महाधिवेशन अगाडि नै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान फुटको संघारमा

अध्यक्षमा पशुपति र रीता आकांक्षी

नेपालभ्युज

महाधिवेशन अगाडि नै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान फुटको संघारमा

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा प्रतिष्ठानमा फुटको संकेत देखिएको छ । यसअघि, अध्यक्षमा प्रतिस्पर्धा गरेका विष्णु खत्रीले नयाँ संस्था खोलेर प्रतिष्ठानलाई अगाडि बढाउने भएका छन्।

प्रतिष्ठानका सल्लाहकार बमबहादुर कार्की र पूर्व महासचिव खत्रीले नयाँ संस्था दर्ताको काम अगाडि बढाउँदै प्रतिष्ठानमा नरहने बताएपछि फुटको नजिक पुगेको कलाकारहरूले बताएका छन्।

चुनावी सरगर्मीसँगै प्रतिष्ठानको अध्यक्षका लागि गायक पशुपति शर्मा र गायिका रीता थापाले अध्यक्षमा चासो देखाएका छन् । यसअघि, अध्यक्षमा दाबी गर्दै आएका गायक विष्णु खत्रीले भने नयाँ संस्था खोल्ने तयारीमा रहेकोले उम्मेदवार हुने अवस्था नभएको बताएका छन्।

खत्रीले केही दिनमै बमबहादुर कार्कीलाई अध्यक्षमा नियुक्त गर्दै नयाँ संस्थालाई अगाडि बढाउने बताएका छन् । बागलुङका खत्री माओवादीबाट राजनीति गर्ने भन्दै केही समय कलाकारिताबाट पछी हटेका थिए ।

यता प्रतिष्ठानले केन्द्रीय महाधिवेशनलाई प्रभावित पार्नेगरी कुनै प्रतिनिधि, उम्मेदवार वा संस्थाले आर्थिक लेनदेन नगर्न भन्दै विज्ञप्तिमार्फत् सचेत गराएको छ । यदि, यसो गरेमा आचारसंहिताअनुसार कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

अध्यक्ष रमेश बीजी र महासचिव सुवास केसीले वक्तव्य जारी गर्दै महाधिवेशनको नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग लेनदेन गरेको यो लेनदेन गर्ने आशयसहितको कुरा गरेको प्रमाण फेला परेमा त्यसरी कुरा गर्ने प्रतिनिधि, उम्मेदवार या संस्था जोकोहीलाई पनि केन्द्रीय समितिले आफ्नो आचारसंहिताको अधीनमा रही कडाभन्दा कडा कारबाही गर्ने व्यहोरा जानकारी गराइने बताएका छन् ।

यही फागुन १२ देखि १४ गतेसम्म धादिङमा आठौं केन्द्रीय महाधिवेशन हुँदैछ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । जसका लागि वरिष्ठ उपाध्यक्ष रीता थापा मगर र प्रथम उपाध्यक्ष पशुपति शर्मा अध्यक्षका दाबेदार देखिएका छन् । यसैगरी, महासचिवमा शिव हमालको नाम चर्चामा छ भने शंकर बीसी, कुलेन्द्र विश्वकर्मा, राधिका हमाल उपाध्यक्षको आकांक्षी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved