नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दिउँसो बन्द नहुने

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दिउँसो बन्द नहुने
फाइल तश्वीर

चितवन। दिउँसोका समयमा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो ।

भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ बजेबाट ४ बजेसम्म सडक बन्द गरिएको थियो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार सवारी रोकेर पाँच ठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाड बाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ ।

तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएको जनाइएको छ । तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी रहेको छ ।

यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टीको भित्तो काट्ने काम अन्तिम चरणमा छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए ।

पाँच पुल निर्माणाधीन रहेका छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो ।

आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विष्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ । अनुमति पाएसँगै एक महिनामा विष्फोटक पदार्थ झिकाएर विष्फोट गराउने तयारी आयोजनाले गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved