नेपाली क्रिकेट : नतिजा पछाडिको कथा बन्ने मन भएका प्रशिक्षक देशाई

नेपाली क्रिकेटसँगको आत्मीयता बढ्नुपछिको कारणबारे उनी भन्छन्, ‘भावनाले उद्देश्यलाई पछ्याउँछ। नेपालले एकदिवसीय मान्यता पाउन गरेको सङ्घर्ष नजिकबाट देखेको छु।’

नेपालभ्युज

नेपाली क्रिकेट : नतिजा पछाडिको कथा बन्ने मन भएका प्रशिक्षक देशाई

काठमाडौं । मोन्टी देशाई अन्ततः औपचारिक रूपमै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनेका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान)ले मोन्टीलाई मुख्य प्रशिक्षक घोषणा गरेको हो ।

नेपाली क्रिकेटमा पूर्वकप्तान पारस खड्कादेखि रोहितकुमार पौडेलसम्मको खेल यात्रालाई नजिकबाट हेरेका मोन्टी आशावादी प्रशिक्षकको रूपमा देखिएका छन्।

करिब १ हप्ता बन्द प्रशिक्षणमा रहेका मोन्टीले टोलीमा रहेका खेलाडीको व्यक्तिगत क्षमतामा जोड दिइरहेका छन्। सन् २०१२ देखि नेपाली क्रिकेटसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका उनी दूरदर्शी प्रशिक्षक मानिन्छन् ।

धेरै बोल्न नरुचाउने मोन्टी आफ्नो सटिक जवाफको लागि चिनिन्छन्। नेपाली क्रिकेटसँगको आत्मीयता बढ्नुपछिको कारणबारे उनी भन्छन्, ‘भावनाले उद्देश्यलाई पछ्याउँछ। नेपालले एकदिवसीय मान्यता पाउन गरेको सङ्घर्ष नजिकबाट देखेको छु।’

उनी अगाडि थप्छन्, ‘नेपाली क्रिकेटमा शरद, पारस र बसन्तले गरेको योगदानबारे अवगत छु। अहिले नयाँ टोलीमा पनि त्यही भावना देखेको छु।’

मैदानमा नेपाली खेलाडीले गर्ने मेहेनत र सिक्नको लागि देखाउने भोक निकै प्रेरणादायी रहेको उनको बुझाइ छ । ‘सीमित स्रोत र साधन भए पनि खेलाडीले मैदानमा गरेको परिश्रम अनुसारको नतिजा पनि पाउने समय आएको जस्तो लाग्छ,’ उनले भने, ‘खेलाडीहरूले पाउने नतिजा पछाडिको कथा बन्न मन छ।’

मोन्टी ‘ह्यापी ड्रेसिङ रुम’ बनाएर इतिहास रच्ने  योजनामा छन्। नेपाली समाज र क्रिकेटबाट पाउने अथाह समर्थनले आफू निकै प्रभावित भएको उनी बताउँछन्।

मोन्टीले आगामी  एकदिवसीय खेललाई प्राथमिकतामा राखेका छन्। टोलीलाई बलियो बनाएर स्थिरतातर्फ उन्मुख गराउने उनको योजना छ ।

‘एकदिवसीय मान्यता जोगाउन पक्कै पनि नेपालको लागि यो महत्वपूर्ण समय हो। तर, हामीले कसरी लडेर यो मान्यता पाएका थियौँ, त्यो पनि सधैँ स्मरण गरौँ। शतप्रतिशत दिनेमा विश्वस्त छु’, मोन्टीले भने ।

विगत एक हप्ताको बन्द प्रशिक्षणमा मोन्टीले टोलीसँग मैदानमा कसरी एकाग्रता ल्याउने, प्रस्तुतिमा आफ्नो क्षमतालाई कसरी देखाउने, साझेदारी कसरी टिकाउने, साझेदारलाई कसरी बुझ्ने जस्ता विषयमा छलफल गरेका छन् ।

‘हामी अनिश्चित गन्तव्यलाई टोलीको रूपमा उत्साहको साथ पछ्याइरहेका छौँ। खेलाडीमा क्षमता छ। केही खेलाडीसँग अनुभव पनि छ। सबै खेलाडीलाई युनिटको रूपमा परिचालन गर्नुपर्ने देखिन्छ,’ उनले नेपाली टोलीबारेको बुझाइ राखे ।

विभागीय मन्त्री र सरकारी प्रक्रियामा ढिलाइका कारण मोन्टीलाई मुख्य प्रशिक्षक घोषणा गर्न समय लागेको अध्यक्ष चतुरबहादुर चन्दले बताए । उनले मोन्टीको आगमनसँगै नेपाली क्रिकेटले पाएको प्रशिक्षक ‘ट्रान्जिट’ को छवि हट्ने पनि विश्वास व्यक्त गरे।

मोन्टीको नियुक्तिसँगै  नेपाली क्रिकेटले गति लिने म्यानेजर बिनोद दासको पनि विश्वास छ । ‘नेपाली क्रिकेटको ग्रास रुट लेभल र अन्य क्षेत्रबारे पनि छलफल गरिएको छ। जसको लागि ४ गुणा मिहेनत गर्न आवश्यक देखिन्छ। यदि, व्यावसायिक सरोकारवाला र सरकारको अपेक्षित साथ पाए, आगामी २ वर्षमा नेपाली क्रिकेटले फड्को मार्छ,’ उनले भने ।

विश्वभर खेलाडीको प्रतिभा पहिचान गर्ने खुबी भएको मानिएका र ब्याटिङ प्रशिक्षणमा ख्याति कमाएका मोन्टीलाई नेपाली क्रिकेटले आशाको नजरले हेरेको छ ।

यसअघि, सन् २०१७ मा उनले नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिममा ब्याटिङ कन्सल्ट्यान्टको जिम्मेवारी निर्वाह गरेका थिए । देशाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा पनि नेपाली क्रिकेट टिमका लागि काम गरेका थिए ।

यस्तै उनले क्यानडासँग आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा मुख्य प्रशिक्षकको रूपमा र अफगानिस्तानसँग २०१८ मा भएको आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ब्याटिङ कोचको रूपमा काम गरेका थिए।

आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा उनी संयुक्त अरब इमिरेट्स यूएईमा ब्याटिङ प्रशिक्षक थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved