सुन्तलीको बयान र गुल्टिएको बस 

नेपाल एम्बुलेन्स वर्कसपमा पठाइएको कसैलाई सम्झना भएन । अभिलेख समेत देखिएन !!! हो म त्यही गुल्टिएको बसमा छु ।

सुन्तलीको बयान र गुल्टिएको बस 

                                        सुन्तलीको बयान

मेरो बाउले सौतेनी आमा ल्याएर हामीलाई घरबाट निकाले । आमाले रगत र पसिना सुकाएर हामीलाई हुर्काएपछि दाइहरूले मलाई विद्यालयबाट छुटाएर होटेलमा भाँडा माझ्न लगाइदिए ।

केही वर्ष होटेलमा भाँडा माझेपछि त्यहाँका कामदार ग्राहक एवं साहुको वैँशालु आँखाले मलाई डसिरहे । यसै क्रममा एक दिन साहुले जबर्जस्ती बलात्कार गर्न खोज्यो । त्यसपछि त्यहाँबाट भागेर गार्मेन्ट कारखानामा काम गर्न गएँ । त्यहाँ एकजना केटाले प्रेमको नाटक देखाएर मसँग बिहे गर्‍यो ।

पति देव मानेर उसको विश्वासमा भुल्नाले बम्बैतिर पुर्‍याएर बेच्यो । त्यहाँ सयौं पुरुषबाट प्रताडित भएर बाँच्न विवश भएँ । पछि प्रहरीको सहायताले त्यहाँ बाट भाग्न सफल भएँ । प्रहरीले बैनीको साइनो लगाएर घर फर्काइदिन्छु भनेकाले विश्वास गरेँ, तर उसले पनि मलाई छाडेन, जबर्जस्ती शोषण नै गर्‍यो ।

त्यसपछि उसँग पनि भागेर म एकजना नेताको शरणमा पुगेँ । उसका नारी उत्थान तथा सच्चरित्रका भाषण सुनेर म प्रभावित भएकी थिएँ । तर, यहाँ पनि मेरो विश्वास तोडियो, उसले पनि मेरो शरीर भोगेरै छाड्यो ।

अन्तमा त्यहाँबाट पनि भागेर बाबाजीको शरणमा पुगेँ । नैतिकता र ब्रहमचार्य एवं शास्त्रका प्रवचन सुन्दा बाबामाथि मलाई पूर्ण भरोसा भएको थियो । तर, उसले पनि मसँग जबर्जस्ती कामवासना पूरा गरेरै छाड्यो ।

आखिर मलाई कुन पुरुषले राम्रो व्यवहार गर्‍यो र मेरो उनीहरू प्रतिको धारणा राम्रो होस् ? न्याय तथा सुरक्षा माग्ने ठाँउमा पनि त पुरुष नै छन् । मेरा लागि सबै पुरुष शोषक हुन् । पतित हुन्, फटाहा हुन्…।

बाबाजीको हत्याको अभियोगमा पक्राउ परेकी सुन्तलीसँग बयान लिइरहेका अनुसन्धान अधिकृतसँग अब सोध्ने अरू प्रश्न नै थिएनन् !!!

 

                                        गुल्टिएको बस                                                         

बस गुल्टियो । धेरै मानिस घाइते भए । घाइते सबै नेपाली  थिए, होइन रहेछ । कोही नेवार, कोही गुरुङ, कोही तामाङ, कोही बाहुन कोही क्षेत्री कोही थारू मानौँ सिंगो नेपालका विभिन्न जातजातिको प्रतिनिधित्व बसभित्र थियो ।

एम्बुलेन्सको व्यवस्था गर्न उद्धारकर्तालाई निकै कठिन भयो । लिम्बू एम्बुलेन्स आयो, सबै घाइते लिम्बूलाई चिनेर गाडीमा राखेर लग्यो । यादव एम्बुलेन्स आयो घाइते सबै यादवलाई चिनेर गाडीमा राखेर लग्यो । तामाङ एम्बुलेन्स आयो घाइते तामाङलाई लिएर गयो ।

एवं रितले बाहुन, क्षेत्री, गुरूङ, नेवार सबैका एम्बुलेन्स आए र घाइते लिएर गए । त्यति मात्रै होइन हिन्दू एम्बुलेन्स पनि आयो । अझ बौद्ध, क्रिश्चियन र इस्लाम एम्बुलेन्स पनि आए । सबैले आ-आफ्ना घाइतेलाई अस्पताल लगे ।

यति गर्दा पनि घाइते भने अझै बाँकी थिए । जसको जात, धर्म, थर, ठेगाना थाहा भएन तर ति सबै नेपाली थिए । आखिर उद्धारकर्ताले नेपाल एम्बुलेन्स खोजे तर त्यो आउँदै आएन ।

नेपाल एम्बुलेन्स वर्कसपमा पठाइएको कसैलाई सम्झना भएन । अभिलेखसमेत देखिएन !!! हो म त्यही गुल्टिएको बसमा छु । र एउटा कुनाबाट मृत्यु पर्खंदै आकाशलाई एकनासले हेरिरहेको छु !!!


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved