मिथिलाञ्चलको मौलिक होली : कता हरायो जोगिरा सररर…?

वसन्त पञ्‍चमीसँगै होली (फागु) पर्वको सन्देश छर्ने जोगिरा..(फागु गीत) अब सुनिन छाडेपछि धनुषा सहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ।

मिथिलाञ्चलको मौलिक होली : कता हरायो जोगिरा सररर…?
फाइल तस्वीर

जनकपुरधाम।

“कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?

कौन तालपर गोरिया नाचे कौन तालपर हम ?

जोगीरा सर र र !!!”

( कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदंग, कुन तालमा कान्छी नाच्छे कुन तालमा )

वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ।

मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरूबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्‍चार हुने संस्कृतिविद किशोरी साह बताउँछन् । उनले भने, ‘होली पर्व र संगीतबीच गहिरो सम्बन्ध हुन्छ। संगीतबिनाको होलीको परिकल्पना नै गर्न सकिदैन। भनिन्छ, होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो।’

मिथिला नगरपालिका– २ नक्टाझिज बस्ने ७० वर्षीय रामखेलावन महतो पुर्खौली बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःखी मनले भन्छन्, ‘पहिले पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाउँगाउँ, टोलटोल घुमेर गाउँदै होली आएको जानकारी दिने परम्परा थियो, तर अहिले गीत गाउने बूढापाकाको कमी भएकाले न त त्यति मात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागु गीत नै गाइन्छ ।’

पहिलेदेखि गीत सुन्दै र गाउँदै आएकाहरु अहिले सम्झेर चिन्तित हुन्छन् । ‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन्‍न् !’ वर्षौंदेखि जोगिरा गाउँदै आएका क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाईटोलका ७२ वर्षीय रामसागर ठाकुर बताउँछन्। उनी भन्छन्, ‘मेरा समूहका धेरै साथीको मृत्यु भइसक्यो, कोही बुढा भएर थलिएका छन, अझै गाउने त रस छ, तर साथ दिने कोही छैनन्।’

वसन्त पञ्‍चमीसँगै होली (फागु) पर्वको सन्देश छर्ने जोगिरा..(फागु गीत) अब सुनिन छाडेपछि धनुषा सहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ।

किनका के हाथ कनक पिचकारी,

किनका के हाथ अबीर झोरी ?

रामजी के हाथ में कनक पिचकारी,

सियाजी के हाथ अबीर झोरी‘!!

जोगिरा..सररर..!!’

(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला ? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला)

पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा सुनिन छाडेका छन्।

होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य ह्वात्तै घटेको पुराना होलिया बताउँछन्।

सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्त्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएकोमा पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले चिन्ता व्यक्त गरे।

ख्यालठट्टा गरिने नाताबीचका नवयौवना मात्र नभई होलियाबीच नै ठट्टा गर्ने नाता बीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन।

मिथिलाञ्चलमा वसन्तपञ्चमीदेखि होली गीत (जोगिरा) शुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबीर खेलेपछि होली पर्व मनाउन थालिने परम्परा छ।

जनकपुरधाम १२ का सतीश लाल कर्ण भन्छन्, ‘होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पीरति तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीतहरू आएकाले होलीमा माधुर्य र प्रेम भाव मिसिएको गीत विरलै सुन्न पाइन्छ ।’

दोहोरी गीत झै गाइने जोगिरा र होलीका गीतका कारण तराई मधेसका हरेक गाउँको वातावरणमा एक किसिमको रोनक छाएको हुन्थ्यो तर ती गीत भने अहिले लोप हुने अवस्थामा पुगेका छन् । भित्री ग्रामीण क्षेत्रमा कुनै कुनै गाउँ घरमा मात्र यस्तो जोगिरा सुन्न पाइन्छ।

क्षीरेश्वरनाथ-७ हरिहरपुरका रामलाल महतो भन्छन्, ‘होलीको पौराणिकता अब हराइसकेको छ । दिनहुँजसो हुने झै–झगडा, रागद्वेषको कारण होली गीत गाउन नै छाडिएको छ । होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ । अबको होली होली नभएर भोगवादी र शहरमुखी होली भएकाले यसको पौराणिकतासंँग जोडिएको होली गीत हराउँदै गइरहेको छ ।’

पहिले पहिले बूढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रूपमा होली गीत जोगिरा गाउने गरेको सखुवाबजारका सत्यनाराण साह बताउँछन् । अधिकांश युवा कामका लागि अरब कतार खाडी मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै धनुषाधाम नगरपालिकाका पर्वताका अमरलाल कर्ण भन्छन्, ‘अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यतापूर्ण अवस्थामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखापरेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।’

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै हराएर गएको छ ।

फागु पर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन् । पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । अब उच्छृङ्ल गीतका सिडी चक्का बजारमा बढी पाउन थालिएको छ । यस्तो गीतमा अश्लील शब्द बढी भएको सखुवाबजारका रामकृपाल जयसवालकोे भनाइ छ ।

मिथिलाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा ग्रामीण परिवेशको झल्को आउने भन्दै संरक्षणका लागि ध्यान दिनुपर्ने बताउँछन् संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडी । ‘पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप, सीताराम र शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलताजस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको छ ।’ कापडी भन्छन् ।

गाउँघरमा आजभोलि होलीका साँस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ ।

वसन्त ऋतुको आगमनसंँगसंँगै वसन्तोत्सव पर्वका रूपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुन थालेकाले यसको संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने संस्था अगाडि आएर यसको पौराणिकता र सांस्कृतिक महत्त्वलाई संरक्षण गर्नुपर्ने संस्कृतिविद् रमापति चौधरी बताउँछन्। होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकून् । होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासीजस्तो ।

तराई मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षणका लागि पछिल्लो केही वर्षदेखि जनकपुरधाम स्थित मिथिला नाट्य कला परिषद् (मिनाप) ले गाउँ-गाउँबाट होलिया झिकाएर जोगिरा प्रतियोगिता गराउने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved