अस्थिर राजनीति – दुई महिनामा तीन सम्बन्ध, दुई सम्बन्धविच्छेद !

कांग्रेसले धोका दिएको भन्दै १० पुसमा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा सहयोग माग्न पुगेका प्रचण्डले फेरि एमालेलाई धोका दिँदै अर्को गठबन्धन बनाउन पुगेका छन् ।

अस्थिर राजनीति – दुई महिनामा तीन सम्बन्ध, दुई सम्बन्धविच्छेद !

काठमाडौं। दलहरूबीच राष्ट्रपति उम्मेदवारको विषय पेचिलो बन्दै गएपछि फेरि अर्को अस्थिरता देखिएको छ । दुई महिनाअघि नेकपा एमालेको नेतृत्वमा वर्तमान सत्ता गठबन्धन बनाउँदा भएको सहमतिबाट माओवादी केन्द्र पछि हटेपछि फेरि अर्को समीकरण बनेको हो।

१० पुसमा नेकपा एमाले नेतृत्वको वर्तमान गठबन्धन बनेको थियो। नेपाली कांग्रेसले प्रधानमन्त्री नदिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग मिल्न पुगेका थिए। तर २ महिना लगत्तै गठबन्धन भत्किएको छ।

केही दिनयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरूको आउजाउ बाक्लो थियो। कूटनीतिक चहलपहल उत्तिकै बाक्लियो। शीर्ष नेताहरूको दौडधुप चर्को बन्यो। एक दलले अर्काेसँग बार्गेनिङ गर्नेदेखि विभिन्न प्रस्ताव लिएर जाने आउने क्रम चलिरह्यो । परिणामतः नेकपा (एमाले) को नेतृत्वमा बनेको वर्तमान सत्ता गठबन्धन भत्कियो। यसपछि कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन तयार भएको छ।

नयाँ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सामेल हुने निश्चित भइसकेको छ। त्यसबाहेक राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि यही गठबन्धनमा आउने नेताहरूको दाबी छ।

राष्ट्रपति चुनावलाई लिएर एमाले र माओवादी केन्द्रबीच सुरू भएको विवादका कारण अन्ततः गठबन्धन भङ्ग भयो। नयाँ गठबन्धनमा तत्कालका लागि शक्ति बाँडफाँटसमेत भएको छ। राष्ट्रपति कांग्रेसले पाएको छ । जनता समाजवादी पार्टी (जसपा) लाई दिने भनिएको छ ।

चुनावमा तेस्रो बनेको माओवादी केन्द्र राष्ट्रिय राजनीतिको केन्द्रमा छ। वर्तमान सत्ता गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुरानो गठबन्धन र नयाँ गठबन्धनसँग समानान्तर छलफलमा थिए। यो साताभर नेताहरू घरी बालुवाटार त घरी प्रधानमन्त्री कार्यालयमा छलफलमा बसे।

बन्यो नयाँ गठबन्धन : कांग्रेसलाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति, माधव नेपाललाई १ वर्ष प्रधानमन्त्री

८९ सिट जितेको नेपाली कांग्रेस र ७९ सिट रहेको एमाले कसैसँग पनि सरकार निर्माण र राष्ट्रपति चयनको लागि पुग्ने मत छैन। प्रत्यक्ष र समानुपातिकमा जम्माजम्मी ३२ सिट जितेको माओवादी गठबन्धन बनाउने र भत्काउन निर्णायक बनेको छ । फलत् सत्तारुढ गठबन्धन बनेको दुई महिनामै धरापमा परेको छ। दुई महिनामा तीनपटक गठबन्धन र दुईपटक सम्बन्धविच्छेद हुने अवस्थाको संघारमा राजनीति पुगेको छ।

पुस १० मा कांग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय सत्ता गठबन्धन भत्काएर एमाले नेतृत्वमा नयाँ गठबन्धन बनाउने सूत्रधार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। कांग्रेससँग मिलेर एमालेलाई किनारा लगाउने अभ्यास सुरु गरेका प्रचण्डले पछि एमालेसँग मिल्दै कांग्रेसलाई पाखा लगाए।

आफू प्रधानमन्त्री बन्ने बेलामा एमालेलाई राष्ट्रपति चुनावमा सघाउने सहमतिबाट पछि हट्दै प्रचण्डले फेरि कांग्रेससँग सम्बन्ध बनाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल प्रधानमन्त्रीमा अडान नछाडेपछि माओवादी अध्यक्ष प्रचण्डले नयाँ सत्ता समीकरण बनाएका थिए। राष्ट्रपति निर्वाचनका कारण त्यो पनि भत्किएको छ।

कांग्रेसले धोका दिएको भन्दै १० पुसमा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा सहयोग माग्न पुगेका प्रचण्डले फेरि एमालेलाई धोका दिँदै अर्को गठबन्धन बनाउन पुगेका छन् ।

एमालेका नेताहरू भन्छन् ‘‘कांग्रेससँगको इगोले गर्दा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाए। एकाएक नयाँ गठबन्धन निर्माण भयो। त्यसक्रममा एमाले र माओवादीबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो। सारा मिडियाले सो सहमतिबारे समाचार प्रकाशित गरेका थिए, तर अहिले माओवादी नेताहरू त्यस्तो सहमति नै नभएको दाबी गर्दै अर्को गठबन्धन निर्माण गर्ने खेलमा लागे।’’

एमालेका कतिपय नेता भने अहिले जुटेको सहमतिमा पुनरावलोकन गरेर भए पनि सत्ता गठबन्धन जोगाउनुपर्ने पक्षमा छन्। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भन्छन् ‘‘अहिले गठबन्धनका सबै दल लचिलो बन्नुपर्छ। पहिले विश्वासको संकटकै कारणले बिग्रिएको सम्बन्ध विश्वासकै वातावरण बनाएर जोडिएको छ। यो विश्वास कायम राख्नुपर्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved