पशुपतिमा महाशिवरात्रिको चहलपहल बढ्यो (तस्वीरहरू)

नागा बाबाहरू मुख्य आकर्षण

पशुपतिमा महाशिवरात्रिको चहलपहल बढ्यो (तस्वीरहरू)

काठमाडौं। महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर वरिपरि चहलपहल सुरु भएको छ । महाशिवरात्रिका लागि भारतलगायत देशबाट काठमाडौं आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् ।

नागा बाबाहरूका पशुपति मन्दिर परिसर प्रवेशसँगै रौनक थपिएको छ । भोलि शनिबार शिवरात्री पर्व परेको छ। यसका लागि मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी काठमाडौं आइसकेका छन् ।

तीनदिने लिङ्ग पुराण, शिवपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोली लिएर उनी काठमाडौं आएका हुन् ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अघिल्लो दिनदेखि शिवरात्रिको भोलिपल्टसम्म पशुपतिमा शङ्कराचार्य पूजन महोत्सव गर्ने जनाएको छ । कोषका अनुसार हिन्दू धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शङ्कराचार्यमध्ये उनी सबैभन्दा वरिष्ठ व्याख्याता हुन् । उनी आठौँ शताब्दीबाट सुरु भएको मानिने जगतगुरु शङ्कराचार्यका १४५औँ उत्तराधिकारी रहेको कोषले जनाएको छ ।

शङ्कराचार्यले पहिलो दिन शुक्रबार आशीर्वचन दिएका छन् । पशुपति परिसरमा महाशिवरात्रिका अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम आयोजना हुन लागेको हो । पशुपति क्षेत्र विकास कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ।

कोषले महाशिवरात्रिका दिनमा ५० जना भक्तजनलाई मात्रै विशेष पूजाको अनुमति भएको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए । यसअघि, दुई सयभन्दा बढीले विशेष पूजा गर्ने गरेका थिए ।

मेला व्यवस्थापनका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचालन हुने पशुपति व्यवस्थापन कोषले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कम भएकोले यस वर्ष भक्तजनको भीड लाग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved