बर्जु गाउँपालिकामा दादुरा फैलियो, एकसाथ १० हजार बालबालिकालाई खोप लगाइँदै

नेपालभ्युज

बर्जु गाउँपालिकामा दादुरा फैलियो, एकसाथ १० हजार बालबालिकालाई खोप लगाइँदै

धरान। सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ ।  दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन् । बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो ।

हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन् । जसमध्ये केही वयस्क व्यक्तिसमेत रहेका छन् । योसँगै गाउँपालिकाको एकै स्थानमा एकसाथ ५ जना बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपतकालीन कार्य योजना अघि बढाएको छ ।

प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकायसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुरा बिरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए ।

उनले दादुरा अति संक्रमित रोग भएकाले एउटै क्षेत्रमा पाँच जना पुष्टि भए यसलाई महामारीको रूपमा लिइने बताए । उनले यसलाई रोक्नका लागि ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई अघि सारेको बताए ।

हाल २९ जना पोजेटिभ केस फेला परिसकेको बर्जुमा थप केही शंकास्पद केस परीक्षणको क्रममा रहेकाले संख्या थप बढ्नसक्ने स्वास्थ्य कार्यालय सुनसरीको अनुमान छ।

दादुरा तीव्र संक्रमण फैलने र जटिल प्रकृतिको रोग भएकाले फैलन नदिन रोकथामका सबै उपाय अविलम्ब अवलम्बन गर्न लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडाहरूमा फागुनको १६ गतेबाट एकसाथ दादुरा विरुद्धको खोप अभियान सञ्चालनमा ल्याइनेछ ।

अभियानमा ६ महिनादेखि १५ वर्ष सम्मका बालबालिकाहरूलाई दादुराविरुद्धको खोप लगाउने गरी तयारी थालिएको कार्यालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved