अब पनि काम गरेनौँ भने हामी सिद्धिन्छौँ –गगन थापा

एमाले अध्यक्ष ओलीले पुस २६ मा संसदमै उभिएर आफुले गरेको संसद विघटन सही थियो भन्न थालेपछि प्रतिगमन अझै झांगिँदै रहेछ भन्ने बुझेर प्रचण्ड र माधव नेपालसहित कांग्रेस नेतृत्व पनि पुरानै गठबन्धनमा अगाडि बढने अवस्था आएको थापाको तर्क छ।

अब पनि काम गरेनौँ भने हामी सिद्धिन्छौँ –गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस १० मा गठबन्धन भत्किनु र नेपाली राजनीतिमा ‘दुर्घटना’ निम्तिनुमा कांग्रेसबाहेक कसैको दोष नभएको बताएका छन् ।

चुनावअघि जनतासँग गरेको वाचा र सोहीअनुसार प्राप्त जनताको ‘म्यान्डेट’ लाई कांग्रेस नेतृत्वले बिर्सनु हुँदैनथ्यो भन्दै महामन्त्री थापाले दुई महिनापछि गठबन्धनका दलहरू फेरि एकै ठाउँमा आइपुग्नुले जनमतको कदर भएको बताए।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य रहेका थापाले आफ्नो ‘सांसद सम्पर्क कार्यालय’ उद्घाटन गरेपछि नेपाल भ्युजसँग भने–‘चुनावमा जाँदैमा हामी मिलेर चुनावमा आएका छौं, मिलेर सरकार चलाउँछौँ र मिलेरै देशको विकास गर्छौं भनेका थियौं । त्यसलाई बिर्सनै हुँदैनथ्यो।’

महामन्त्री थापाले चुनाव अगाडिको वाचा चटक्कै भुलेर त्यति धेरै महत्त्वाकांक्षी बन्ने छुट कसैलाई थिएन भन्दै दुर्घटनानजिक पुगेको राजनीतिलाई पुनः ट्रयाकमा ल्याउन सफल भएको पनि बताए। उनले कांग्रेसको गल्तीलाई ‘गल्ती नै होइन’ भन्ने छुट कसैलाई नभएको पनि बताए।

पुस १० को घटनामा कांग्रेस नेतृत्वको गल्ति भएको, तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिर र पदको लोभी भनेर दोषी देखाउन खोजिएकोमा उनले प्रतिवाद गरे। ‘एमाले समेतको गठबन्धन बन्नुमा प्रचण्डलाई दोष दिनुको अर्थ र औचित्य नै छैन’ उनले भने–‘सत्यलाई सत्य भनेर बोल्नुपर्छ, यसमा उहाँको कुनै गल्ती देख्दिनँ।’

महामन्त्री थापाले प्रधानमन्त्री हुनका लागि माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जे पनि गर्छन् भनेर आरोप लगाउनेहरू पनि रहेको तर, पछिल्लो घटनाक्रमले त्यसलाई पनि असत्य सावित गरेको बताए ।

‘यसमा पनि कुनै सत्यता छैन ।नयाँ गठबन्धन बन्दा उहाँहरू दुवैले के बढी पाउनुभयो त?–उनले प्रश्न गरे–‘नयाँ गठबन्धनमा भन्दा एमालेसँगै बस्दा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति माधव नेपाल हुने अवस्था थिएन र ?

एमाले अध्यक्ष ओलीले पुस २६ मा संसदमै उभिएर आफुले गरेको संसद विघटन सही थियो भन्न थालेपछि प्रतिगमन अझै झांगिँदै रहेछ भन्ने बुझेर प्रचण्ड र माधव नेपालसहित कांग्रेस नेतृत्व पनि पुरानै गठबन्धनमा अगाडि बढने अवस्था आएको थापाको तर्क थियो।

उनले विशेष परिस्थितिले फेरि एक ठाउँमा आइपुगेको भन्दै अब राजनीतिक घनचक्कर छाडेर पाँचै वर्ष यही गठबन्धनले देशलाई विकासको गतिमा अगाडि बढाउने बताए।

राजनीतिमा आफ्नाले गरेका ठूला गल्तीलाई पनि नदेख्ने र अर्काले गर्दै नगरेका गल्तीलाई गल्ती हो भन्नु बेइमानी भएको भन्दै सत्यलाई सत्य भन्न सक्नुपर्ने पनि बताए।‘आफ्नै पार्टी नेतृत्वलाई त अब बदल्नुपर्छ भनेर चुनाव लडेको व्यक्ति हुँ,म सत्यलाई सत्य हो भन्न छाड्दिन’ महामन्त्री थापाले भने–‘असत्य कुरालाई साथ दिनु अपराध हो, यस्तो अपराध कसैले नगरौं।’

जनतालाई वाचा गरेको कुरा बिर्सिन हुँदैन भन्ने बुझ्न दुई महिना लागेको भन्दै थापाले पुरानै गठबन्धन ब्युँतिनेमा कांग्रेस ढुक्क भएर बसेका कारण पार्टी सभापतिले कसैप्रति गालीगलौज र अमर्यादित टिप्पणी नगरेको समेत खुलाए।

‘अलिकति कांग्रेसको कमजोरी भयो र त्यसले पुस १० को दुर्घटना निम्त्यायोे’ उनले भने–‘निर्वाचनमा जाँदा एक्लै होइन गठबन्धन नै गर्ने भनेर जनताको छनोट गर्ने अधिकारलाई सीमित गरिसकेपछि हामीले त्यसको कदर गर्नुपर्थ्यो।’

एमाले अध्यक्षले भनेजस्तै गठबन्धन भत्काउन कांग्रेस हात धोएर लागेको कुरा पनि महामन्त्री थापाले स्विकारे । ‘सत्य त्यही हो, जे हुनुपर्थ्यो त्यो भयो। यो कुनै अँध्यारोमा भएको थिएन । खुल्ला आकाशमुनि बसेर खुल्लम खुल्ला बनाएको गठबन्धन हो’ उनले भने–‘यो भत्किनै पर्थ्यो भत्कियो, कुरा सकियो।’

उनले माओवादी अध्यक्ष प्रचण्डलाई हिम्मतवाला नेता भन्दै प्रशंसासमेत गरे। ‘अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री मात्रै हुने आशा र लोभ होइन है, हामीले त्यस्तो झुठ कुरा गर्न हुन्न सत्य बोल्नुपर्छ’ उनले थपे–‘यो गठबन्धन बन्नुमा प्रचण्डको हिम्मत र आँटको कदर गर्नुपर्छ। त्यसको लागि हामिले धेरै झुठ बोल्न पनि हुन्न।

प्रधानमन्त्री वा राष्ट्रपतिको लोभ थियो भने यो गठबन्धनमा आउनैपर्ने थिएन। यो सत्य हो।’ महामन्त्री थापाले वर्तमान गठबन्धनले विकास र समृद्धि दिन सकेन भने अगाडिको बाटो सहज नभएको समेत बताए।

‘बाटो सहज छैन भन्ने बुझेर अगाडि बढ्नुपर्छ’ उनले भने–‘केन्द्र र प्रदेशमा गठबन्धनको सरकार बनेपछि पनि जनतालाई निराश बनायौँ र काम गर्न सकेनौं भने ख्याल होइन,साँच्चै हामी सिद्धिन्छौँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved