बुटवलमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

नेपालभ्युज

बुटवलमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलवासमा बुधबार एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो ।

कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले पार्टीलाई बलियो बनाउन ग्रासरुट अभियानको थालनी गरिएको बताए । ‘एमाले तल्लो तहका कार्यकर्ताले जोगाएको पार्टी हो, यसमा अझै धेरैलाई जोड्न जरुरी छ’, उनले भने ।

पार्टी छोड्ने नेताले एमाले सकिन्छ भनेर सोच्ने गरेको बताउँदै नेता भट्टराईले यो अभियानले पार्टी झनै बलियो बन्ने दाबी गरे । राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझै प्रभावकारी बनाउन युवालाई पार्टीप्रति आकर्षण गर्न जरुरी रहेको उनले बताए ।

देश र जनताको हितलाई केन्द्रमा राखेर एमालेले नीति कार्यक्रम बनाएको बताउँदै नेता भट्टराईले यसबारे तल्लो तहका कार्यकर्तालाई जानकारी गराउन तथा राष्ट्रिय एकता र विकास निर्माणमा पार्टीले खेलेको भूमिकाबारे आम नागरिकलाई जानकार बनाउन अभियानलाई सफल पार्न आग्रह गरे ।

‘मुलुक इतिहासकै अप्ठ्यारो मोडमा छ, अहिले अन्तर्राष्ट्रिय शक्ति मिलेर हामीलाई एक्ल्याउन खोजेका छन् । प्रतिकूलतालाई अनुकूलतामा बदलेर अघि बढ्न पार्टीलाई सबैको साथ आवश्यक छ’, उनले भने ।

एमालेका पेलिट्ब्युरो सदस्य वैजनाथ चौधरीले पार्टी अराजकताको अन्त्य गरी पार्टीलाई सशक्त बनाउन अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘पहिले एक समयमा सिङ्गो मुलुकको हेडक्वाटर बुटवल थियो । यो ठाउँले धेरै दिग्गज नेता जन्माएको छ, यस्तो ठाउँमा सिन ग्रासरुटले अझै सकारात्मक प्रभाव पार्नेछु’, उनले भने ।

अभियानअन्तर्गत प्रदेश तथा जिल्लास्तरका पार्टीका नेताले वडादेखि पालिकास्तरसम्मका कार्यकर्तालाई प्रशिक्षण दिइनेछ । स्थानीय तह, सङ्घ र प्रदेश निर्वाचनमा हार ब्यहोर्नुको कारण र त्यसको कमीकमजोरीबारे पनि अभियानमा कार्यकर्तामाझ व्यापक छलफल गरी सुदृढीकरणमा जागरुक गराइने एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बताए ।

अभियानअन्तर्गत यही २० गते बुटवल उपमहानगरका–१९ वटै वडा र २८ गते उपमहानगरका दुई सय ९९ टोलमा अभिमुखीकरण गरिने नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।

यस्तै चैत १० गतेभित्र सदस्यता विस्तार तथा नवीकरण, १५ गतेसम्म भेला बैठक, २५ सम्म वैचारिक प्रशिक्षण तथा विकास र निर्माण र जनजीविकाका सम्बन्धमा छलफल, सहिद परिवार तथा विशिष्ट व्यक्तिलाई सम्मान, पत्रकार तथा बुद्धिजीवीसँग सुझाव सङ्कलन गरिनेछ । दुई महिने अभियानको अन्त्यमा गरेका कामको प्रतिवेदन सार्वजनिक गरिने छ ।

अभियान सफल बनाउन बुटवलमा ४० जना केन्द्र, प्रदेश र जिल्ला कमिटीका सदस्यका छनोट गरी जिम्मेवारी दिइएको छ । अभियान वैशाख ९ गते समापन हुनेछ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved