा आउने चर्चासमेत सुरु भएको छ। राष्ट्रपति निर्वाचित हुनु अगाडि उनी नेकपा एमालेको उपाध्यक्ष र महिला संगठन प्रमुख थिइन्।

यसैगरी, नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ आजै दिउँसो १ बजे शीतल निवासमा हुँदैछ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नवनियुक्त राष्ट्रपति पौडेललाई शपथ गराउनेछन्।

शपथका लागि पौडेल निजी निवास बोहोराटारबाट १२ः२५ मा निस्कनेछन्। उनले ज्योतिष र गुरुलाई साइत हेर्न लगाएर निवासबाट निस्कने सयम मिलाएको उनी निकट स्रोतले नेपालभ्युजलाई जानकारी दिएको छ।

सोमबार बिहान पौडेलले आफू बेलुकीदेखि नै शीतलनिवास बस्ने भएकोले घरमा आएका छिमेकी र निकट साथीभाइसँग भलाकुसारी गरेका थिए । उनलाई बधाई दिन पुगेका नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियार लगायतलाई पौडेलले आफूले संविधानको मर्म बुझेर सबैसँग निकट सम्बन्ध राख्ने र अविभावकीय भूमिका निभाउने बताएका थिए।

पौडेलको शपथग्रहण निर्वाचन आयोगले तोकेको समय र राष्ट्रपति कार्यालयले मिलाएको व्यवस्थापन अनुसार हुने उनका प्रेस सहयोगी खिला कार्कीले जानकारी दिए ।

‘उहाँको छुट्टै चाहना वा तामझाम केही छैन’ उनले नेपालभ्युजसँग भने–‘राष्ट्रपति कार्यालय शीतलनिवासबाट जे जस्तो तालिका र समय दिइएको छ त्यहीअनुसार समयमा पुग्ने र शपथ लिनेबाहेक केही छैन।’

राष्ट्रपति कार्यालयमा दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति पौडेल पुगेर शपथ लिएपछि नेपाली सेनाले २१ तोपको सलामी दिएर कार्यभार शुभारम्भ गर्नेछन् । त्यसैगरी, निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइमा पनि सेनाले २१ तोपकै सलामी दिएर बिदाइ गर्ने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved