कम्युनिस्ट घोषणापत्रको १७५ वर्ष

मानव इतिहासकै शक्तिशाली दस्तावेज : मार्क्स, एंगेल्सका अनुमान कति मिले, कति फेल ?

विश्व कम्युनिस्ट आन्दोलनका सामु महत्त्वपूर्ण प्रश्न खडा भएको छ– यसको अभ्यास मात्रै असफल भएको हो कि सैद्धान्तिक प्रस्तावनामै खोट थियो ? 

मानव इतिहासकै शक्तिशाली दस्तावेज : मार्क्स, एंगेल्सका अनुमान कति मिले, कति फेल ?

काठमाडौं । यो हप्ता विश्व कम्युनिस्ट आन्दोलनको आधारशीला ‘कम्युनिस्ट घोषणापत्र दिवस’ थियो । अर्थात् फेब्रुअरी २१ कम्युनिस्ट घोषणापत्र दिवस । सन् १८४८ फेब्रुअरी २१ मा कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’ पहिलोपटक लन्डनबाट प्रकाशित भएको थियो ।

‘कम्युनिस्ट घोषणापत्र’ संसारमा सबैभन्दा धेरै प्रकाशित, अनुदित र पढिएको एक शक्तिशाली वैचारिक दस्तावेज मानिन्छ । ‘कम्युनिस्ट लिग’ नामक एक संगठनको वैचारिक आधारपत्रका रुपमा जर्मन दार्शनिक तथा चिन्तकद्वय कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सले यो घोषणापत्र लेखेका थिए ।

यसको मूलप्रति जर्मन भाषामा लेखिएको थियो । प्रारम्भमा जम्मा २३ पेजमा छापिएको यो पुस्तिका प्रकाशनका तीन संस्करणपछि कार्ल मार्क्सले पुनरावलोकन गरेका थिए । फेब्रुअरी २१ मा पहिलोपटक छापिएको घोषणापत्र अप्रिलसम्म हजारौंप्रति विकेका थिए । मेमा चौथो संस्करण प्रकाशित गर्दा ३० पेजको बनाइएको थियो ।

यसको पहिलो अनुवाद स्विडिस भाषामा भएको थियो भने दोस्रो अंग्रेजीमा । अंग्रजी भाषाका प्रथम अनुवादका जर्ज जुलियन हर्ने थिए । उनी बेलायती पत्रकार तथा चार्टिस्ट आन्दोलनका नेता थिए ।

त्यसपछि यसको अनुवाद संसारका कति भाषामा भयो, कति संस्कारण प्रकाशित भयो, अहिलेसम्म कति प्रति बिके वा वितरण गरिए, संसारका कति मान्छेले यसलाई पढे तथ्यांकमा भन्न सकिन्न । तर, विश्वास गरिन्छ कि यो संसारमै सर्वाधिक धेरै पढिएको पुस्तकमध्ये एक हो ।

बोल्सेभिक नेता ब्लादिमिर इल्युच उल्यानोव अर्थात् लेनिनले यसको रुसी अनुवाद गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले यसको पहिलो नेपाली अनुवाद । लेनिन र पुष्पलालको जीवनमा एक बेजोडको संयोग थियो । दुवै शहीदका भाइ थिए । लेनिन रुसी शहीद अलेक्सेन्द्रका भाइ थिए भने पुष्पलाल गंगालाल श्रेष्ठका ।

कम्युनिस्ट घोषणापत्रको मुख्य नारा हो– विश्वभरिका श्रमिकहरू एक हौं । सन् १८४१ मा प्रकाशित लुडविक फायरबाखको एक किताब थियो–इसेन्स अफ क्रिश्चियानिटी । त्यसको एक वाक्य थियो– मानव जातिको आजसम्मको इतिहास धर्म–युद्धको हो । कम्युनिस्ट घोषणापत्रमा कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सले त्यो बाक्यलाई यसरी उल्ट्याइदिएका थिए– मानव जातिको आजसम्मको इतिहास वर्ग–संघर्षको हो ।

यो घोषणापत्र लेख्दा मार्क्स र एंगेल्स फायरबाखसँग अर्का चर्चित जर्मन दार्शनिक हिगेलबाट प्रभावित थिए । उनीहरूले फायरबाख र हिगेलको तर्क पद्धतिलाई अनुशरण गरे पनि उनीहरूको वैचारिक सारतत्वलाई आलोचना गरेका थिए ।

त्यसो त कम्युनिस्ट घोषणापत्रको लेखनमा फ्रेडरिख एंगेल्सको योगदान थियो कि थिएन ? यो कार्ल मार्क्सको मात्रै योगदान भएको दस्तावेज हो कि भन्ने आशंका गर्ने गरिन्छ । कम्युनिस्ट लिगको घोषणापत्र समितिमा एंगेल्स पनि भएको हुँदा उनलाई सहलेखकको ‘क्रेडिट’ दिइएको तर्क गर्नेहरू पनि थिए । कतिपय भने यस्तो तर्क गर्नु फ्रेडरिख एंगेल्सको ऐतिहासिक योगदानको अपमान ठान्दछन् । यसको लेखनमा जम्मा ७ हप्ता लागेको थियो ।

यो घोषणापत्र लेख्दा मार्क्स र एंगेल्स फायरबाखसँग अर्का चर्चित जर्मन दार्शनिक हिगेलबाट प्रभावित थिए । उनीहरूले फायरबाख र हिगेलको तर्क पद्धतिलाई अनुशरण गरे पनि उनीहरूको वैचारिक सारतत्वलाई आलोचना गरेका थिए । कतिपय ‘वर्ग–संघर्षको सिद्धान्त’ लाई कम्युनिस्ट घोषणापत्रको सारतत्व मान्दछन् । तर, स्वयं कार्ल मार्क्सले यस्तो तर्कलाई अस्वीकार गरेका थिए ।

सन् १९५१ मा जे.वेमेडियरलाई लेखेको एक पत्रमा कार्ल मार्क्सले भनेका थिए–‘वर्ग–संघर्षको सिद्धान्त प्रतिपादन गर्नुमा मेरो कुनै योगदान छैन । यो काम त मभन्दा अघिका धेरै बुर्जुवा चिन्तकले नै गरिसकेका थिए । मेरो विचारको सार वर्ग–संघर्षको ऐतिहासिक प्रक्रियामा सबैभन्दा पछिल्लो र क्रान्तिकारी वर्गका रूपमा कसरी सर्वहारा वर्गको उदय भयो र यो वर्गको भूमिकाले सर्वहारा क्रान्ति, समाजवादी राज्य, सर्वहारा वर्गको अधिनायकत्व र वर्गविहीन समाजको स्थापना कसरी अपरिहार्य हुन्छ भन्ने देखाउनु हो ।’

अर्थात् कार्ल मार्क्स– युरोपेली औधोगिक क्रान्तिपछि उदय भएको कारखाना मजदुर वर्गलाई सर्वहारा भन्दथे । त्यो वर्गले गर्ने संघर्ष अन्ततः वर्गविहीन समाज अर्थात् साम्यवादसम्म पुग्दछ भन्ने विश्वास गर्दथे । साम्यवाद भनेको के हो भन्ने प्रश्नमा मार्क्सले भनेका थिए– एक शब्दमा भन्नुपर्दा साम्यवाद भनेको निजी सम्पत्ति विनाको समाज हो । अर्थात् मार्क्स मानव जातिका सबै दु:खको मुख्य कारण निजी स्वामित्वलाई मान्दथे ।

जुन दिन निजी स्वामित्वको अन्त्य हुन्छ, त्यो दिन वर्ग र वर्गसंघर्षको अन्त्य हुन्छ, मान्छे साम्यवादमा पुग्छ, साम्यवादमा शोषणको अन्त्य हुन्छ र मान्छे सुखी हुन्छ भन्ने उनको विश्वास थियो । उनले समाजवाद र साम्यवादबीच यसरी भिन्नता गरेका थिए– योग्यताअनुसारको काम, कामअनुसारको दाम समाजवाद हो, योग्यताअनुसारको काम, आवश्यकता अनुसारको दाम साम्यवाद हो । अर्थात् मार्क्सको विचारमा समाजवाद भनेको मानव समाज विकासको पूर्णंचरण हैन । त्यो पुँजीवादबाट साम्यवादतिर जाने संक्रमणकालीन अवस्था मात्रै हो।

उनले मानव समाजको विकास क्रमलाई ५ युगमा बाँडेका थिए। आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग र वैज्ञानिक साम्यवादी युग । पुँजीपति वर्गका लागि उनले प्रयोग गर्ने प्रिय शब्द ‘बुर्जुवा वर्ग’ थियो ।

उनको विचारमा ‘बुर्जुवा वर्ग’ र ‘सर्वहारा वर्ग’ बीचको संघर्ष नै पुँजीवादी युगको मुख्य संघर्ष हो । यो संघर्षमा सर्वहारा वर्गले गुमाउने भनेको आफ्नै हातखुट्टाका हत्कडी र नेल मात्रै हुन, पाउन भने सिंगो संसार हुन्छ ।
कार्ल मार्क्सले मध्यम वर्गलाई पेटी बुर्जुवा वर्गको संज्ञा दिएका थिए । यो वर्ग अवसरवादी र ढुलमुले हुने हुँदा भिन्नै अस्तित्व नहुने उनको धारणा थियो ।

मार्क्सको विचारमा मूल्यको सिर्जना श्रम घन्टाबाट हुन्छ । बुर्जुबा वर्गले सर्वहारा वर्गलाई केही अतिरिक्त घन्टा काम गराउँछ । त्यसको भने ज्याला दिँदैन । त्यसले अतिरिक्त मूल्य सिर्जना गर्दछ । त्यो नै शोषण हो । तसर्थ शोषणको अन्त्य गर्न अतिरिक्त मूल्य र अतिरिक्त श्रम घन्टाको अन्त्य गर्नुपर्ने हुन्छ ।

संसारको पहिलो कम्युनिस्ट विद्रोह सन् १८७१ को पेरिस कम्युनलाई मानिन्छ, जहाँ कम्युन विद्रोहीले ७२ दिन फ्रान्सको राजधानी पेरिस कब्जा गरेका थिए । तथापि, यो एक दीगो क्रान्ति र राज्य व्यवस्था भने बन्न सकेन ।

यसरी कम्युनिस्ट घोषणापत्रले साम्यवादी विचारधाराको आधारशील तयार गरेको थियो र यो आन्दोलन विश्वको एक ठूलो वैचारिक तथा राजनीतिक आन्दोलन बन्न पुग्यो । संसारको पहिलो कम्युनिस्ट विद्रोह सन् १८७१ को पेरिस कम्युनलाई मानिन्छ, जहाँ कम्युन विद्रोहीले ७२ दिन फ्रान्सको राजधानी पेरिस कब्जा गरेका थिए । तथापि, यो एक दीगो क्रान्ति र राज्य व्यवस्था भने बन्न सकेन ।

विश्वको पहिलो कम्युनिस्ट क्रान्ति सन् १९१७ मा रुसमा भयो । यसले स्थापना गरेको राज्यसत्ता सन् १९९१ सम्म ७४ वर्ष चल्यो । सन् १९२३ मा लेनिनले रुसमा केही रुसी साम्राज्यका देश मिसाएर सोभियत संघ बनाए । सन् १९९१ मा पतन हुनुअघि यो संसारका दुई महाशक्तिमध्ये एक मानिन्थ्यो ।

दोस्रो विश्वयुद्धपछि पूर्वी तथा मध्य युरोपमा साम्यवादी विचार र आन्दोलनको व्यापक प्रभाव पर्‍यो । हंगेरी, पोलैन्ड, पूर्वी जर्मनी, अल्बानिया, रुमानिया, सर्बिया, युगोस्लाभिया जस्ता दर्जनौं मुलक साम्यवादी शासन व्यवस्थाबाट शासित भए । सन् १९८९–९१ को क्रान्तिले ती सबै पतन भए ।

संसारमा विरलै त्यस्ता देश होलान्, कम्युनिस्ट घोषणापत्र प्रकाशित भए यता त्यसमा आधारित भएर साना वा ठूला कम्युनिस्ट पार्टी गठन नभएका हुन् । भनिन्छ– आज अस्तित्वमा भएका ४६ मुलुकमा त कम्युनिस्ट शासन विधिवत स्थापना भएको थियो । अरब जगतका बाथ पार्टीहरू इस्लामिक संसारका कम्युनिस्ट पार्टी नै थिए । इराक, सिरिया लगायतका त्यस्ता देशको संख्या जोड्दा ५० बढी देशमा कम्युनिस्ट शासन स्थापना भइसकेको थियो भन्नुपर्ने हुन्छ ।

त्यस्ता देशमा अफ्रिकी महादेशका तान्जानिया र इथियोपियादेखि दक्षिण एसियाको अफगानिस्तानसम्म थिए । तर, आज विश्वका ५ वटा देशमा मात्र साम्यवादी शासन बाँकी छ–चीन, उत्तर कोरिया, क्युवा, भियतनाम र लाओस । त्यो पनि फरक शैलीमा ।

संसारमा एकपटक यति शक्तिशाली भइसकेको विचारधारा, राज्य व्यवस्था र राजनीतिक प्रणाली फेरि किन कमजोर हुँदै गयो ? यो आफैँमा एक ठूलो प्रश्न बनेको छ । यसबारे विश्वव्यापी बहस जारी छ ।

नेपालबाहेक दक्षिण एसियामा भारत र श्रीलंकामा बलिया कम्युनिस्ट पार्टी थिए, तर ती पनि कमजोर भएका छन् । भारतका तीन राज्य– पश्चिम बंगाल, केरला र त्रिपुरामा लामो समय कम्युनिस्ट पार्टीको सरकार चलेका थिए । तीमध्ये अहिले केरला मात्र बाँकी छ ।

दक्षिण एसियाली मुलुकमा पनि नेपाललाई छोडेर अरु सबै जसो देशमा कम्युनिस्ट पार्टीहरू कमजोर भएका छन् । करिब १४ वर्ष सत्तामा रहेको अफगानिस्तानको कम्युनिस्ट पार्टी ‘पड्पा’ आज अस्तित्वमा नै छैन । पाकिस्तान, बंगलादेश र भुटानमा कम्युनिस्ट पार्टी खासै बलियो कहिल्यै भएनन् ।

नेपालबाहेक दक्षिण एसियामा भारत र श्रीलंकामा बलिया कम्युनिस्ट पार्टी थिए, तर ती पनि कमजोर भएका छन् । भारतका तीन राज्य– पश्चिम बंगाल, केरला र त्रिपुरामा लामो समय कम्युनिस्ट पार्टीको सरकार चलेका थिए । तीमध्ये अहिले केरला मात्र बाँकी छ ।

यो वर्ष कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको १७५ वर्ष पूरा भएको छ। कम्युनिस्ट आन्दोलन बीसौं शताब्दिको सबैभन्दा बलियो आन्दोलन थियो । तर, एक्काइसौं शताब्दि कम्युनिस्ट विचार, पार्टी शासनहरूका लागि किन सुखद रहेन, त्यसको भिन्नै विश्लेषण हुनुपर्ने छ ।

सर्वाधिक महत्त्वपूर्ण प्रश्न त यही हुन्छ कि कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सले गरेका सैद्धान्तिक अनुमान त्यसपछिका दिनमा कति सही सावित भए वा भएनन् ? त्यसो त विश्व कम्युनिस्ट आन्दोलनका सामु अर्को महत्त्वपूर्ण प्रश्न खडा भएको छ– यसको अभ्यास मात्रै असफल भएको हो कि सैद्धान्तिक प्रस्तावनामै खोट थियो ?

यी प्रश्नमा बहस, छलफल हुँदै जालान्। तर, सर्वस्वीकार्य तथ्य हो– कम्युनिस्ट घोषणापत्र मानव जातिको इतिहासमा एक सर्वाधिक शक्तिशाली दस्तावेज हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved