अन्तरवार्ता

राष्ट्रपतिका लागि महन्थ ठाकुरभन्दा उपयुक्त पात्र अरु छैनन् : केशव झा

'मधेसवादी दल एक ठाउँमा उभिन सक्छन्'

काठमाडौं । राष्ट्रिय राजनीति राष्ट्रपतीय निर्वाचनकै वरिपरि घुमिरहेको छ । दलहरु आफ्नो उम्मेदवार राष्ट्रपति बन्नुपर्ने अडानबाट टसमस भएका छैनन् ।

त्यही पङ्क्तिमा थपिएका छन्, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर । ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने माग राख्दै लोसपा नेताहरूले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूलाई भेटेका छन् । उनीहरूले सकारात्मक कुराकानी गरेको भनाइ नेताहरूको छ ।

त्यसो त नेताहरू राष्ट्रपतिका लागि महन्थ ठाकुरभन्दा उपयुक्त पात्र नभएको जिकिर गर्छन् । उसो त प्रतिनिधि सभामा ४ सिट भएको लोसपाले किन राष्ट्रपतिमा दाबी गरिरहेको छ ? के उसले राष्ट्रपति पाउन सक्छ ? ठाकुरमाथि राष्ट्रिय सहमति जुट्ने अवस्था कति ? प्रमुख दलहरूका नेताहरूले के प्रतिक्रिया दिइरहेका छन् ? यी नै विषयहरूका बारेमा लोसपा कार्यकारिणी सदस्य केशव झासँग कुराकानी गरेका छौँ ।

‘राष्ट्रपतिका लागि महन्थ ठाकुरभन्दा उपयुक्त पात्र कोही छैन’

झा राष्ट्रपतिका लागि महन्थ ठाकुर नै उपयुक्त पात्र भएको जिकिर गर्छन् । ‘वर्तमान अवस्थामा राष्ट्रपतिभन्दा उपयुक्त पात्र महन्थ ठाकुर नै हुन् । उहाँभन्दा उपयुक्त पात्र अरु कोही छैनन्,’ झा भन्छन् ।

राजनीतिकरूपमा गरेको महन्थ ठाकुरको त्याग प्रशंसनीय रहेको जिकिर झाको छ । ‘उहाँ कहिल्यै राजनीतिक लाभको पदमा जानुभएन । आफ्नो हातमा हुँदा पनि त्याग गर्नुभयो । फेरि उहाँ विषयविज्ञ नेता पनि हुनुहुन्छ, प्राप्त उपलब्धिहरूमा पनि उहाँको ठूलो योगदान छ,’ उनले भने, ‘त्यसैले पनि उहाँ राष्ट्रपतिका लागि वास्तविक र सही पात्र हुनुहुन्छ ।’

त्यसअघि उनले भने, ‘अहिले जो चर्चामा हुनुहुन्छ, उहाँहरूभन्दा कैयन् गुणा उपयुक्त पात्र हुनुहुन्छ महन्थ ठाकुर । अहिलेको अवस्थामा संविधानको उपयुक्त संरक्षक महन्थ ठाकुर नै हो ।’

‘ठूला दलहरूको गुण तिर्ने बेला हो’

झा विगत दिनमा आफूहरूले ठूला दलहरूलाई कैयन् गुण लगाएको र अब उनीहरूको गुण तिर्नेबेला भएको बताउँछन् । ‘हामीले ठूला दलहरूलाई कैयन् गुण लगाएका छौँ । अब उहाँहरूले त्यसको गुण तिर्ने बेला भएको छ,’ उनी भन्छन् ।

‘१२ बुँदे समझदारी गराउनका लागि महन्थ ठाकुरको ठूलो भूमिका थियो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउनका लागि पनि ठूलो योगदान गर्नुभएको छ । कांग्रेसको तर्फबाट पहिले गणतन्त्र भनेर बोल्ने नेता पनि उहाँ नै हुनुहुन्थ्यो । यसबीचमा कांग्रेसलाई कति गुण लायौँ, एमालेलाई त सबैले साथ छाडेको बेलामा हामी उसको साथमा बसेकै हौँ । अब यी सबै गुणहरूको गुण उहाँहरूले तिर्नुपर्छ,’ त्यसअघि झाले भनेका छन् ।

त्यसो त प्रमुख दलका नेताहरूले सकारात्मक प्रतिक्रिया दिएको बताउँछन् उनी । यसबीचमा लोसपा नेताहरूले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरूलाई नेताहरूलाई भेटेका छन् । उनीहरूले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए ।

‘राष्ट्रपति निर्वाचन सिट सङ्ख्याले धेरै मान्य राख्दैन’    

झा राष्ट्रपतीय निर्वाचनमा सिट सङ्ख्यामात्रै सबै कुरा नभएको बताउँछन् ।

लोसपासँग प्रतिनिधि सभामा ४ सिट छ । प्रतिनिधि सभामा ४ सिट हुँदा पनि राष्ट्रपतिमा दाबी गर्नुभयो, यो कसरी ? भन्ने प्रश्नमा उनले भने, ‘सिट सङ्ख्यामात्रै सबै कुरा होइन, राष्ट्रिय सहमतिको कुरा हो । त्यसमा ठूला दलहरूले राम्रै प्रतिक्रिया दिएका छन् ।’

त्यसअघि भनेका छन्, ‘२०६५ सालमा संविधान सभाको चुनाव हुँदा कांग्रेसले कति, एमालेले कति सिट जितेको थियो र ? अनि हामी कति ठूलोरूपमा आएका थियौँ ? त्यसबेला हामीले सिट सङ्ख्यालाई मात्रै ठूलो बनाएनौँ । त्यसैले राष्ट्रपतिमा सिट सङ्ख्यामात्रै ठूलो होइन ।’

राष्ट्रिय राजनीतिमा देखिएको दाउपेच र खिचातानीलाई हेरेर आफूहरूले मध्यमार्गी बाटो रोजेको बताउँछन् झा । ‘कांग्रेसलाई एमालेले र एमालेले कांग्रेलाई स्वीकार गर्ने अवस्था छैन । यस्तो अवस्थामा हामीले मध्यमार्गी बाटो रोजेका हौँ । हामीले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई कैयन् पल्ट गुण लगाएका छौँ । अब उहाँहरूले गुण तिर्नेबेला हो । अहिले राजनीतिक खिचातानीको रूपमा हेर्दा उहाँ एउटा साझा उम्मेदवार हुन सक्नुहुनेछ,’ उनले भने ।

‘मधेसवादी दलहरू एकठाउँमा उभिनसक्छन्’

झा मधेसमा सक्रिय दलहरू एकठाउँमा उभिनसक्ने बताउँछन् । ‘मधेसमा रहेका दलहरूबीच एकता हुँदै हुँदैन भन्नेचाहिँ छैन । तर, तत्कालका लागि त्यो अवस्था देखिँदैन,’ उनले भने ।

त्यसअघि उनले भने, ‘त्यसअघि हाम्रा नेताहरूमा एकताको महत्त्व बुझ्नसक्ने क्षमता देखिँदैन ।’

तर कार्यगत एकताको लागि भने आफूहरू तत्कालै तयार रहेको बताएका छन् । ‘कार्यगत एकताका लागि भने हामी अहिल्यै पनि तयार छौँ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved