काठमाडौं। बुधबार राति आफ्नै घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का सांसद डा. चन्द्र भण्डारीको भारतको मुम्बईमा पहिलो सर्जरी सम्पन्न गरिएको छ।
गम्भीर घाइते भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् बिहीबार बेलुकी भारतको मुम्बईस्थित नेसनल स्किन बर्न अस्पताल लगिएको थियो । नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृत्रिम स्वासप्रश्वास दिएर भण्डारीलाई मुम्बई लगिएको र भर्खरै उनको पहिलो सर्जरी गरिएको उनका भाइ (मामाको छोरा) शिव काफ्लेले नेपाल भ्युजलाई जानकारी दिए ।
भण्डारीको सर्जरीमा डा. मुकेश मिश्रा समेतको भारतीय चिकित्सक टिम सहभागी थियो । अहिले भण्डारीको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । उमेर बढी भएका कारण ४८ घण्टासम्म पनि अवस्था स्थिर रहनसक्ने चिकित्सकहरूको भनाइ छ।
काफ्लेका आनुसार भण्डारीको आजै साँझ दोस्रो सर्जरी हुनेछ । भण्डारीको उपचारमा भारतीय वरिष्ठ चिकित्सकसहित नेपालबाट गएको मेडिकल टिम संलग्न छन् । भण्डारीसँगै क्रिटिकल केयर हेड डा. प्रदीप तिवारीसहित ६ जनाको मेडिकल टिम मुम्बई गएको थियो ।