शीतल निवास प्रवेशअघि तनहुँदेखि बोहोराटारसम्म : यस्तो छ रामचन्द्रको जित-हार

शीतल निवास प्रवेशअघि तनहुँदेखि बोहोराटारसम्म : यस्तो छ रामचन्द्रको जित-हार

२००१ सालमा तनहुँमा जन्मेका रामचन्द्र पौडेल देशको नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। सांसदमा एकपटक, कार्यकारी प्रधानमन्त्रीमा १७ पटक र पार्टी सभापतिमा एकपटक पराजित भएका पौडेल ‘सेरोमोनियल’राष्ट्रपतिमा भने पहिलो पटकमै निर्वाचित भए।

राजनीतिक लडाइँमा यो उनको नवौं जित हो। २०४८ सालको आम निर्वाचनमा तनहुँबाट निर्वाचित पौडेल त्यसपछि २०५१को मध्यावधि निर्वाचन र ०५६को आम निर्वाचनमा पनि त्यहीँबाट विजयी भए ।

०६४ सालको पहिलो संविधानसभा र ०७०को दोस्रो संविधानसभा निर्वाचनमा पनि तनहुँबाटै विजयी बनेका पौडेल ०७४ को आम निर्वाचनमा भने नेकपा एमालेका नेता किसान श्रेष्ठसँग पराजित भए । 0७९ मंसिरको निर्वाचनमा पुनः विजयी बनेका पौडेल आज राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

जितभन्दा हार धेरै व्यहोरेका पौडेलको जीवनमा प्रधानमन्त्रीमा १७ पटक पराजय भएको ‘कालो धब्बा’ पनि आजबाट मेटिएको छ। पौडेलको राजनीतिक जीवनमा लागेको यो कालो धब्बामा पौडेल दोषी छैनन्। दोषी थियो त केबल तत्कालीन संवैधानिक व्यवस्था।

०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट उम्मेदवार भएका पौडेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता झलनाथ खनालसँग प्रतिस्पर्धा गरे। संवैधानिक प्रावधान अनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।

आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट पछि हटे भने पौडेल र खनालबीच १७ पटक प्रतिस्पर्धा भयो । यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो । अर्को चरणमा खनाल प्रधानमन्त्री बने भने पौडेललाई १७ पटक हारेको ‘धब्बा’ मात्रै हात लाग्यो।

पौडेल एकपटक सभामुख र पटक–पटक मन्त्री हुँदा पनि कुनै गम्भीर विवादमा मुछिएनन् । उनकै पार्टीका कयौं नेता भ्रष्टाचारमा मुछिएको तर पौडेल यसमा इमान्दार र निस्कलंक ठहरिए।

पौडेलले जितेको अर्को चुनाव २०६५ असार ६ गते भएको कांग्रेस संसदीय दलको चुनाव हो। शेरबहादुर देउवा र पौडेलबीच भएको उक्त चुनावमा पौडेलले ६१ मत पाएका थिए भने देउवाले ४९ मत मात्रै पाए । गिरिजाप्रसाद कोइरालाको खुला समर्थन कतैतिर थिएन । तर, कोइराला नजिकका पात्रहरूको सहयोगचाहिँ पौडेललाई नै थियो ।

त्यसपछि, सुशील कोइरालाको आकस्मिक निधनपछि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका पौडेललाई महाधिवेशनपछि ‘कार्यवाहक’ हटाएर कार्यकारी सभापति बन्न भने उनै देउवाले रोके।

०१७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा जोडिएका ७८ वर्षीय पौडेलको ‘सेरोमोनियल’ राष्ट्रपतिमा जितसँगै राजनीतिमा चाहिँ विश्राम लागेको छ।

०४८ मा चुनाव जितेपछि ०४९ मा स्थानीय विकास तथा कृषिमन्त्री बनेका पौडेल ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भए। सभामुख हुँदा सांसद गोल्छे सार्कीबाट थप्पड खाएको कुरा पनि उनको राजनीतिक जीवनमा कहिल्यै नमेटिएको अर्को ‘धब्बा’ थियो।

०५६ सालमा तेस्रोपटक सांसद भएका पौडेल पुनः ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री हुन पुगे । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक भए।

०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री भएका पौडेल त्यसपछि प्रधानमन्त्री र पार्टी सभापतिको दौडमा लागिरहे तर,सफल भएनन्। उनी कांग्रेसमा महामन्त्री,उपसभापति र सभामुख अनी मन्त्रीको अवसर पाएका तर,कार्यकारी पद(प्रधानमन्त्री र पार्टी सभापति)मा भने अवसर नपाएका नेता हुन्।

जीवनमा ६ पटक संसदको चुनाव, एकपटक सभामुखको चुनाव, एकपटक संसदीय दलको नेता जितेका पौडेलले राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा ९ पटक जितको स्वाद चाखेका छन्।

तर, एकपटक सांसद (२०७४), एकपटक पार्टी सभापति (२०७३) र १७ पटक प्रधानमन्त्री (२०६७) को उम्मेदवार भएर १९ पटक हार व्यहोरेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका नयाँ राष्ट्रपति पौडेलका श्रीमती र पाँच सन्तान छन् । उनका ‘प्रजातान्त्रिक समाजवाद : एक अध्ययन’, ‘नेपाली कांग्रेस के भन्छ? ‘नयाँ सन्दर्भमा समाजवाद’ लगायतका पुस्तक प्रकाशित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved