गठबन्धनमा ठूलो घटना हुने खतरा छ : प्रमुख सचेतक लेखक

उनले प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनेको  काँग्रेसकै लागि  होला  भन्ने आफ्नो  बुझाइ रहेको बताए ।

नेपालभ्युज

गठबन्धनमा ठूलो घटना हुने खतरा छ : प्रमुख सचेतक लेखक

काठमाडौं ।  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा देखिएको बताएका छन् । सोमवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारुढ गठबन्धनका नेताहरुमा अधैर्यता र विचलन देखिएको बताएका  हुन् ।

उनले सरकारको सैद्धान्तिक धरातल समेत कमजोर र विरोधाभाषपूर्ण रहेको भन्दै यसैको परिणाम स्वरुप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए । उनले सत्तारुढ दलका नेताहरु अत्ताल्लिएको भन्दै त्यसले सत्तारुढ गठबन्धनभित्र केही ठूलै घटनाहरु हुने खतरा देखिएको बताए । सत्तारुढ दलहरु मध्ये नेकपा (एमाले) सबैभन्दा विचलित भएको उनको भनाई छ । उनले प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकोले यसो भएमा सकसपूर्ण स्थिति आउने उल्लेख गरे ।

‘यो सरकार  जसरी गठन भएको छ यसको सैद्धान्तिक धरातल नै यति कमजोर र विरोधाभाषपूर्ण छ कि यो धरातलमा हुने कुरा यही हो जे भइरहेको छ’ उनले भने, ‘एमाले सबैभन्दा ज्यादा विचलित भएको छ । उहाँहरु यति ज्यादा  विचलित के को लागि हुनुभएको छ भन्ने थाहा छैन ।’

उनले भने,  ‘हिजो मैले संसदभित्र जुन रुप देखेँ । एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भिर भएको छु । प्रधानमन्त्री एउटा हुने, साँच्चिकै देश अर्कोले चलाउन खोज्ने खालको जुन लक्षण देखिन लागेको छ  त्यसले त झन्  सकसपूर्ण स्थिति उत्पन्न हुन्छ ।’

सरकारको गतिविधि  र सत्ता समिकरणमा संलग्न भएका नेताहरुको अधैर्यता, प्रस्तुति, विचलनले  सत्ताभित्र केही ठूलै घटनाहरु हुने खतरा देखिएको उनले बताए । प्रमुख सचेतक लेखकले काँग्रेसले सत्ता समिकरण परिवर्तन गरेर अर्को समिकरण बनाउन नखोजेको स्पष्ट पारे। आफूहरुले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्छ भनेको कुरालाई उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रिय सहमति काँग्रेसकै लागि होला भन्ने आफूहरुको बुझाइ रहेको बताए । ‘हामीले सत्ता समिकरण परिवर्तन गर्न खोजेको, अर्को समिकरण बनाउन खोजेको त्यस्तो केही पनि होइन’ उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा हाम्रो ध्यान गम्भिर रुपले गएको छ । त्यो कुरालाई हामीले विशेष ढंगले प्राथमिकताका साथ हेरिराखेका छौँ ।’

उनले प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनेको  काँग्रेसकै लागि  होला  भन्ने आफ्नो  बुझाइ रहेको बताए ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेट भएको थियो । सो भेट लगत्तै सभापति देउवासँग भेट गरेका प्रमुख सचेतक लेखकले तीन नेताहरुका बीचमा समसामयिक परिस्थितिको बारेमा कुराकानी भएको बताए  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved