घर-घरमा ‘सिलिन्डर बम’, व्यापारीको लापरबाहीमा मौन प्रशासन

होस गरे चिन्न सकिन्छ, सिलिन्डरमै हुन्छ ‘एक्स्पायर्ड डेट’

खाना पकाउने इन्धनको रूपमा प्रयोग भइरहेको ग्यासको सिलिन्डर विनाशकारी बम साबित भइदिन सक्ने सम्भावना भए पनि यसतर्फ सम्बद्ध निकायको ध्यान पुगेको छैन। उत्पादनकर्ताले लापरबाही गर्ने, नियमनकारी निकाय चुप बस्ने र उपभोक्ता समेत सचेत नहुँदा विस्फोटको श्रृंखला थपिँदो छ।

घर-घरमा ‘सिलिन्डर बम’, व्यापारीको लापरबाहीमा मौन प्रशासन

काठमाडौं। चार वर्षअघि (पुस २०७५ मा) मोरङमा लगातार खाना पकाउने ग्यास सिलिन्डर विस्फोटको घटना लगातार भए। हुन पनि तीन महिनाभित्र सातवटा ग्यास सिलिन्डर विस्फोट भए। ‘किचेन बम’ बाट त्रसित स्थानीय उपभोक्ताले स्थानीय प्रशासनलाई झकझक्याए।

विस्फोटनसँगै आगलागी तथा मानवीय क्षति बढ्दै गएपछि उपभोक्ताले विस्फोटको खतरा कम हुने सिलिन्डरको माग गरे। सिलिन्डरको मापदण्ड तय गर्न प्रशासन र उत्पादक कम्पनीलाई गुहारे।

लापरबाही गर्ने उद्योगलाई कारबाहीको दायरमा ल्याउने भन्दै प्रशासनले आक्रोशित उपभोक्तालाई केही बेर थमथमायो। बजारमा म्याद गुज्रिएका, थोत्रो, सिलिन्डर प्रयोगमा आइरहेको बारेमा प्रशासन जानकार नै थियो। तर, त्यसविरुद्ध अनुगमन र कारबाहीमा प्रशासन उत्रिएन। अनुगमन गर्ने निकाय, नेपाल आयल निगम, जिल्ला प्रशासन कार्यालय र वाणिज्य कार्यालय निष्क्रिय छन्। अनुगमन नहुँदा व्यवसायीको लापरबाही झनै चरम भएको छ।

मोरङमा मात्र होइन देशका विभिन्न स्थानमा ग्यास सिलिन्डर विस्फोटको घटना भइरहेका छन्। घटनालगतै सरोकारवालाहरूले यसप्रति चासो देखाउँछन्। तर, प्रशासनले यसप्रति कारबाही प्रक्रिया अघि नबढाउँदा ग्यास उत्पादक र विक्रेताले लापरबाही रोकेका छैनन्। यसको पुष्टि पछिल्लोपटक भइरहेको सिलिन्डर विस्फोटको घटनाले गरिरहेको छ। घटनामा धेरैले ज्यान गुमाइरहेका छन्। कैयौं अंगभंग भइरहेका छन्। उपभोक्ता त्राहिमाम् अवस्थामा बस्न बाध्य छन्।

मगंलबार (२ फागुन) मा ललितपुरको ग्वार्को इमाडोलमा रहेको मूर्ति बनाउने कारखानामा काम हुँदै थियो। कालीगढहरू मूर्ति बनाउँदै थिए। अचानक ग्यास सिलिन्डर विस्फोट भयो। मूर्तिको काम गरिरहेका गायक अमित रसाइलीसहित ५ जना घाइते भए। कीर्तिपुर हस्पिटलमा उनीहरूको उपचार भइरहेको छ।

त्यसकै भोलिपल्ट बुधबार बुद्धनगरमा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी भयो। घटनामा २ जना घाइते भए। कांग्रेस नेता तथा प्रतिनिधिसभा सांसद चन्द्र भण्डारी र उनको आमा हरिकला घाइते भइन्। उपचारको क्रममा आमा हरिकलाको निधन भयो। नेता भण्डारीको उपचार भइरहेको छ।

लगतै अर्को दिन (बिहीबार) दाङको तुलसीपुर उपमहानगरपालिका–१६ मा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा दुईजना घाइते भए। एक महिनाअघि मात्रै भक्तपुरमा पनि यस्तै घटना भयो। २५ पुस २०७९ मा भक्तपुर सूर्यविनायक–३, दधिकोटका रामप्रसाद थपलियाको घरमा ग्यास सिलिन्डर विस्फोट भयो। धन्न मानवीय क्षति भएन, भौतिक क्षति भयो।

यसअघि भएका विस्फोटका केही घटना

के सहर, के गाउँ, सबैतिर सर्वप्रिय छ, ग्यास। नेपालभर झन्डै १० लाख हाराहारीमा ग्यास सिलिन्डर रहेको अनुमान छ। खाना पकाउन ग्यास सिलिन्डरको प्रयोग बढ्दो छ। ग्यास प्रयोग गर्न जति सहज छ, उत्तिकै संवेदनशील र खतरनाक पनि छ। सानो असावधानीले मात्रै पनि यसबाट मानिसको ज्यान गएका केही घटनाका उदाहरण हेरौँ।

४ असार २०७९ मा गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ खाब्दीमा घरभित्र रहेको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा ६९ वर्षकी केशरीमाया बस्तीको मृत्यु भयो।

२० चैत २०७८ मा सिन्धुपाल्चोकको बाह्रबिसेमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा चार बालबालिकाको मृत्यु भयो।

२० कात्तिक २०७८ मा ललितपुरको मंगलबजारमा शुक्रबार साँझ ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु भयो।

२१ वैशाख २०७७ मा तनहुँमा ग्यास सिलिन्डर पड्किँदा २ बालक घाइते भए।

२९ असोज २०७७ मा नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जना घाइते भए। उपचारको क्रममा केहीको निधन भयो।

२० भदौ २०७६ मा धादिङको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ घर जलेर नष्ट भए।

११ भदौं २०७६ मा कञ्चनपुरमा खाना पकाउने ग्यास सिलिन्डरको पाइप लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भयो।

५ असार २०७६ मा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा रहेका ठाकुर मिष्ठान भण्डार, गोविन्द मिष्ठान भण्डार र एक भोजनालय सञ्चालन भएका तीन वटा घरहरू जलेर नष्ट भए।

बम बेचिरहेका छन् ग्यास व्यवसायी

कुनै अप्रिय घटना नहोस् भन्नका लागि उपभोक्ताले प्रयोग गर्ने ग्यास सिलिन्डर कस्तो हुने भन्ने मापदण्ड बनाइएको र त्यो मात्र किन्नुपर्ने उपभोक्ता अधिकारवादीहरू बताउँछन्।

यस्ता मापदण्ड पालना भए\नभएको नियमन गरी कारबाही गर्ने निकाय नेपाल आयल निगम हो। निगमले ग्यासको सुरक्षित र मर्यादित प्रयोगका लागि एलपी ग्यास विनियमावली, २०६५ नै जारी गरेको छ।

ज्योति बानियाँ, उपभोक्ता अधिकारकर्मी

तर, निगमले यसप्रति जुन तहमा क्रियाशीलता देखाउनुपर्ने हो, नगरेको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन्।

उनले नेपाल भ्युजसँग भने ‘‘निगमले आफ्नो क्षेत्राधिकारभित्र पर्ने काम इमानदारितापूर्वक नगर्दा गैर जिम्मेवार ग्यास उद्योगीले उपभोक्तामाथि खेलबाड गर्दै सुरक्षा खतरा भएका ग्यास सिलिन्डर उपभोक्ताको भान्छामा बेचिरहेका छन्। परिणामतः अप्रिय घटनाहरू हुँदै आएका छन्। यसका नियामक निकायले सक्रियता देखाउनुपर्छ। मपदण्डविपरित सिलिन्डर बेच्नेलाई कारबाही गर्नुपर्छ।’

बजार अनुगमन, नियमन गर्ने जिम्मा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, नेपाल नापतौल तथा गुणस्तर विभाग र आयल निगमको हो । विभागले छिटपुट अनुगमन गरे पनि निगमले गरेको छैन।

 

ज्योति जोशि भट्ट, उपमहानिर्देशक, नेपाल नापतौल तथा गुणस्तर विभाग

नेपाल नापतौल तथा गुणस्तर विभागले भने सिलिन्डरमा ग्यास लिकेज हुन नदिन हाइड्रोलिक परीक्षणलगायत सुरक्षाका प्रावधान दैनिक जाँच भएका छन् की छैनन् भनेर नियमित अनुगमन भइरहेको दाबी गरेको छ।

विभागकी उपमहा निर्देशक ज्योति जोशी भट्ट भन्छन् ‘‘अधिकांश उद्योग र व्यापार मनोमानी रूपमा सञ्चालन हुन पाउँदैनन्। उद्योगी र व्यापारीले कार्यान्वयन गरे नगरेको अनुगमन भइरहेको छ। ग्यास सिलिन्डरको एक्सपाएर मिति सबै हामीले परीक्षण गरिरहेका छौँ। यसमा उपभोक्ता पनि सचेत हुनुपर्ने देखिन्छ।’’

 

यसरी चिन्न सकिन्छ ‘सिलिन्डर बम’, सिलिन्डरमा पनि हुन्छ एक्स्पायर्ड डेट

उद्योगीहरूले गैर जिम्मेवार ढङ्गले असुरक्षित किसिमका सिलिन्डर बजारमा पठाइरहँदा आम नागरिकको भान्साहरूमा ‘सिलिन्डर बम’ ले असुरक्षा बढाएको छ।

यस्ता असुरक्षित सिलिन्डरबारे उपभोक्ता सचेत हुन सकेका छैनन्। उपभोक्ताले कहिल्यै ग्यास सिलिन्डरको म्याद गुज्रने मिति (एक्सपायर्ड डेट) जाँचेर खरिद गर्दैनन्। धेरै उपभोक्तालाई सिलिन्डरमा गुज्रने मिति उल्लेख हुन्छ भन्ने ज्ञान छैन। केहीले थाहा पाए पनि खासै चासो दिँदैनन्।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना भन्छन् ‘‘थोत्रा र म्याद गुज्रिएका सिलिन्डरबाट ग्यास चुहिने र आगलागी तथा विस्फोट हुने सम्भावना हुन्छ।

यस्ता जोखिमयुक्त लाखौँ ग्यास सिलिन्डर अहिले धेरै उपभोक्ताको भान्सामा पुगेका छन्। त्यसैकारण हरेक सचेत उपभोक्ताले ग्यास सिलिन्डरको गुज्रने मिति हेर्न आवश्यक छ।’’

यसरी पहिचान गरौँ बम कि सिलिन्डर

सिलिन्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन्। त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन्। जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै २०, २१, २२, २३, २४, २५ लगायतका अंक लेखिएका हुन्छन्।

अंकले वर्षलाई बुझाउँछ। ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३-३ महिनामा भाग गरी ४ भागमा छुट्टाएका हुन्छन्।

‘ए’ लेखिएको अंकले वर्षको पहिलो ३ महिना जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ। ‘बी’ले अप्रिल, मे र जून महिनालाई जनाउँछ भने ‘सी’ले जुलाई, अगस्ट र सेप्टेम्बरलाई संकेत गर्छ।

यस्तै ‘डी’ ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई संकेत गर्छ। यस्तै ए, बी, सी, डीसँगै हुने अंकले भने वर्षलाई जनाउँछ।

माथिको तस्वीरको सिलिन्डरमा बी–२५ लेखिएको छ। त्यो सिलिन्डरको म्याद सन् २०२५ को ‘जुन’ महिनामा एक्सपायर हुन्छ भन्ने बुझ्नुपर्दछ। यस्तै एक्सपायर्ड डेट बाँकी रहे पनि सिलिन्डरका कुनै पनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्ने जानकारहरू बताउँछन्।

छिमेकी भन्छन्- चन्द्र भण्डारीले आफू जलेर पनि आमालाई बचाउन गुहार मागिरहनुभएको थियो (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved