आलेख

साम्यवादी शासनमा महिलाले अहिलेभन्दा बढी यौन आनन्द भोग्न पाउँथे

कम्युनिस्ट शासनमा महिलाले पश्चिमा महिलाले कल्पनासमेत गर्न नसक्ने आत्मनिर्भरताको आनन्द उठाउन पाएका थिए । पूर्वी युरोपेली महिलालाई पैसाका लागि यौन सम्बन्ध राख्नुपर्ने वा बिहे गर्नुपर्ने आवश्यकता थिएन । एक समाजशास्त्रीय अध्ययनले भन्यो कि पूर्वतिरका महिलाले पश्चिमका महिलाको तुलनामा दोब्बर चरमसुख पाउँथे।

साम्यवादी शासनमा महिलाले अहिलेभन्दा बढी यौन आनन्द भोग्न पाउँथे

जब मान्छेहरू पूर्वी युरोपको साम्यवादी शासनबारे सोच्छन्, उनीहरूको कल्पनामा यात्रामाथि लाग्ने प्रतिबन्ध, कंक्रिटका खुइलिएका भित्ताहरू, सामान रित्तिएका बजारमा लाइन बस्ने दुखी महिला र पुरुष, नागरिकको निजी जीवनको समेत जासुसी गर्ने राज्यका सुरक्षा संयन्त्र आउँछन्।

यद्यपि, यीमध्ये धेरै कुराहरू सत्य थिए, तर, कम्युनिस्ट शासनबारेको यो सामूहिक रुढिगत धारणाले त्यसको सम्पूर्ण कथा भने भन्न सक्दैन । कतिपयले यो पनि स्मरण गर्दछन् कि उदार लोकतन्त्रमा कसैलाई थाहासम्म नभएका धेरै अधिकार र विशेषाधिकार पूर्वी युरोपमा महिलाले पाएका थिए । जस्तो कि–महिला शिक्षा र तालिममा राज्यको ठूलो लगानी हुन्थ्यो । श्रमशक्तिमा उनीहरूको पूर्ण संलग्नता र गणना हुन्थ्यो । महिलाले उदारतापूर्वक मातृत्व बिदा र भत्ता पाउँथे । नि:शुल्क बालबच्चा हेरचाहको प्रत्याभूति थियो ।

त्यहाँ अर्को पनि एउटा फाइदा थियो, जसलाई कमैले ध्यान दिएका थिए, त्यो थियो– साम्यवादी शासनमा महिलाले धेरै राम्रो यौन आनन्द भोग्न पाउँथे ।

सन् १९९० मा पूर्वी र पश्चिम जर्मनीको एकीकरण भयो । त्यसपछि गरिएको एक समाजशास्त्रीय अध्ययनले भन्यो कि पूर्वतिरका महिलाले पश्चिमका महिलाको तुलनामा दोब्बर चरमसुख भोग्न पाउँथे।

यौन सन्तुष्टिको मात्रामा देखिएको यो असमानताले अनुसन्धानकर्ता छक्क परेका थिए, जबकि पूर्वी जर्मनीका महिला औपचारिक रोजगार र घरेलु कामको दोहोरो बोझमा परेको भन्दै बदनाम गरिएको थियो । तर, यथार्थ विपरीत थियो । एकीकरणपछिको अवधिमा पूर्वी जर्मनीका महिला घरमै बसेका थिए । उनीहरूले उर्लिदो पुँजीवादी अर्थतन्त्रले उत्पादन गरेका श्रमबचत गर्ने यन्त्र, उपकरण उपयोग गर्न पाएका थिए । तर, कमै यौन आनन्द उठाउन पाएका थिए।

फलामे पर्दा पछाडिको जीवनको यो पक्षलाई कसरी गणना गर्ने त ?

बुल्गेरियाकी अन्ना दुर्चेभाको उदाहरणबाट यसबारे विचार गरौं । सन् २०११ मा मैले पहिलोपटक भेट्दा उनी ६५ वर्षकी थिइन् । उनको जीवनको अघिल्लो ४३ वर्ष साम्यवादी शासनमा बिताएकी थिइन् । उनी बारम्बार यो गुनासो गर्थिन् कि नयाँ खुल्ला बजारले बुल्गेरियालीको स्वास्थ्य प्रेमसम्बन्ध विकास गर्ने क्षमतालाई बाधा पुर्‍याएको छ।

उनी भन्छिन् –‘निश्चय नै त्यो बेला धेरै नराम्रा कुरा थिए तर, मेरो जीवन भने रोमान्सले भरिएको थियो । सम्बन्धबिच्छेदपछि मसँग जागिर र तलब थियो । मलाई कसैको भर चाहिएको थिएन । म आफ्नो मर्जीले चल्न सक्थेँ ।’

दुर्चेभाले लामो समयसम्म एकल आमाको जीवन बिताइन् । उनकी एउटी छोरी छन् । छोरी सन् १९७० मा जन्मिएकी थिइन्। तर, उनलाई लाग्छ कि सन् १९८९ मा साम्यवादी शासनको पतन अघिको उनको जीवनभन्दा अहिले उनकी छोरीले भोगिरहेको जीवन बढी तनावपूर्ण छ । योभन्दा त त्यो नै बढी सन्तुष्टिपूर्ण जीवन थियो ।

सन् २०१३ को भेटमा दुर्चेभाले मसँग भनेकी थिइन्–‘उनले कामै काम गर्नुपर्छ । जब उनी राति घर आउँछिन्, थाकेर आफ्नो लोग्नेसँग सुत्नसमेत नसक्ने भइसकेकी हुन्छिन् । तर, त्यो कुनै ठूलो कुरा भने बन्दैन । किनकि, उनको लोग्ने आफैँ उत्तिकै थाकेको हुन्छ । प्रेतजस्तो चुपचाप टिभी अघि बस्छन् । यो उमेरमा त मैले उनीहरूभन्दा धेरै रमाइलो गरेकी थिए।’

गत वर्ष पूर्वी जर्मनीको एक विश्वविद्यालय जेनामा मैले भर्खरै बिहे गरेकी ३० वर्षे जस्तो देखिने डेनिएला ग्रुबरसँग कुराकानी गरेकी थिएँ । उनकी आमा पनि साम्यवादी शासन प्रणालीमा जन्मे, हुर्केकी थिइन् । उनले छोरी ग्रुबरमाथि बच्चा पाउन दबाब दिइरहेकी थिइन् ।

उनले भनिन–‘अहिले समय कति गाह्रो छ भन्ने आमा बुझ्दिनन् । सन् १९८९ मा बर्लिनको पर्खाल ढल्नुअघि महिलाको जीवन धेरै सजिलो थियो । उनीहरूले मातृत्व बिदा पाउँथे । उनीहरूको जागिर जाँदैनथ्यो । बालबच्चा हेरचाहमा राख्ने सुविधा पाउँथे । अहिले म करारमा काम गर्छु । मलाई गर्भवती हुने फुर्सद नै हुँदैन ।’

यी दुई आमा-छोरीबीच पुस्तागत भिन्नता मात्र छैन । सन् १९८९ अघि र पछि वयस्क महिला हुनेको भिन्नता पनि छ । यो तुलनाले कम्युनिस्ट युगमा महिलाले बढी राम्रो र परिपूर्ण जीवन बाँच्न पाएका थिए भन्ने धारणालाई समर्थन गर्दछ । आंशिक रूपमा सही, ती महिला अझै पनि त्यो शासन व्यवस्थाप्रति ऋणी र अनुगृहित छन्, जसले आफूलाई ‘वैज्ञानिक समाजवादी’ भन्थ्यो । ती शासनले महिला मुक्तिलाई एक उन्नत समाजको मानक बनाएका थिए ।

यद्यपि, पूर्वी युरोपेली कम्युनिस्ट राज्यहरूलाई दोस्रो विश्वयुद्ध पछि तीव्र औधोगिकीकरणको उनीहरूको कार्यक्रम लागू गर्न महिला श्रमशक्तिको आवश्यकता थियो तर, पुरुषसँग महिला समानताको वैचारिक अवधारणा १९औं शताब्दिमै फ्रेडरिख एंगेल्स र अगस्ट बेबेलले अघि सारेका थिए ।

बोल्सेभिकहरू शासनसत्तामा आएपछि ब्लादिमिर लेनिन र अलेक्सेन्द्रा कोलोन्ताईले सोभियत शासनकालका प्रारम्भिक वर्षमै ‘यौनिक क्रान्ति’ लाई सशक्तीकरण गरेका थिए । कोलोन्ताइले भनेकी थिइन् कि यौन आनन्दको अनुभूति आर्थिक बाध्यताबाट मुक्त हुनुपर्दछ ।

रुसले अमेरिकाले भन्दा ३ वर्षअघि सन् १९१७ मै महिलालाई पूर्ण मताधिकार दिएको थियो । बोल्सेभिकले पारपाचुके कानुनलाई उदार बनाए । प्रजनन अधिकार प्रत्याभूत गरे । सार्वजनिक लुगा धुने केन्द्र र क्यान्टिनहरूमा लगानी गरेर घरेलु श्रमलाई सामाजिक श्रम बनाउने प्रयत्न गरेका थिए । महिला श्रम परिचालित थियो । महिलाले आर्थिक रूपमा पुरुषमा भर पर्न पर्दैनथ्यो ।

सन् १९२० मा रुसी महिलाले मुस्लिम महिलाको मुक्तिका लागि मध्ये एसियामा जेहाद नै छेडे । यी माथिबाट थालिएका अभियानले आफ्ना दिदीबहिनी, पत्नी र छोरीलाई परम्परागत बन्धनबाट मुक्त भएको हेर्न नचाहने पितृसत्तात्मक स्थानीय पिताको हिंस्रक प्रतिक्रिया सामना गर्नुपरेको थियो।

तर, सन् १९३० को दशकमा जोसेफ स्टालिनले सोभियत शासनकालका प्रारम्भिक वर्षका उपलब्धिलाई उल्टाइदिए । उनले गर्भपतन गर्न रोक लगाए । एकल परिवारलाई बढावा दिए।

दोस्रो विश्वयुद्धपछि कम्युनिस्ट राज्यहरूमा पुरुष श्रम शक्तिको अभाव भएको थियो । यसलाई अन्त्य गर्न सरकारहरूले महिला यौनिकतालाई राज्य प्रयोजित कार्यक्रमद्वारा प्रभावित गर्न थाले । जनसंख्या समस्या, महिला यौनिकता र महिला मुक्तिका सवाल र सम्बन्धबारे राज्यले अनुसन्धान गरे । त्यसमा आधारित भएर विभिन्न कार्यक्रम अगाडि बढाइयो ।

अधिकांश पूर्वी युरोपेली महिलाले पश्चिमतिर यात्रा गर्न र स्वतन्त्र प्रेस पढ्न पाउँदैनथे, तर वैज्ञानिक समाजवादीले उनीहरूका लागि केही फाइदा पनि ल्याएको थियो । चेक गणतन्त्रको मसार्यक विश्वविद्यालयकी प्रोफेसर क्याटरिना लिस्कोभाले मलाई भनेकी थिइन्–‘सन् १९५२ को प्रारम्भदेखि चेकोस्लोभाकियाका यौन विशेषज्ञले महिलाहरूको चरम सुखबारे अनुसन्धान थालेका थिए ।

सन् १९६१ मा यस विषयमा एक शीर्षकीय सम्मेलन नै भएको थियो । उनीहरूको जोड महिलाको यौन आनन्द महिला–पुरुष समानताबाट मात्र सम्भव हुने कुरामा थियो । कतिपयले के भनेका थिए भने महिला यौन आनन्दमा वृद्धि गर्न पुरुषले पनि बच्चाको हेरचाह र घरेलु काममा साझेदारी गर्नुपर्दछ । अन्यथा आनन्ददायक यौन सम्बन्ध सम्भव हुँदैन ।’

बार्सा विश्वविद्यालयकी मानवशास्त्रकी सह-प्राध्यापक एग्नियस्का कोसियान्स्काले मलाई पोलिस यौन विशेषज्ञको निष्कर्ष सुनाउँदै भनेकी थिइन् कि ‘यौन सम्बन्ध शारीरिक अनुभवमा मात्र सीमित हुन सक्दैन, यौन आनन्दका लागि सामाजिक र सांस्कृतिक पक्षको महत्त्वलाई पनि उत्तिकै जोड दिन आवश्यक छ ।’

यसका लागि राज्य–समाजवादको उत्तर सन्तुलित जीवन कर्म थियो । यदि, महिला तनावपूर्ण अवस्था, अत्याधिक कार्यबोझ, भविष्यको चिन्ता र आर्थिक स्थिरताको अभावमा छन् भने उत्कृष्ट उत्तेजनाको उदय र यौन आनन्दको प्राप्ति गर्न मद्दत पुग्दैन ।

सबै बार्सा प्याक्ट देशमा एकदलीय शासन प्रणाली लागू गर्दा पारिवारिक कानुनमा भने व्यापक सुधार गरिएको थियो । कम्युनिस्टहरूले महिला शिक्षा, तालिम र रोजगारमा व्यापक लगानी गरेका थिए । पार्टी र राज्य संगठनले केटीलाई कमरेडको रूपमा व्यवहार गर्न पुनर्शिक्षा गर्थे। ती राज्यले आफ्ना नागरिकलाई पुरुषत्ववाद समाजवाद पूर्वको रुढीबादी बुझाईको अवशेष हो भन्ने विश्वास दिलाउँन खोज्थे ।

त्यति हुँदाहुँदै पनि श्रम पृथकता र ज्यालाको असमानता अन्त्य भएको थिएन । कम्युनिस्ट शासनहरूले पनि घरेलु पितृसत्तालाई पूर्णतः सुधार गर्न सकेनन् । तर, कम्युनिस्ट शासनमा महिलाले पश्चिमा महिलाले कल्पनासमेत गर्न नसक्ने आत्मनिर्भरताको आनन्द उठाउन पाएका थिए ।

पूर्वी युरोपेली महिलालाई पैसाका लागि यौन सम्बन्ध राख्नुपर्ने वा बिहे गर्नुपर्ने आवश्यकता थिएन । ती समाजवादी राज्यले उनीहरूको आधारभूत आवश्यकता पुर्‍याइदिएका थिए । बुल्गेरिया, पोल्यान्ड, हंगेरी, चोकोस्लोभाकिया, पूर्वी जर्मनी लगायतका देशले एकल आमा, सम्बन्धविच्छेद गरेका महिला र विधुवाका लागि थप स्रोत साधन खर्च गर्थे ।

रोमानिया, अल्बानिया र स्टालिनकालिन सोभियत संघलाई छोडेर ती पूर्वी युरोपका देशले यौन शिक्षा, गर्भपतन अधिकारलाई प्रत्याभूत गरेका थिए । यसले आकस्मिक गर्भको सामाजिक मूल्य चुक्तालाई कम गर्थ्यो र आमा बन्नुको अवसर लागतलाई न्यूनीकरण गर्थ्यो ।

यी उपलब्धि स्वतन्त्र महिला आन्दोलनबाट हासिल भएका थिएनन् बरु राज्य समाजवादले माथिबाट गरेका प्रयासबाट सम्भव भएका थिए । तर, पश्चिमका उदारवादी नारीवादीहरूले राज्य समाजवादलाई आलोचना गरे पनि यी उपलब्धिलाई अस्वीकार गर्न सक्दैनन् ।

आज धेरैजसो प्राज्ञिक नारीवादीसँग छनोटको सुविधा छ, तर उनीहरूले पनि अन्तर्विभाजनको अनिवार्यताद्वारा निर्देशित सांस्कृतिक सापेक्षतावादलाई अँगाल्न भने छोड्दैनन् । यस दृष्टिकोणबाट हेर्दा यो नतिजा प्रष्ट देखिन्छ कि दुर्भाग्यवंश आज बार्सा प्याक्ट देशमा भएको महिला मुक्ति या त हराएको छ, या त उल्ट्याइएको छ ।

आज दुर्चेभाकी छोरी र सुश्री ग्रुबरले ती जीवन कार्यका समस्यासँग संघर्ष गरिरहनुपरेको छ जो समस्या कम्युनिस्ट सरकारहरूले आफ्ना आमाका लागि उहिल्यै हल गरिसकेको थियो। दुर्चेभा जनवादी गणतन्त्र बुल्गेरियाको सम्झना गर्दै भन्छिन्–‘ गणतन्त्रले मलाई मेरा स्वतन्त्रता दिएको थियो, लोकतन्त्रले तीमध्ये केही स्वतन्त्रता खोसेर लग्यो ।’

ग्रुबरलाई पूर्वी जर्मनीको एकदलीय कम्युनिस्ट शासनको क्रुरताबारे कुनै भ्रम छैन, तर पनि उनी कामना गर्छिन्–‘चिजहरू अहिले जति गाह्रो थिएनन् होला ।’

कार्यस्थलमा, घरमा र ओच्छयानमा कम्युनिस्ट महिला समानताको समर्थन र लागू गर्न उत्कृष्ट थिए । यस अर्थमा उनीहरूलाई ‘सांस्कृतिक साम्राज्यवादी’ भन्न सकिएला । कम्युनिस्ट पार्टी र राज्य संयन्त्रबाट उनीहरूले महिलामुक्तिका पक्षमा जबरजस्त काम गरेका थिए ।

उनीहरूले गर्न लगाएको महिलामुक्तिको कामले विश्वव्यापी रूपमा लाखौंको जीवनमा ठूलो परिवर्तन ल्यायो । त्यसको प्रभाव ती वयस्क महिला, आमा र हजुरआमाहरूको जीवनमा पनि परेको छ, जो युरोपियन युनियनका लोकतान्त्रिक सदस्य राज्यहरूमा बाँच्दछन्।

हाम्रो उत्तरआधुनिक संवदेनालाई भारी लाग्न सक्ला, तर सरकारी हस्तक्षेपमार्फत् ती कमरेडहरूको जिद्दीले जे गर्न लगाएको वा गराएको थियो, प्राकृतिक क्रमिक विकासबाट भन्दा माथिबाट गर्न लगाएका मुक्तिका प्रयत्न कहिलेकाहिँ सामाजिक परिवर्तनका लागि आवश्यक पर्छ भन्ने पुष्टि हुन्छ ।

(न्युयोर्क टाइम्सबाट अनूदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved