राष्ट्रपतिमा कसको ‘ढोक्सा’ रित्तो होला ?

राष्ट्रपतिमा कसको ‘ढोक्सा’ रित्तो होला ?

काठमाडौं। ‘ढोक्सा’ अर्थात् माछा मार्न प्रयोग गरिने ढडिया। नेपालमा ढडिया थापेर माछा मार्ने चलन धेरै पुरानो हो। तर, नेपाली राजनीतिमा पुस २६ गतेदेखि ढडिया ‘ढोक्सा’ बनेर आयो।

नेपाली शब्दकोषमा भएका र बोलीचालीमा प्रयोग हुने उखान टुक्कालाई समय सन्दर्भ मिलाएर मिठासपूर्ण अभिव्यक्ति दिन माहिर मानिएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७९ पुस २६ गते ‘ढोक्सा’लाई नेपालको संघीय संसदमा भित्र्याइदिए।

पुस १० मा कांग्रेसबाट छुटाएर आफूले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बेलामा नेपाली कांग्रेसले समेत समर्थन गरेपछि ओलीले त्यतिबेलै कांग्रेसले पक्कै राष्ट्रपतिमा ‘ढोक्सा’ थापेको अर्थमा बुझे। उनले रोस्ट्रमबाटै भने ‘यो समर्थन कुनै ‘जाल’ वा ‘ढोक्सा’ होइन भने स्वागत छ, यदि ‘ढोक्सा’ हो भने माछा नभएको खोलामा जाल फ्याँकेजस्तै हुनेछ।’

एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डलाई कांग्रेससँग हिमचिम नबढोस् भनेर ओलीले भनेका थिए–‘पानीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन। त्यो ‘ढोक्सा’ रित्तै हुनेछ।’ तर अहिले ‌‌ओली आफै‌ं पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई लिएर ‘ढोक्सा’ थाप्न आईपुगेका छन्।

ओलीले कांग्रेसको ढोक्सामा माछा पर्नेवाला छैन भनेको ४५ दिनपछि नै नेपाली कांग्रेसले राष्ट्रपतिको लागि ‘ढोक्सा’ थाप्यो। आठ दल सहभागी गठबन्धनको समेत साथ लिएर नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनायो।

ओलीका उम्मेदवार पार्टी उपाध्यक्ष सुवास नेम्वाङसँग कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भिडाउने टुङ्गो लाग्यो। दुवै नेताले राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता गराए। अहिलेसम्मको अवस्था हेर्दा ओलीले भने जस्तै कांग्रेसले थापेको ‘ढोक्सा’मा माछा पर्नेवाला छ । ओलीको ‘ढोक्सा’ रित्तै हुने अवस्था देखिन्छ। यसको छिनोफानो फागुन २५ मा हुनेछ।

पुस २६ मा बोलेको ओलीको त्यै बोलीमा प्रतिवाद गर्दै कांग्रेसले राष्ट्रपति निर्वाचनमा ‘ढोक्सा थाप्छौं’ भन्यो र थाप्यो पनि। एमालेले रबर स्ट्याम्प राष्ट्रपति ल्याउन खोजेको भन्दै संसदबाटै ‘ढोक्सा’ थाप्ने चुनौती दिएका सांसद प्रदीप पौडेलले आफ्नै राजनीतिक गुरु रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार कायम गराउन सफल भए।

अब परिस्थिति फेरिएको छ । सरकार गठनको ६१ दिन पनि प्रधानमन्त्री प्रचण्डलाई आफ्नो ‘ढोक्सा’मा राख्न नसकेको एमाले आफैं राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्ने ठाउँमा पुगेको छ। कांग्रेसलाई ढोक्सा लिएर संसदमा आएको देख्ने ओलीले शनिबार संघीय संसद् भवन परिसरमा रहेको राष्ट्रपति निर्वाचन कार्यालयमा उभिएर राष्ट्रपतिमा ‘ढोक्सा’ थापेका छन्। जसका लागि उनले १७ वटा चिठ्ठी लेखेर मत मागेका छन्। नेपाली कांग्रेस बाहेक सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेरै ओलीले सुवासको ‘ढोक्सा’ मा मत मागेपछी परिस्थिति बदलिएको हो ।

फागुन २५ गते यदि एमाले उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति निर्वाचित भए भने एमालेको ‘ढोक्सा’ काम लाग्ला। तर, ढोक्सा रित्तै भयो भने फेरि अर्को ‘ढोक्सा’ लिएर ओली आफैँ संसद भवन पुग्नेछन्। राष्ट्रपतिमा ढोक्साले काम नगरे ओलीले फेरि नयाँ गठबन्धन बनाउन पक्कै अर्को ढोक्सा ल्याउन सक्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved