हिरोइज्म र पपुलिज्मको गोलचक्करबाट कहिले मुक्ति पाउने ?

हिरो खोज्ने, बोक्ने र छिट्टै निराश हुने प्रवृत्तिको चिरफार

हिरोइज्म र पपुलिज्मले कसैलाई फाइदा गरेको देखिन्न। न व्यक्तिलाई न पार्टीलाई, न तिनका समर्थक र मतदातालाई न देश र जनतालाई कुनै फाइदा भएको छ । तथापि,मान्छे नयाँ-नयाँ तरिकाले नयाँ-नयाँ हिरो खोजिरहेकै छन् । हिरो खोज्ने, हिरो बनाउने, हिरो बोक्ने र हिरोबाट छिट्टै निराश हुने गोलचक्कर कायमै छ ।

हिरोइज्म र पपुलिज्मको गोलचक्करबाट कहिले मुक्ति पाउने ?

काठमाडौं। सन् २०१० को दशकमा विश्व राजनीतिमा ३ वटा शब्द तीव्र चर्चा र प्रयोगमा आए– हिरोइज्म, पपुलिज्म र डेमागग । अंग्रेजीका यी शब्दको यथोचित नेपाली अनुवाद त्यति सजिलो छैन । तथापि, ‘नायकत्ववाद’, ‘लोकरिझ्याइँ’ र ‘जनप्रिय दुर्जन नेता’ भन्न सकिएला ।

बीसौं शताब्दिको राजनीतिमा यी शब्द र यसले व्यक्त गर्ने भाव वा राजनीतिक प्रवृत्तिको खासै चर्चा र प्रयोग हुँदैनथ्यो । बीसौं शताब्दिका केही विश्व चर्चित नेतालाई एकक्षण स्मरण गरौं र उनीहरूको चित्र उतार्ने प्रयत्न गरौं ।

जस्तो कि, बीसौं शताब्दिका सर्वाधिक लोकप्रिय अमेरिकी राष्ट्रपति फ्रांकलिन डि. रुजबेल्ट । रुजबेल्टको उदय र नेतृत्व स्थापना कुनै हल्ला, जादू र चमत्कारको शैलीमा भएको थिएन । सन् १९३० को दशकको वा अझ यसो भनौं आधुनिक विश्वको अहिलेसम्मकै ठूलो आर्थिक मन्दीलाई सम्बोधन गर्दै नयाँ आर्थिक नीति ‘न्यु’ डिल’ ल्याएबापत इतिहासमा उनको व्यक्तित्व र स्थान स्थापित भएको हो । अर्थात् रुजबेल्टले हल्ला मात्रै गरेका थिएनन् परिणाम दिएका थिए ।

आजको ‘हिरोइज्म’ को आँखाबाट हेर्ने हो भने भारतका महात्मा गान्धी कस्ता नेता देखिएलान् ? सायद कठैबरा! भन्नुपर्ने खालको निरीह र कमजोर । बेलायतमा पढेका र दक्षिण अफ्रिकामा लामो जीवन बिताएका मोहनदास करमचन्द गान्धीले भारत फर्केर ‘टाइसुट’ फाले । उनले आजीवन एकसरो धोती मात्रै लगाए, अनसन र अल्पाहारले उनको शरीर ख्याउटे र सौन्दर्यहीनजस्तो भएको थियो ।

गान्धीको ‘स्वतन्त्रता अभियान’ मा आजका उडन्ते र हावादारी अभियन्ताको जस्तो कुनै होहल्ला र लोकरिझ्याइँ देखिन्न । उनको जिन्दगीको सार निष्ठा र समर्पण थियो । त्यसका आधारमा उनले स्वतन्त्र भारतको लक्ष्य हासिल गरे । र विश्वमानचित्रमा एक नयाँ आधुनिक राष्ट्रिय राज्यको जन्म भयो ।

ठीक उस्तै नभए पनि नेल्सन मण्डेलाको जीवनगाथा उत्तिकै महान् निष्ठा, समर्पण र प्रतिबद्धताले भरिएको देखिन्छ । २७ वर्ष जेल बस्दा पनि नथाक्ने, नझुक्ने दृढता र अठोट उनको हृदयमा केले भर्‍यो होला ? अझ रोचक कुरा– जेलबाट निस्किएर पनि उनले त्यसको ब्याज असुल्ने हिसाबले लामो समय सत्ताका बस्ने कुनै चेष्टा गरेनन् । जम्माजम्मी १ कार्यकाल राष्ट्रपति भए र राजनीतिबाट सन्यास लिए ।

विश्व राजनीतिमा पनि एक से एक हिरोइज्म र पपुलिज्ममा विश्वास गर्ने डेमागग उदाएका छन् । त्यसैका पछिल्ला उदाहरण थिए– अमेरिकाका डोनाल्ड ट्रम्प, ब्राजिलका जायर बोल्सोनारो, बेलायतका बोरिस जोन्सन् । बरु यी त सजिलै विस्थापित भएर गए । तर, यही हिरोइज्म र पपुलिज्मको आधारमा केही त्यस्ता डेमागग उदाए– जसको मूल्य ती देश र समाजले निकै महँगो भुक्तानी गर्नुपरेको छ ।

विश्व राजनीतिमा मात्रै हैन, नेपालको लोकतान्त्रिक आन्दोलनका धेरैजसो मानक व्यक्तित्वको जिन्दगी यस्तै निष्ठा, प्रतिबद्धता र समर्पणले भरिएको थियो । बीपी कोइराला जीवनभरिमा जम्मा १९ महिना प्रधानमन्त्री भए। बाँकी उनको सम्पूर्ण जीवन निर्वासन, संघर्ष, जेल र प्रतिपक्षी राजनीतिमा बित्यो । कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठले जीवनमा कहिल्यै कुनै राजकीय पद पाएनन् । २०१५ सालको आम चुनावमा उनी काठमाडौंबाट उठेका थिए, तर हारे । मनमोहन अधिकारी जम्माजम्मी ९ महिनाका लागि प्रधानमन्त्री थिए ।

गणेशमान सिंहले प्रधानमन्त्री पद लिन मानेनन् । त्यो पदका लागि उनले आफूभन्दा आफ्ना मित्र कृष्णप्रसाद भट्टराई उचित हुने ठाने । मोहनचन्द्र अधिकारी अर्का त्यस्ता नेता थिए– जसलाई १७ वर्ष जेल बसेबापत नेपालको ‘नेल्सन मण्डेला’ भनिन्थ्यो । तर, उनले कहिल्यै कुनै आम चुनाव नै जिते न मन्त्री नै भए । उनले जीवनमा पाएको सबैभन्दा ठूलो पद एक कार्यकाल राष्ट्रिय सभाको सदस्य थियो ।

सन् २०१० यताको विश्व राजनीति पनि फरक छ र नेपालको पनि । विश्व राजनीतिमा पनि एक से एक हिरोइज्म र पपुलिज्ममा विश्वास गर्ने डेमागग उदाएका छन् । त्यसैका पछिल्ला उदाहरण थिए– अमेरिकाका डोनाल्ड ट्रम्प, ब्राजिलका जायर बोल्सोनारो, बेलायतका बोरिस जोन्सन् ।

बरु यी त सजिलै विस्थापित भएर गए । तर, यही हिरोइज्म र पपुलिज्मको आधारमा केही त्यस्ता डेमागग उदाए– जसको मूल्य ती देश र समाजले निकै महँगो भुक्तानी गर्नुपरेको छ । जस्तो कि– रुसका भ्लादिमिर पुटिन, टर्कीका एर्दोगान, हंगेरीका अर्बान, बेलारुसका लुकासेन्को, युक्रेनका जेलेन्स्की आदि ।

राजनीतिशास्त्रीहरू हिरोइज्म र पपुलिज्म सफल भए डेमागगहरूको उदय हुने र इतिहासले दु:ख पाउने, असफल भए आमनिरासाको विस्तार हुने र देशले दु:ख पाउने तर्क गर्दछन् । सन् २०१८ को बेष्टसेलर ‘हाउ डेमोक्रेसिज डाई’ मा लेखकद्वय स्टेभेन लेभित्स्की र डेनियल जिब्लाटले विश्व राजनीतिमा हिरोइज्म, पपुलिज्म र डेमागगहरूको युग कसरी आयो र यसले लोकतन्त्रलाई कसरी मार्दैछ भन्ने बढो राम्रो चित्रण गरेका छन् ।

लोकतान्त्रिक राजनीतिको सार– विचार, एजेन्डा, निष्ठा र प्रतिबद्धतामा हुन्छ– नायकत्व र लोकरिझ्याइँमा हैन । अमेरिकाका पछिल्ला राष्ट्रपतिहरू बिल क्ल्न्टिन, जर्ज डब्लु बुस, बाराक ओबामाले राष्ट्रका लागि सार्थक योगदान गर्न हिरोइज्म देखाउनै परेन, संस्थागत प्रक्रिया, पद्धति र संस्कृतिभित्रबाटै उनीहरूले राम्रो परिणाम दिन सके ।

धेरै दक्षिण एसियाली युवालाई नेता भनेको नायकको अनिल कपुरजस्तो हुनुपर्दछ भन्ने लाग्दछ । तर, त्यो सिनेमा हो । सिनेमा कलाको एक विधि हो । कला साहित्यको काम नै ‘सत्यको अतिरञ्जना’ गर्नु हो । वास्तविक जीवनमा अनिल कपुरहरूको जन्म त्यति सजिलो हुने भए भारत त्यो हालतको देश हुने थिएन ।

राजनीतिमा हिरोइज्जको सामान्य विशेषतः व्यक्तिवाद हो–दक्षिण एशियामा यसलाई ‘अनिल कपुर’ शैली भन्ने गरिन्छ । अनिल कपुर अभिनित एक हिन्दी सिनेमा छ– नायक । धेरै दक्षिण एसियाली युवालाई नेता भनेको नायकको अनिल कपुरजस्तो हुनुपर्दछ भन्ने लाग्दछ । तर, त्यो सिनेमा हो । सिनेमा कलाको एक विधि हो । कला साहित्यको काम नै ‘सत्यको अतिरञ्जना’ गर्नु हो । वास्तविक जीवनमा अनिल कपुरहरूको जन्म त्यति सजिलो हुने भए भारत त्यो हालतको देश हुने थिएन ।

राजनीतिमा कुनै व्यक्ति लोकप्रिय हुनु कुनै नराम्रो कुरा हैन । तर, व्यक्ति लोकप्रिय हुँदा हुने व्यक्तिपूजा र संस्थागत प्रक्रियाको अभाव भने लोकतन्त्रका लागि घाटाको विषय हो । कुनै व्यक्ति लोकप्रिय वा बलियो हुँदा हुनसक्ने संस्थागत प्रक्रियाको बेवास्ता, समर्थन र विरोधका लागि दोहोरो मापदण्डको प्रयोगले भने लोकतन्त्रलाई मार्दछ, मार्दै लान सहयोग गर्दछ ।

२०६३ यताको नेपालको राजनीतिक परिवेश र परिदृष्यलाई हेर्दा हिरोइज्मले डेमागगहरू उदाएर रुसका पुटिन, टर्कीका एर्दोगान, हंगेरीमा अर्बानआदि जस्तो ‘निर्वाचित अधिनायकवाद’ लाद्न सकेको त देखिन्न तर, हिरोइज्मको अभ्यास पपुलिज्मको प्रवृत्ति हुँदै आमनिरासामा पुगेर पतन भएका दर्जनौं उदाहरण भने बनिसकेका छन्।

जस्तो कि पहिलो संविधानसभा निर्वाचनपछि माओवादी अध्यक्ष प्रचण्डको ‘क्रेज’ थियो । त्यो एक हिसाबले व्यक्तिपूजाकै तहमा विकसित भएको थियो । यदि, उनी व्यक्तिपूजा र लोकरिझ्याइँको उन्मादबाट बच्न सकेको भए आज देशको राजनीतिक कोर्स नै अर्कै हुन सक्थ्यो । आज ३ चुनावदेखि लगातार प्रचण्डको नेतृत्वमा माओवादी पार्टीको भोट घटिरहेको छ । अर्को चुनावसम्म पुग्दा पार्टी नै रहन्छ कि रहँदैन भन्ने गम्भीर आशंका उत्पन्न भएको छ ।

मधेस जनविद्रोहका नेता बनेर उदाएका उपेन्द्र यादव त्यो बेलाका अर्को हिरो थिए । उनलाई ‘मधेसका मसिहा’ र ‘संघवादका पिता’ भनेर अतिरञ्जित व्यक्तित्वपूजा गर्न थालिएको थियो । आज तिनै यादव त्यही मधेस आन्दोलनको सबैभन्दा ठूलो केन्द्र सप्तरीको राजविराज क्षेत्रबाट पराजित भएका छन् ।

संविधान जारी गर्दा बखतको जटिलता, तेस्रो मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीका बेला एमाले अध्यक्ष केपी शर्मा ओली हिरो बनाइए । उनले जे भने पनि ताली पिट्ने ‘अरिंगाल सेना’ का बटालियन देशैभरि तयार भए । ओलीको त्यो लोकप्रियतावादले एमालेको संस्थागत छवि, पद्धति र प्रक्रियालाई ठूलो नोक्सानी गर्‍यो । पार्टी विभाजित भयो । दुई-दुईपटक असंवैधानिक संसद् विघटन गरेर ‘संवैधानिक लोकतन्त्र’ लाई हानी नोक्सानी पुर्‍याएको कलंक एमालेले पछिसम्म बोक्नुपर्ने छ । पछिल्लो चुनावमा पार्टीको भोट र सिट दुवै संकुचन भएको छ।

अर्थमन्त्री हुँदासम्म डा. बाबुराम भट्टराईको लोकप्रियता उचाइँमा पुगेको थियो । प्रधानमन्त्री हुँदा भने उनको ‘क्रेज’ घट्न थाले पनि सडक विस्तार, राष्ट्रिय गौरवका आयोजना लगायतका  विभिन्न कामका कारण उनी लोकप्रिय नै थिए ।

सायद त्यही लोकप्रियताको भ्रमले उनलाई वैकल्पिक राजनीति र नयाँ शक्तिको बहसतिर उन्मुख गरायो । राजनीतिमा क्षणिक लोकप्रियताको भ्रम कति घातक हुन्छ भन्ने डा. भट्टराईको त्यसपछिको जीवनक्रमले पुष्टि गरेको छ । ७ वर्षको गोलचक्करपछि उनी आफ्नै मातृपार्टीमा फर्किने तयारीमा छन् ।

त्यसपछि रवीन्द्र मिश्र आए । बीबीसी रेडियो पत्रकारको लोकप्रियताको भ्रम, दंभ र अहंकार बोकेर । धेरै व्याख्या नगरौं, अन्ततः उनी राप्रपा प्रवेश गर्नुपर्ने हालतमा पुगे । २०७४ को चुनावमा पाँचौं भएको उनको पार्टी विवेकशील साझा एक चुनावकै अन्तरालमा ३८औं स्थानमा पुग्यो ।

प्रचण्डदेखि रवि लामिछानेसम्मका यी कुनै पनि उदाहरणमा हिरोइज्म र पपुलिज्मले कसैलाई फाइदा गरेको देखिन्न। न व्यक्तिलाई न पार्टीलाई, न तिनका समर्थक र मतदातालाई न देश र जनतालाई कुनै फाइदा भएको छ ।

आज हिरोइज्मको पछिल्लो उदाहरण रवि लामिछाने बनेका छन् । ७ महिनाको छोटो अवधिमै उनको राजनीतिक जीवनले गज्जबका उतारचढाव भोग्नुपरेको छ । नागरिकताजस्तो आधारभूत कानुनी सर्तको समेत ख्याल नगरिकन हिरोइज्म प्रदर्शन गर्दा उनले जुन व्यवधान सामना गर्नुपरेको छ, त्यसको क्षति उनको व्यक्तिगत जीवनमा मात्रै सीमित हुन्छ कि पार्टी जीवनको भविष्यसम्म तन्किन्छ, अझै केही समय पर्खेर हेर्नुपर्ने हुन्छ ।

प्रचण्डदेखि रवि लामिछानेसम्मका यी कुनै पनि उदाहरणमा हिरोइज्म र पपुलिज्मले कसैलाई फाइदा गरेको देखिन्न। न व्यक्तिलाई न पार्टीलाई, न तिनका समर्थक र मतदातालाई न देश र जनतालाई कुनै फाइदा भएको छ । तथापि, देशको राजनीति अझै पनि यो प्रवृत्तिबाट मुक्त भने छैन । मान्छे नयाँ-नयाँ तरिकाले नयाँ-नयाँ हिरो खोजिरहेकै छन् । हिरो खोज्ने, हिरो बनाउने, हिरो बोक्ने र हिरोबाट छिट्टै निराश पनि हुने प्रवृत्तिको गोलचक्कर कायमै छ ।

नेपालका यी आ-आफ्नो समयका हिरोलाई गान्धी, मन्डेला, रुजबेल्ट, बीपी, गणेशमान, पुष्पलाल, मनमोहन वा किशुनजीजस्ता नेताको राजनीतिकर्म र जीवनवृत्तिसँग तुलना गर्ने हो भने दृष्य निकै कमजोर र टिठलाग्दो देखिन्छ ।

राजनीतिको सार फेरि पनि विचार, सिद्धान्त र एजेन्डा, निष्ठा, प्रतिबद्धता र समर्पण नै हो, होहल्ला, मान्छे भुल्याउने कला र मसला हैन । लोकतान्त्रिक राजनीतिले हिरो खोज्ने, हिरो बोक्ने र हिरोबाट छिट्टै निराश हुने प्रवृत्ति परित्याग गरी संस्था र संस्थागत विधि, पद्धति र प्रक्रियामा ढिलोचाँडो फर्किनै पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved